म्यागेजिन


ब्रेन ट्युमर भएपछि देशको हालत बुझेकी जेनजी तनुजा

हण्डर खाँदाखाँदा राजनीतिको जुइनो समात्न पुगिन्, चर्चाको शिखरबाट किन मैदान छाडिन्?
ब्रेन ट्युमर भएपछि देशको हालत बुझेकी जेनजी तनुजा

आयुषा ढकाल
कात्तिक २६, २०८२ बुधबार ६:५०, काठमाडौँ

गतसाता सामाजिक सञ्जालमा कसैले हल्ला फिँजाइदियो- जेनजी आन्दोलनकी एक अगुवा तनुजा पाण्डे पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेकी नातिनी हुन्।

पहिले त तनुजाले बेकारको हल्ला भनेर वास्ता गरिनन्। तर, मान्छेहरू तथ्य बुझ्नेभन्दा उनलाई गाली गर्नतिर लागे। कतिले भने, ‘नेपो-बेबीको विरोध गर्ने तिमी आफैँ नेपो-बेबी रहिछ्यौ!’

बाध्य भएर उनले त्यसको खण्डन गर्दै झुटा कुरा फैलाउनेहरूलाई ४३ वर्षअघि बितेका हजुरबुबा कुबेरनाथ पाण्डेको पितृ प्रसादमा निम्त्याइन्।

जेनजी आन्दोलनयता खबरमा लगातार सुनिएको नाममध्ये एक हो- तनुजा पाण्डे। लामो समय जलवायु अभियानमा जोडिएकी उनी यो आन्दोलनको अगुवामध्ये एक थिइन्। भदौ २४ को विध्वंस लगत्तै जंगी अड्डामा माग लिएर जाने जेनजी प्रतिनिधिमा उनी पनि थिइन्। 

पछिल्ला साताहरूमा कतिपय जेनजी प्रतिनिधि राजनीतिक दल खोल्ने या तिनमा आबद्ध हुने गृहकार्यमा लागेका छन्। तनुजासँगसँगै जंगी अड्डा गएकी रक्षा बमले ‘नेपाल जेनजी फ्रन्ट’ गठन गरेकी छन्। तर, तनुजा सो फ्रन्टमा छैनन्। किन उनी आजभोलि उति सक्रिय छैनन्? को हुन् तनुजा? उनी कसरी वातावरण अभियन्ता हुँदै जेनजी आन्दोलनमा जोडिइन्?

‘हरिन नेपाल’ र ‘सेभ निजगढ’
पुख्र्यौली घर झापाको दमक भए पनि तनुजा धनगढीमा जन्मिइन्। उनका बुवा नरपति पाण्डे सरकारी स्कुलमा शिक्षक थिए। उनले जीवनको ३० वर्ष धनगढीमा बिताएका थिए। ०६५ सालमा मात्र तनुजा आमा उर्मिला ओलीसँग झापा फर्केकी थिइन्।

हुर्किंदै गर्दा उनले झापामा किसानहरूको कष्ट देखिन्। बर्खे पानीमा निर्भर खेती। खडेरी हुँदा बाली लगाउन नपाएर बिजोग। ठूलो पानी परे खेतै डुबेर बिजोग। बिस्तारै उनले जलवायु परिवर्तन र त्यसमा मानवीय क्रियाकलाप अनि विकास निर्माणको प्रभावबारे बुझिन्।

सन् २०१८ मा उनी १२ कक्षा पढ्दै थिइन्। त्यो साल बर्खामा बाढीले उनको गाउँमा विनाश गरेको थियो। परीक्षा नजिकिँदै गर्दा उनले समाचार सुनिन्, निजगढमा विमानस्थल बनाउन दशौँ हजार रुख काटिँदै छ। 

उनलाई लाग्यो, मान्छेलाई प्राणवायु दिने जंगल फाँडेर कसका लागि ‘विकास’ गरिँदैछ। कोही किन बोलिरहेको छैन? 

अदालतमा मुद्दा चलिरहे पनि उनी चुप लागेर बस्न सकिनन्।

त्यसैले कात्तिक महिनामा उनी दुई जना साथीलाई लिएर माइतीघर मण्डल पुगिन्। ‘अक्सिजन इज माइ बर्थ राइट’ भन्ने नाराका साथ तनुजाको समूहले सुरु गरेको यो कदम एउटा अभियान नै बन्यो। र, यो अभियान त्यतिञ्जेल चलिरह्यो, जबसम्म अदालतले यो मुद्दा टुंग्याएन।

कसैको सहयोग नलिइकन उनीहरूले चलाएको उक्त आन्दोलनमा कहिले कविता वाचन, कहिले रुखलाई अँगाल्ने, कहिले वातावरणसँग सम्बन्धित चित्र बनाउने जस्ता गतिविधि भए।

‘हरिन नेपाल’ नामक समूह गठन गरेर उनीहरूले थालेको यो गतिविधि कोभिड-१९ को समयमा पनि रोकिएन। लकडाउनमा बाहिर निस्किन नमिल्दा जलवायुविद्, वातावरणविदलाई निम्त्याएर अनलाइन बहस चलाए।

र, यो आन्दोलन एकाध हप्ताबाहेक पाँच वर्षसम्म हरेक शुक्रबार चलिरह्यो। त्यसका लागि उनीहरूले ‘सेभ निजगढ’ नामक ग्रूप बनाएका थिए भने विभिन्न समुदाय र स्कुल–कलेजमा गएर वातावरणको विषयमा बुझाउने पनि गर्थे।

‘हामीले यसरी प्रदर्शन गर्दा नेताहरूले समेत हामीलाई विकासविरोधी भन्दै स्टाटस लेखे,’ तनुजा भन्छिन्, ‘तर, वातावरणको कुरा उठाउन सजिलो छैन। आन्दोलन गर्दागर्दै दिलिपकुमार महतो मारिए। ५ वर्ष भइसक्दा पनि उनले अझै न्याय पाएका छैनन्।’

अहिले देशको शिक्षा, स्वास्थ्य, पूर्वाधार र वातावरणको स्थिति देख्दा तनुजा दिक्क छिन्। जहिले पनि नेपालको प्राकृतिक स्रोतहरू उच्च तहको हातमा भएको उनको भनाइ छ।

‘उनीहरूले क्रसरबाट खोला खनेर पैसा कमाइराख्दाखेरी हाम्रो भात खाने खेत बगिरहेको छ। खेतमा खेती हुन छोडिसक्यो, पानीको मूलहरू सुकिसक्यो, त्यसलाई जोगाउन नसके दीर्घकालमा के होला?’ उनको प्रश्न छ, ‘प्रत्येक वर्ष गरिब नै मर्ने हो। जहिले पनि स्रोतबाट फाइदा चाहिँ एउटा वर्गले मात्रै लिन पायो अनि त्यसको मूल्य चाहिँ अर्को वर्गले तिर्नुपरिरहेको छ।’

सन् २०२२ मा निजगढ विमानस्थलको मुद्दा जितेपछि हरिन नेपालले सर्वोच्चलाई धन्यवाद दिँदै र्‍याली निकालेको थियो।

त्यसपछि सुरुवाती तीन साथी मिलेर सो संस्थालाई दर्ता गर्ने काम गरे। तर, आफूहरूले कुनै पनि किसिमको चन्दा नलिने तनुजाको भनाइ छ।

ब्रेन ट्युमरले ल्याएको भुइँचालो
पाँच वर्ष लामो आन्दोलनपछि निजगढ विमानस्थलबारे फैसला भएकोमा तनुजाले राम्ररी खुसी मनाउन पनि पाएकी थिइनन्। उनको टाउको दुख्न थाल्यो। दुखाइ सहनै नसक्ने हुन थाल्यो।

