'मैले तेरो नाम 'विष्णु’ किन राखेँ, थाहा छ?' आमाले विष्णुसँग भन्नुभो। 'किनभने तँ मेरो प्यारो छोरो। जीवनको अन्त्य कालमा मैले तँलाई सम्झेर 'विष्णु’ भनेँ भने पनि विष्णुका दूतहरूले मलाई वैकुन्ठ लैजान्छन्। जीवनमा जतिसुकै पाप गरेको छ भने पनि अन्त्यकालमा तुलसी, गंगाजल, रामनाम...'
'देउताले आफूलाई सम्झिएको हो कि छोरालाई सम्झिएको हो भन्ने पनि थाहा पाउँदैनन् र? देउता त्यति पनि थाहा नपाएर झुक्किन्छन् र?' विष्णुले पत्याएन।
'हो त! त्यही भएर त मान्छेहरू सन्तानलाई देउताको नाम राख्छन् नि।' आमाले फेरि भन्नु भयो।
'पुराण सु्न्नु पर्छ; पण्डितहरूको संगत गर्नु पर्छ। पुरेतका कुरामा ध्यान दिनु पर्छ। तँ ती कुरामा ठाडा कान नै लगाउँदैनस्।' विष्णुको आनीबानीप्रति आमाले असन्तोष व्यक्त गर्नु भयो।
विष्णु शोचमग्न भयो।
उसले मनमनमा गुन्यो– 'पाप भनेको हिंसा, शोषण, ढाँटछल, घुसखोरी, भ्रष्टाचार, ठगी, कालाबजारी, चेलीबेटी बेचविखन आदि जस्ता अपराध। पापी भनेको अपराधी। अपराधीले अन्त्य कालमा 'विष्णु’को नाम लिएपछि सबै पाप अपराध पखालिन्छ र! समकालीन समाजमा भ्रष्टाचार र जघन्य अपराध बढ्नुको पृष्ठभूमिमा यस्तै समझ रहेको त होइन? जीवनभर अपराध गर्यो; मर्ने बेलामा विष्णुको नाम लियो : सबै फच्चे! यस्तो पनि हुन्छ?’
विष्णुले धेरै बेरपछि आमातिर फर्केर एउटा प्रश्न सोध्यो– 'आमा! पापीलाई पापबाट उन्मुक्तिको सहज निकासको भ्रम दिएर जीवनभर पाप गर्न उक्साएको भनेर पण्डित र पुरेतहरूलाई धर्मगुरु, सन्त र आचार्यहरूले अहिलेसम्म दण्डित गरेका छन् कि छैनन्?'
Shares

प्रतिक्रिया