जीवनशैली


चिसो मौसममा रुघाखोकीले किन बढी सताउँछ?

यसरी गर्नुस् नाक, कान, घाँटीको ख्याल

नेपालखबर
पुस २६ , काठमाडौँ

चिसो मौसममा धेरैलाई सताउने स्वास्थ्य समस्या हो, रुघाखोकी। त्यसैले रुघाखोकी लाग्दा ‘चिसो लाग्यो’ पनि भन्ने चलन छ।

तर, चिसो आफैमा रोगको कारण होइन। यद्यपि, भाइरस फैलिन अनुकूल वातावरण बनाउन भने यसले सहयोग गर्छ। 

तापक्रम घटेसँगै नाक बन्द हुने, नाकबाट पानी बग्ने, घाँटी खसखस हुने, हाच्छिउँ आउने, स्वर भारी हुने, शरीर थकित महसुस हुने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्याले धेरै व्यक्ति आजित हुने गरेका छन्। 

चिसो हावाले नाक र घाँटीको भित्री तह सुकाउँछ। जसले भाइरस रोक्ने क्षमता पनि घटाउँछ। चिसोमा शरीरको प्रतिरक्षा प्रणाली समेत कम हुने हुँदा भाइरसजन्य रोगहरु छिटो सर्ने चिकित्सक बताउँछन्। 

वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा विजय खरेल

चिसोमा तापक्रम सन्तुलनमा राख्न शरीरले बढी ऊर्जा खर्च गर्छ। जसले रोगसँग लड्ने क्षमता केही कमजोर बनाउने गर्छ। 

चिकित्सकका अनुसार चिसो र सुख्खा हावामा भाइरस लामो समय बस्ने हुँदा रुघाखोकीको समस्या देखिने गर्छ। भाइरस चिसो र सुख्खा वातावरणमा लामो समय रहन्छन्। जाडोयाममा झ्यालढोका बन्द गरेर घरभित्रै बस्ने कारण यस्तो अवस्थामा भाइरस एक–अर्कामा सजिलै सर्छ। र, एकै पटक धेरै व्यक्तिमा संक्रमण देखिन्छ। 

चिकित्सकका अनुसार रुघाखोकी माथिल्लो श्वासप्रश्वास नलीमा हुने भाइरल संक्रमण हो। रुघाखोकी करिब दुई सयभन्दा बढी प्रकारका भाइरसका कारण हुन सक्छ। हरेक पटक शरीरमा नयाँ प्रकारको भाइरस प्रवेश गर्दा रुघाखोकी लाग्ने गर्दछ, त्यसैले एउटै व्यक्तिलाई पटक–पटक रुघाखोकी हुन सक्छ।

चिकित्सकका अनुसार भाइरसका कारण सामान्य रुघाखोकी ७ दिनभित्र निको हुन्छ। शरीर न्यानो बनाउने, सन्तुलित खाना खाने र घरमा आराम गर्दा रुघाखोकी निको हुन्छ। समस्या बढ्न थाल्यो भने चिकित्सकलाई देखाउनु पर्छ। 

चिकित्सकका अनुसार नाक, कान र घाँटीका ग्रन्थी एक आपसमा जोडिएका कारण रुघाखोकी लाग्दा कान बन्द हुने, घाँटी दुख्ने समस्या देखिन्छ। चिसो मौसममा नाकभित्रको भाग सुख्खा हुँदा रगत बग्ने सम्भावना बढी हुन्छ।

चिसोमा घाँटीमा संक्रमण भएर दुख्ने सम्भावना हुन्छ। चिसोको समयमा भाइरस बढी सक्रिय हुनुका साथै मानिसहरु पनि नजिक–नजिक बस्ने हुँदा छिटो सर्ने गरेको छ। 

जाडोमा रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका, ज्येष्ठ नागरिकले विशेष सावधानी अपनाउनु पर्छ। सन्तुलित खाना खाने, पानी र प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाने, मौसमी फलफूल विशेषगरी भिटामिन सीयुक्त फलफूल खाने गर्दा रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ। 

चिसो बढ्नेबित्तिकै रुघाखोकीको समस्या किन बढ्छ?

चिसोजन्य रोगबाट बच्न के गर्नुपर्छ भन्ने विषयमा वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा विजय खरेलको भिडिओ ब्रिफिङ :

पुस २६, २०८२ शनिबार ७:५०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad