प्रतिगमनको कचिया उध्याई
सिंहासनको विरासत फर्काउन
धर्मार्थीको रूप धारण गरी
देव देवालय घुम्दै
सत्तारोहणको मिठो सपना देखी
जुँगा मुसार्दै
बादशाह, ज्युँदै रहेको प्रमाण पेस गर्छ।
दासहरू
बादशाहकै भजन गाउँछन्
ईश्वरको अवतार ठानी
नित्य प्रार्थना गर्छन्।
म कविता लेख्छु
दासता विरुद्ध
म गाउँदिनँ बादशाहको भजन
म मान्दिनँ ईश्वरीय अवतार
म प्रार्थना गर्दिनँ बादशाहको
म प्रार्थना गर्छु
केवल आमाको दीर्घायुको।
मसँग एउटा जुलुस छ
अभाव र गरिबीले छट्पटिएको
म तिनीहरूलाई क्रान्तिको नारा सिकाउँछु
म तिनीहरूलाई मुक्तिको झण्डा ओढाउँछु
तिनीहरू जुरुक्कै उठ्छन्
र नारा लगाउँछन
इन्क्लाव, जिन्दावाद!
स्वतन्त्रता गुमाएर
मान्छे बाँच्न चाहँदैन
त्यही स्वतन्त्रता खोसेर
बादशाह
मान्छेको सपना चपाउँछ।
मेरो अधिकार खोसिएपछि
म प्रतिशोधले जलेको छु
मेरो आवाज दमित गरिएपछि
म क्रान्तिको तयारीमा जुटेको छु।
म मान्ने छैन निरङ्कुशता
म मान्ने छैन दासता
म मान्ने छैन तानाशाही सत्ता
म उठाउनेछु झण्डा
गाउनेछु मुक्ति गीत
र स्थापना गराउनेछु
भुइँ मान्छेको सत्ता।
Shares

प्रतिक्रिया