पछि अस्पतालमा गएर जाँच गराउँदा थाहा भयो- उनलाई ब्रेन ट्युमर भएको रहेछ।

तनुजा त्यतिबेला २१ वर्षकी थिइन्।

उनी छाँगाबाट खसेजस्तै भइन्। परिवारजनको अवस्था झनै खराब थियो। तनुजालाई ‘अप्टिक नर्भ ग्लियोमा’ भएको थियो। जुन निकै कम मानिसमा देखिने ट्युमर हो। तनुजाको आँखाको पछाडि ट्युमर पलाएको थियो, जसलाई काट्दा उनको एउटा आँखाको नसा नै काट्नु पर्ने हुन्छ।

ट्युमर देखिएपछि उपचारका लागि दौडधुप सुरु भयो। विर्तामोड, विराटनगर र काठमाडौँका तीनचार अस्पतालमा देखाइन्। धेरैजना डाक्टरले धेरैथरी कुरा गरे। कतिले आशा देखाउने भन्दा पनि निराशा जगाउने कुरा गर्न थाले। कोही ‘आँखाको नसा नै काट्नु पर्छ, आँखा जान्छ’ भन्थे त कोही ‘उपचार गर्नै पर्दैन, केही फाइदा छैन’ भन्ने गर्थे। 

यस्ता कुरा सुन्दा तनुजालाई भित्र–भित्रै निकै गाह्रो हुन्थ्यो। अस्पतालमा त मनोवैज्ञानिक सहयोगको सट्टा उल्टो निराशा पाइँदो रहेछ भन्ने लाग्न थाल्यो।

त्यसपछि परिवारले उनलाई लिएर भारतको दिल्ली गयो। जहाँ उपचारअघि नै ४० लाख रूपैयाँ जम्मा गर्नुपर्‍यो।

खर्च अत्यधिक भए पनि दिल्लीमा मानसिक रूपमा कमजोर हुनेगरी टिप्पणी सुन्नु नपरेको उनी सुनाउँछिन्।

‘अलिकति ठूलो रोग लाग्दा नेपालमा त बाँच्नै गाह्रो हुँदो रहेछ। अस्पतालमा लगाएर गएको लुगाको आधारमा जज गरिँदो रहेछ। उपचार सुरु नै नगरी डाक्टरले ‘उपचार गरेर केही फाइदा छैन’ भन्दिने। डाक्टरले काउन्सेलिङ गर्ने तरिका, बोल्ने तरिका नै ठिक नभएजस्तो लाग्यो। मेडिकल सिस्टममा विश्वास गर्ने ठाउँ नै बाँकी रहेन,’ उनी भन्छिन्, ‘भारतमा जानेबित्तिकै ‘तपाईंलाई केही हुँदैन। यस्तो रोग हुने मान्छे त कति छन् कति’ भन्ने गर्थे। उपचार सुरु भएको एक महिनामै म मानसिक रूपमा बलियो हुन थालेँ।’

उपचारभन्दा पहिल्यै सबै पैसा जम्मा गर्न तनुजाको परिवारले आफन्तजन र साथीभाइसँग ऋण माग्नुपरेको थियो। त्यो बेला आमालाई अत्यधिक आघात परेको उनी सम्झिन्छन्।

‘धन्न हाम्रो जग्गाजमिन थियो र हामीले छोरीको उपचार गर्न सक्यौँ, नत्र के हुन्थ्यो होला भन्दै आमा रुनुभयो,’ तनुजा सुनाउँछिन्।

आँखा गए पनि शल्यक्रिया गर्ने कि रेडियोथेरापीको भरमा उपचार गर्ने भन्ने द्विविधा थियो। डाक्टरले भने, ‘यति सानो मान्छेको आँखा जानुभन्दा रेडियोथेरापी गर्ने।’

रेडियोथेरापीको क्रममा आफूलाई निकै कठिन भएको उनले सुनाइन्।

रेडियो थेरापीपछि शरीरको अन्य अंगमा पनि जटिलता आउन थालेको छ। उनको पाठेघरमा ट्युमर पलाएको छ।

दिदी विदेशिइन्
तनुजाका बुवा नरपति बारम्बार भन्ने गर्थे, ‘मेरा छोरीहरू कहिल्यै विदेश नजाऊन्।’

उनी आफ्ना सन्तानलाई देशमै गरीखाएको हेर्न चाहन्थे।

परिवारको आर्थिक स्थिति पनि ठिकै थियो। आमा मनोसामाजिक परामर्शदाता अनि बुवा सरकारी शिक्षक। तैपनि रातारात तनुजाको उपचारमा आधा करोड रूपैयाँ निकाल्नुपर्दा स्थिति डामाडोल हुन पुग्यो।

उनकी दिदी फिजियोथेरापिस्ट थिइन्। घरको अवस्थाबारे जानकार उनले विदेशिने निधो गरिन्। र, अस्ट्रेलिया उडिन्।

सन्तानलाई विदेश नपठाउने भनेर बसेका बुवा छोरी विदेश उड्दै गर्दा घरको अवस्था सुध्रिन्छ भनेर खुसी भए। त्यो देखेर तनुजाको हृदय टुक्रियो।

‘भलै मेरो दिदीले देश छोड्नुमा मेरो परिवारको स्थिति मुख्य कारण हो। तर, त्यो मेरो परिवारको मात्र स्थिति होइन, देशको स्थिति पनि हो,’ उनी भन्छिन्, ‘देशमा यस्तो महँगी छ, उपचार गर्न नसक्ने स्थिति छ। दुःखको कुरा त मैले आफैँले स्वास्थ्य प्रणालीलाई विश्वास गर्न सकिनँ। एउटा राज्यको नागरिकका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार भनेको आधारभूत कुराहरू हुन्, ताकि एउटा नागरिकलाई पनि महसुस होस् न राज्य छ भनेर। खोइ त ती कुरा!’

‘नट क्वालिफाइड’
तनुजा नेपाल ल क्याम्पसमा कानुन (बीएएलएलबी) पढ्दै थिइन्। उपचारको लागि दिल्ली जाँदा उनको सातौँ सेमेस्टरको परीक्षा छुटेको थियो। 

फर्केर आएपछि उनले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा कलेजलाई रिपोर्ट सहित जानकारी दिइन्। अनि थेसिस बुझाइन्।

तर, एक विषय शिक्षकले उनलाई अयोग्य (नट क्वालिफाइड) घोषणा गरिदिए। उनले मेडिकल रिपोर्ट देखाउँदा पनि अयोग्य घोषित गरिदिएपछि उनलाई लाग्यो– हाम्रो शिक्षा प्रणालीमा पनि गडबडी छ।

तर, कलेजको विद्यार्थी कल्याण परिषद्ले उनलाई मद्दत गर्‍यो। र, उनको समस्या सल्टियो। उनले प्रमाणपत्र हात पारिन्।

यी सारा घटनाहरूको भुक्तभोगीका रूपमा उनी देशका हरेक कुरामा समस्या देख्न थालिन्। र, यी सबै समस्याको जुइनो राजनीतिमा गएर जोडिन्थ्यो। त्यसैले राजनीति पनि बदल्नुपर्ने निचोडमा उनी पुगिन्।

‘मैले त जन्मेदेखि नै आन्दोलन देख्दै आएकी थिएँ। तर, आज पनि हाम्रो शिक्षा, स्वास्थ्य, पूर्वाधार उही ठाउँमा छ,’ उनी सुनाउँछिन्।

त्यही भएर जब भ्रष्टाचार, नातावाद, आदिको विरोध बढ्न थाल्यो, तब उनी पनि यसमा सक्रिय रूपमा सहभागी भइन्। जेनजी आन्दोलनमा सहभागी हुन आह्वान गर्दा पनि उनले क्रसरको कुरा उठाएकी थिइन्।

‘समान्यतयाः भ्रष्टाचार भनेको टेबल मुनिबाट पैसा लिनुदिनु हो भन्ने बुझिन्छ। तर, खास भ्रष्टाचार नेताहरूले ‘यो खोला यति पैसामा तेरो’ भनेर गरेका हुन्छन्,’ उनले त्यसबेला भनेकी थिइन्।

आजभोलि मैदानमा किन छैनन् तनुजा?
२४ वर्षीया तनुजा जेनजी आन्दोलनताका एउटा एनजीओमा इन्टर्नको रूपमा कार्यरत थिइन्। ६ महिनाका लागि सम्झौता गरेकी उनको इन्टर्नसिप तीन महिनादेखि चलिरहेको थियो। २३ गतेको आन्दोलनमा पनि उनी हाफ छुट्टी मागेर आएकी थिइन्। 

तर, आन्दोलनले देश मात्रै होइन, उनको जीवन पनि बदलिदियो। एकाएक उनी चर्चाको शिखरमा पुगिन्। अनि, ‘विदेशीको एजेन्ट’, ‘डलरे’ भन्दै उनलाई गालीबेइज्जती पनि गरियो।

त्यसैकारण उनले आन्दोलनपछि त्यो एनजीओ छाडिदिइन्।

आफू आलोचनाको निसानामा परेपछि जेनजी आन्दोलनको नेतृत्व पनि उनले साथीहरूको हातमा छाडिदिइन् र आफू पछि हटिन्। त्यसयता उनले पृष्ठभूमिमै बसेर उनीहरूलाई सघाइरहेकी छन्। यसमा स्वास्थ्य मुख्य कारण रहेको उनको भनाइ छ।

‘म पूर्ण रूपमा स्वस्थ छैन। जे पायो त्यही खान मिल्दैन। समयमा सुत्नुपर्छ, समयमै उठ्नुपर्छ। धेरै ख्याल गर्नुपर्ने हुन्छ,’ तनुजा भन्छिन्, ‘मेरो ब्रेनमा पनि रेडियसन हानेको छ। जुन स्थितिमा म छु, त्यो मेरो लागि मेन्टल्ली पनि राम्रो होइन। सोही कारण यी कुराबाट म अलिकति पछि हटेकी हुँ।’

उनको उपचार चलिरहेको छ। 

‘एमआरआई गरिराख्नु पर्ने, औषधिहरू लिइराख्नुपर्ने हुन्छ र त्यसको खर्च निकै धेरै हुन्छ,’ तनुजा सुनाउँछिन्।

रेडियसनका कारण क्यान्सरको उच्च जोखिम छ। उनको ट्युमर पनि अझै बाँकी छ। यसका लागि शान्तिपूर्ण जीवन आवश्यक हुने उनको भनाइ छ।

‘त्यसको लागि म आफ्नो काममा फर्केर सामान्य हुनु पर्‍यो नि!’ उनी भन्छिन्।

हाल उनी आफ्नै हरिन नेपालमा सक्रिय छिन्। त्यसका अलावा जलवायु सम्बन्धी तालिमहरू पनि दिने गर्छिन्।

प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई आफूहरूले छानिसकेपछि उनको मन्त्रिपरिषदलाई पनि विश्वास गर्नुपर्ने तनुजाको धारणा छ।

‘उहाँलाई काम गर्न पनि दिनु पर्‍यो नि हामीले। हस्तक्षेप गरेर भएन,’ उनी भन्छिन्, ‘बरु हामी वाचडगका रूपमा हेरिरहेका छौँ र हेरिरहने छौँ।’

एक महिनाअघिको यो भिडिओ -

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad