म्यागेजिन


होटलको मूलढोकाबाट विशिष्ट विदेशी जोडी निस्कियो, बग्गीमा चढेर राष्ट्रपति भवनतर्फ अघि बढ्यो

२ सय वर्षदेखि जारी छ राजदूतलाई बग्गी चढाउने चलन, हरायो बेलायती राजतन्त्रबाट सिकेको अत्तर छर्कने त्यो प्रचलन
होटलको मूलढोकाबाट विशिष्ट विदेशी जोडी निस्कियो, बग्गीमा चढेर राष्ट्रपति भवनतर्फ अघि बढ्यो

ड्युसिट प्रिन्सेस अगाडि नर्वेली राजदूत ड्याग्ने मजोस आफ्ना पतिसहित, साथमा प्रोटोकल अफिसर ऋचा भट्टराई (तस्बिरहरू : सरोज नेपाल)


सीताराम बराल
कात्तिक ३०, २०८२ आइतबार १९:४७, काठमाडौँ

काठमाडौँको लाजिम्पाटस्थित होटल ‘ड्युसिट प्रिन्सेस’को माहोल बिहीबार (२७ कार्तिक) दिउँसो रमाइलो थियो। नेपाली सेनाले पठाएका दुई वटा घोडाले तान्ने गाढा कालो र सुनौलो रङका दुई बग्गी साढे एक बजेदेखि होटल परिसरमा उपस्थित थिए। बग्गी वरिपरि रहने गरी चार–चार जनाका दरले व्यवस्था गरिएका रिसल्ला (घोडचढी सैनिक) त्यहाँ देखिन्थे। 

एक दर्जन प्रहरी अधिकारीहरूको टोली त्यहाँ उपस्थित भइसकेको थियो। उनीहरूले कालो प्यान्ट र सेतो कोट लगाएका थिए। उनीहरूको साथमा बडेमान आकारका ‘पाइलट मोटरसाइकल’ पनि थियो, जो बग्गीमा सवार हुने विशिष्ट विदेशी अतिथिको ‘एस्कर्टिङ’ का लागि ल्याइएका थिए।      

‘ड्युसिट प्रिन्सेस’ होटल परिसरभित्र देखिएको रिसल्ला, सुनौलो बग्गीसहित आकर्षक घोडाहरू, बडेमानका पाइलट मोटर साइकल, आदिको दृश्यले नजिकै रहेका र्‍याडिसन, टिबेट (तिब्बत) मनास्लु होटलमा रहेका विदेशी पर्यटकलाई आकर्षित गर्‍यो। ‘ड्युसिट प्रिन्सेस’ होटलमा देखिएको रमिता हेर्न उनीहरू त्यसतर्फ लागे। साथमा रहेका क्यामरा र मोबाइलबाट त्यहाँको रोमाञ्चक दृश्य कैद गरे। 

होटलअगाडि बग्गी, रिसल्ला सहितका सुरक्षाकर्मी

यसैबीच, दिउँसो २ बजे होटलको मूलढोकाबाट विशिष्ट पाहुनाजस्ता लाग्ने एक विदेशी जोडी निस्कियो। एक बग्गी त्यसअघि नै होटलको ढोकाअगाडि तम्तयार थियो। होटलबाट निस्केको त्यो विदेशी जोडी त्यसमा सवार भयो। रिसल्ला र प्रहरीको एस्कर्टिङमा त्यो बग्गी अघि बढ्यो। खाली स्थानमा अर्काे बग्गी आएर बस्यो। पन्ध्र मिनेटपछि अर्काे विशिष्ट विदेशी जोडी पनि त्यसैगरी स्कर्टिङसहित बग्गी चढेर अघि बढ्यो। 

रिसल्ला र पाइलट मोटरसाइकलको स्कर्टिङसहित बग्गी चढेका ती विशिष्ठ पाहुनाहरू र्‍याडिसन होटलअगाडिको साँघुरो गल्ली हुँदै लैनचौर–महाराजगन्ज मूलसडकमा निस्केर महाराजगन्जतर्फ लागे। करिब आधा–आधा घण्टापछि ती दुवै बग्गी महाराजगन्जबाट ‘ड्युसिट प्रिन्सेस’ नै फर्के। र, थप दुई विशिष्ट पाहुना बोकेर त्यसैगरी महाराजगन्जतर्फ लागे।  

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बिहीबार नेपालका लागि इजिप्टका राजदूत शेरिफ मोस्तफा असायेद, नर्वेली राजदूत श्रीमती ड्याग्ने मजोस, श्रीलङ्काली राजदूत श्रीमती रूपान्थी डेल्पिटिया र म्यानमार (बर्मा) का राजदूत उ थान्त सिनले ओहोदाको प्रमाणपत्र पेस गरेका थिए। होटल ‘ड्युसिट प्रिन्सेस’ मा देखिएको दृश्य खासमा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने राजदूतहरूको प्रस्थानको बेलाको थियो। 

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्दै नेपालका लागि इजिप्टका राजदूत शेरिफ मोस्तफा असायेद (राष्ट्रपति कार्यालय)

नेपाल–अंग्रेज युद्ध अन्त्य गर्न सन् १८१६ मा सुगौली सन्धि भएपछि नेपाल आएर विदेशी राजदूतहरूले जिम्मेवारी सम्हाल्ने औपचारिक क्रम सुरु भयो। नेपाल–बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो बेलायती रेजिडेन्ट (राजदूत) का रूपमा एडवर्ड गार्डनर काठमाडौँ आए। ओहोदाको प्रमाणपत्र बुझाउन राजदूत गार्डनरलाई पनि त्यसैगरी बग्गीमा चढाएर बसन्तपुरस्थित हनुमानढोका दरबार पुर्‍याइएको थियो।

सुगौली सन्धियता सयौँ विदेशी राजदूत जिम्मेवारी सम्हाल्न काठमाडौँ आएका छन्। त्यसयता पटक–पटक नेपालको शासन व्यवस्था मात्र परिवर्तन भएको छैन, शासन–व्यवस्था परिवर्तनसँगै ओहोदाको प्रमाणपत्र बुझाइने स्थान र तरिकामा पनि निकै परिवर्तन आइसकेको छ।

यसका बाबजुद एक कुरामा भने खासै परिवर्तन छैन। त्यो हो– रङ्गीचङ्गी पोसाकसहितका घोडचढी सैनिकको सुरक्षामा राजदूतलाई बग्गीमा सवार गराएर ओहोदाको प्रमाणपत्र बुझाइने स्थलसम्म पुर्‍याइने परम्परा। ओहोदाको प्रमाणपत्र पेस गर्न राजदूतलाई रिसल्लासहितको बग्गीमा राष्ट्राध्यक्षसमक्ष लैजाने परम्परालाई नेपालले दुई सय वर्षयता निरन्तरता दिइरहेको छ।

बग्गी चढाइने नयाँ–नयाँ ‘भेन्यु’ 
जेन–जी आन्दोलनबाट नयाँ सरकार निर्माण भएपछि बिहीबार पहिलो पटक विदेशी राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। त्यसअघि २९ साउनमा विभिन्न चार मुलुकका राजदूत (आवासीय र गैर–आवासीय) हरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवास (राष्ट्रपति कार्यालय) मा ओहोदाको प्रमाणपत्र पेस गरेका थिए। 

तिनीहरूमा जर्मनीका युडो उल्टेन भोल्ज (जर्मनी) र फिनल्यान्डका राजदूत आवासीय (काठमाडौँमै दूतावास भएका) थिए भने बुर्किनाफासोका डिजारे बोनिफस सोमे र कम्बोडियाकी श्रीमती रास मानी गैरआवासीय (नयाँदिल्लीबाट हेर्नेगरी) राजदूत थिए।

इजिप्टका राजदूत शेरिफ मोस्तफा असायेद पत्नीसहित

तीन महिनाको अवधिमा ओहोदाको प्रमाणपत्र बुझाउने यी दुई समारोहबीचको अन्तर के हो भने बिहीबार (२७ कार्तिक) को समारोह शीतल निवासस्थित राष्ट्रपति पौडेलको सरकारी निवासको बैठक कक्षमा आयोजित थियो। २९ साउनमा भने राष्ट्रपति भवन (शीतल निवास) को इस्ट लङ (पूर्वी मोहडा) स्थित कोसी हलमा सम्पन्न भएको थियो।

यसपटक शीतल निवासभित्रै ओहोदाको प्रमाणपत्र बुझाइने भवन  परिवर्तनको कारण थियो, २४ भदौमा भएको आगजनी र तोडफोड। यस्ता समारोह आयोजना गरिने शीतल निवासको ‘कोसी हल’ (जहाँ ‘सगरमाथा’ र ‘लुम्बिनी’ नामका दुई भव्य कक्ष थिए) मा त्यसदिनको आगजनीबाट ठूलो क्षति पुगेको थियो। त्यसैले ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम राष्ट्रपति निवासको बैठक कक्षमा आयोजना गरिएको हो।

राष्ट्रपति भवनको दक्षिणी गेट

ओहोदाको प्रमाणपत्र पेस गर्ने समारोह शीतल निवासमा आयोजना हुन थालेको भने गणतन्त्रको स्थापनापछि हो। त्यसअघि केही समय सिंहदरबारमा समेत यस्ता समारोह आयोजना गरिए। गणतन्त्र स्थापनाअघि एक वर्ष राजतन्त्र निलम्बनमा रहेका बेला सिंहदरबारको बेलायती बैठक कक्षमा राजदूतहरूको ओहोदाको प्रमाणपत्र पेस गर्ने समारोह आयोजना गरियो, जहाँ ‘कार्यवाहक राष्ट्राध्यक्ष’ का रूपमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चिनियाँ राजदूत झेङ सियाङलिनबाट पहिलो पटक ओहोदाको प्रमाणपत्र ग्रहण गरेका थिए।  

२०६३ अघिसम्म भने ओहोदाको प्रमाणपत्र पेस गर्ने समारोह नारायणहिटी राजदरबारमा आयोजना गरिन्थ्यो। राणा शासन अन्त्यपछि पाँच दशकभन्दा बढी समय विदेशी राजदूतहरूले नारायणहिटीमा आयोजित समारोहमा राजा समक्ष ओहोदाको प्रमाणपत्र पेस गरे। 

पूर्व शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) माधव खनालका भनाइमा, नारायणहिटीअघि बसन्तपुरस्थित गद्दी बैठकमा यस्तो समारोह आयोजना हुने गरेको थियो। 

नेपालका लागि श्रीलंकाकी राजदूत श्रीमती रूपान्थी डेल्पिटिया आफ्ना पतिसँगै बग्गीमा, साथमा प्रोटोकल अधिकारी दीपकराज निरौला

गद्दी बैठक (बसन्तपुर) मा ओहोदाको प्रमाणपत्र बुझाइने खासमा राणाकालीन प्रचलन हो। शक्तिमा राणा शासक थिए तर जति नै कमजोर भए पनि राष्ट्राध्यक्षको भूमिका भने राजालाई नै थियो। ओहोदाको प्रमाणपत्र राष्ट्राध्यक्षलाई बुझाइने भएकाले गद्दी बैठकमा आयोजित समारोहमा राजासमक्ष ओहोदाको प्रमाणपत्र बुझाउँथे। 

राणाकालमा गद्दी बैठक रहेको भवन निर्माणअघि सम्भवतः हनुमानढोका दरबारमा यस्तो समारोह आयोजना हुने गर्थ्यो। किनकि, प्रधानमन्त्री श्री ३ रणोद्दीप सिंह नारायणहिटीमा मारिएलगत्तै राजाहरू बसन्तपुर दरबारमै बसोबास गर्थे। 

२००७ अघिसम्म नेपालको औपचारिक कूटनीतिक सम्बन्ध बेलायत, भारत, फ्रान्स, अमेरिका र चीनसँग थियो। २००७ को परिवर्तनपछि नेपालको बाह्य सम्बन्ध थप विस्तारित हुन थाल्यो। नेपाल आउने राजदूतहरूको बढ्दो संख्या, राष्ट्राध्यक्ष (राजा) को बढ्दो शक्ति र व्यस्तताका कारण होला, ओहोदाको प्रमाणपत्र बुझाउने समारोह बसन्तपुरबाट नारायणहिटी राजदरबारमा स्थानान्तरित गरियो।

नेपाल–चीनबीच १७ साउन २०१२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको तेस्रो दिन, १९ साउन (२०१२) मा नेपालका लागि पहिलो चिनियाँ राजदूत जनरल युवान चुन सियानले नारायणहिटी राजदरबारमा नै राजा महेन्द्र समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए। 

नेपालका लागि म्यानमारका राजदूत उ थान्त सिन बग्गीमा चढेर ओहोदाको प्रमाणपत्र बुझाउन राष्ट्रपति भवन जाने क्रममा पानीपोखरी क्षेत्रमा

राजा महेन्द्र समक्ष ओहोदाको प्रमाणपत्र पेस गर्न नारायणहिटी लैजाने सिलसिलामा राजदूत जनरल सियानको जसरी सवारी चलाइएको थियो, सोमबार ओहोदाको प्रमाणपत्र पेस गरेका इजिप्ट, नर्वे, श्रीलङ्का र म्यानमारका राजदूतहरूको सवारीबीच त्यति ठूलो अन्तर देखिँदैन। फरक मात्र राजदूत सवार बग्गी तान्ने घोडा, समारोहस्थल र नारायणहिटी प्रस्थान गर्नुअघि राजदूतलाई राखिएको स्थानको थियो। 

राजा वीरेन्द्रको शासनकालको मध्यसम्म ओहोदाको प्रमाणपत्र पेस गर्न प्रस्थान गर्ने औपचारिक विन्दु परराष्ट्र मन्त्रालयले महाराजगन्जस्थित शीतल निवासलाई तोकेको थियो। त्यसदिन राजदूतहरू शीतल निवासमा जम्मा हुन्थे। त्यहाँबाट बग्गीमा चढाएर राजदूतहरूलाई नारायणहिटी पुर्‍याइन्थ्यो। 

फरक यत्ति हो कि, आजकल दुई घोडे बग्गीको प्रचलन छ, त्यो बेला राजदूतहरूलाई चारघोडे बग्गी चढाएर नारायणहिटी पुर्‍याइने प्रचलन थियो। ‘एस्कर्टिङ’ गर्ने रिसल्लाको संख्या पनि त्यो बेला अलिक बढी हुन्थ्यो। 

राजदूतको सवारीका लागि ड्युसिट प्रिन्सेस होटलअगाडि तयारी अवस्थामा बग्गीहरू

राजदूतहरूको नारायणहिटी प्रस्थानका लागि बग्गी चढ्ने स्थानका लागि शीतल निवासको छनोटको एउटा कारण के हुनसक्छ भने त्यो बेला शीतल निवास सरकारी ‘अतिथि गृह’ का रूपमा थियो। जनरल कृष्ण शमशेरले यसै प्रयोजनका लागि नेपाल सरकारलाई शीतल निवास उपहारस्वरूप प्रदान गरेका थिए। सरकारी अतिथि गृह (स्टेट गेस्ट हाउस) भएकाले नेपाल आउने विशिष्ट अतिथिहरूलाई सरकारले त्यहीँ राख्थ्यो। राजदूतहरू पनि त्यहीँ राखिन्थे।   

तर, राजा वीरेन्द्रको शासनकालको मध्यताका राजदूतहरूलाई नारायणहिटी लैजान बग्गी चढाइने स्थान परिवर्तन भयो। दरबारमार्गस्थित ‘याक एन्ड यती’ वा ‘अन्नपूर्ण’ होटल अब ओहोदाको प्रमाणपत्र पेस गर्नका लागि नारायणहिटीतर्फ लाग्ने औपचारिक प्रस्थान विन्दु बने। 

सिंहदरबारबाट परराष्ट्र मन्त्रालय शीतल निवासमा स्थानान्तरण (२०४५), काठमाडौँमा बढ्दो सवारी चाप, लाजिम्पाटको उकालोमा बग्गी तान्न घोडालाई पर्ने सकस र शीतल निवास–नारायणहिटीबीचको अलिक लामो दूरीका कारण राजदूतहरूले बग्गी चढ्ने प्रस्थानविन्दू दरबारमार्गका यी दुई होटल बनाइएका थिए। 

तर, गणतन्त्रपछि शीतल निवास ‘राष्ट्रपति भवन’ मा रूपान्तरित भयो। राष्ट्रपति भवनबाट याक एन्ड यति वा अन्नपूर्ण होटल नारायणहिटीको तुलनामा टाढा थियो। त्यसैले, परराष्ट्र मन्त्रालयले राष्ट्रपति भवनबाट अपेक्षाकृत नजिक पर्ने लाजिम्पाटस्थित साङ्ग्रिला र र्‍याडिसन होटललाई राजदूतहरूको बग्गीसहित सवारीकोे प्रस्थानविन्दु बनायो। सँगसँगै बग्गीको साटो कार चढाउन थालियो। 

तर, जाँदा–आउँदा दुवै पटक कार प्रयोग गर्ने प्रचलनले लामो समय निरन्तरता पाएन। ‘ओल्ड इज गोल्ड’ भन्ने चलन छँदैछ, बग्गीको प्रयोगमा झल्किने विशिष्टता कारको प्रयोगमा हुँदैनथ्यो। कार प्रयोगमा भन्दा सम्मान भाव बढी महसुस हुने भएकाले एकाध प्रयोगपछि परराष्ट्र मन्त्रालयले फेरि ओहोदाको प्रमाणपत्र बुझाउने राजदूतहरूका लागि बग्गीको प्रयोगलाई निरन्तरता दिन थाल्यो। 

बग्गी चढेर राष्ट्रपति भवनतर्फ प्रस्थान गरेकी नेपालका लागि श्रीलङ्काली राजदूत लाजिम्पाट क्षेत्रमा

तर, पुनर्निर्माणका लागि ३ वर्षअघि साङ्ग्रिला होटललाई जब भत्काइने भयो, त्यसपछि फेरि नयाँ स्थान खोज्नुपर्ने भयो। त्यसैक्रममा मन्त्रालयले ‘ड्युसिट प्रिन्सेस’ होटललाई राजदूतहरू बग्गी चढेर प्रस्थान गर्ने नयाँ प्रस्थानविन्दु छनोट गर्‍यो।     

राजा वीरेन्द्रको शासनको मध्यकालसम्म राजदूतहरू नारायणहिटी जाँदा र फर्कंदा दुवै पटक बग्गीकै व्यवस्था हुने गरेको थियो। तर आजकल राजदूतहरू शीतल निवास प्रस्थान गर्दा मात्र बग्गीको प्रयोग हुने गरेको छ। 

‘यस्ता कार्यक्रमका कारण सडक धेरै जाम हुने गरी जनताले दुःख नपाऊन् भन्ने कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ,’ विद्या भण्डारीको पहिलो राष्ट्रपतित्वकालमा राष्ट्रपतिका विदेश मामिला सल्लाहकार समेत रहेका पूर्वपरराष्ट्रसचिव डा मदन भट्टराई भन्छन्, ‘दुवै पटक बग्गीको प्रयोग गर्दा सडक जाम हुने भएकाले राजदूतहरूका लागि एक पटक मात्र बग्गी प्रयोग गर्ने चलन सुरु भएको हो।’

निरन्तरता पाएको विशिष्ट प्रचलन
तीन महिनाअघि (२९ साउन) ओहोदाको प्रमाणपत्र पेस गर्न प्रस्थान गर्ने क्रममा बग्गीमा सवार जर्मनी, फिनल्यान्ड, बुर्किना फासो र कम्बोडियाका राजदूतहरू पूर्वतर्फको मूलढोकाबाट शीतल निवास प्रवेश गरेका थिए। यसपटक इजिप्ट, नर्वे, श्रीलङ्का र म्यानमारका राजदूतहरूको बग्गी प्रवेशका लागि भने दक्षिणतर्फको ढोका प्रयोग गरियो। 

यसपटक दक्षिणतर्फको गेटबाट बग्गीसहित राजदूतहरू राष्ट्रपति भवन प्रवेश गरे

पूर्वी मूलढोका समेत २४ भदौमा तोडफोडमा परेकाले यसपटक दक्षिणढोका प्रयोग गरिएको थियो। प्रदर्शनकारीहरूले त्यस दिन पूर्वी मूलढोकाबाट शीतल निवास प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए। 

ओहोदाको प्रमाणपत्र समारोहमा राष्ट्रपति भवन परिसरभित्र सुरुमा नेपाल–इजिप्टको संयुक्त झण्डा फहराइएको थियो। इजिप्टका राजदूत शेरिफ मोस्तफा असायेदको पहिलो पालो रहेकाले सुरुमा नेपाल–इजिप्टको संयुक्त झण्डा फहराइएको थियो। ओहोदाको प्रमाणपत्र पेस गरी १५ मिनेटपछि इजिप्टका राजदूत फर्कनासाथ क्रमैसँग नेपाल–नर्वे, नेपाल–श्रीलङ्का र नेपाल–म्यानमारका झण्डा फहराइए। यसर्थ कि, इजिप्टपछि क्रमशः नर्वे, श्रीलङ्का र म्यानमारका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम थियो। 

चारै जना राजदूतलाई अघिल्लै दिन (२७ कार्तिक) होटल ‘ड्युसिट प्रिन्सेस’ निम्त्याएर ओहोदाको प्रमाणपत्र पेस गर्ने समारोहको विस्तृत जानकारीसहित रिहर्सल गराइएको थियो। 

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्दै नेपालका लागि नर्वेली राजदूत ड्याग्ने मजोस (राष्ट्रपति कार्यालय)

ओहोदाको प्रमाणपत्र बुझाउने समारोहमा परराष्ट्रमन्त्री, राष्ट्रपतिका विदेश मामिला सल्लाहकार, नेपाली सेनाका प्रधानसेनापति, परराष्ट्र सचिव, राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपतिका प्रमुख निजी सचिव आदि उपस्थित हुने कार्यविधि छ। त्यसैले, ‘ड्युसिट प्रिन्सेस’ को हलमा २७ कार्तिकमा अन्य सरकारी अधिकारीहरूलाई ‘डमी’ राष्ट्रपति, परराष्ट्रमन्त्री, प्रधानसेनापति लगायतका अधिकारी बनाएर ओहोदाको प्रमाणपत्र पेस गर्ने प्रचलनको रिहर्सल गराइएको थियो।

ड्युसिट होटलबाट राजदूतहरू शीतल निवास प्रस्थान गर्दा राजदूत सवार हरेक बग्गीमा परराष्ट्र मन्त्रालयको ‘प्रोटोकल डिभिजन’ का एक–एक शिष्टाचार अधिकृत (प्रोटोकल अफिसर) पनि साथमा थिए। शीतल निवास प्रवेश गरेपछि सबै बग्गीबाट झरे, झर्नासाथ राष्ट्रपति कार्यालयका शिष्टाचार अधिकारीले राजदूतको स्वागत गरे, उनलाई समारोह कक्ष अघिल्तिरको ‘होल्डिङ रुम’मा पुर्‍याइयो। त्यहाँ केही मिनेट रोकिएपछि समारोह कक्षतर्फ अघि बढाइयो।   

परराष्ट्र मन्त्रालयका एक अधिकारीका भनाइमा, ओहोदाको प्रमाणपत्र पेस गर्ने राजदूतलाई स्वागत गर्न चिफ अफ प्रोटोकल (शिष्टाचार महापाल) समारोह कक्षको द्वारमा रहन्छन्। स्वागत गरेपछि चिफ अफ प्रोटोकल बायाँतर्फ बसी राजदूतलाई राष्ट्रपति उपस्थित समारोहस्थलतर्फ लैजान्छन्। राजदूतको पछिल्तिर सम्बन्धित मुलुकको दूतावासका बढीमा तीन जना अधिकारी (राजदूतको पति वा पत्नी र दुई कर्मचारी) निश्चित दूरी बनाएर रहन सक्छन्। 

बग्गी चढ्ने क्रममा नर्वेली राजदूत ड्याग्ने मजोस

‘राष्ट्रपति समारोह कक्षमा उपस्थित भइसकेका हुन्छन्, जब चिफ अफ प्रोटोकलका साथ राजदूत समारोह हल प्रवेश गर्छन्, केही पाइला अघि बढेपछि चिफ अफ प्रोटोकल र राजदूत केही वर रोकिन्छन्, राष्ट्रपतिलाई राजदूतको तर्फबाट शुभकामनाका लागि यसरी रोकिने गरिएको हो,’ ती अधिकारीले भने, ‘राजदूतले राष्ट्रपतिलाई शुभकामना प्रदान गर्छन्, राजदूतभन्दा पछि रहेका टोलीका सदस्य (बढीमा तीनजना) पनि राष्ट्रपतिलाई शुभकामना प्रदान गरेपछि फेरि चिफ अफ प्रोटोकलका साथ राजदूत अघि बढ्छन्। केही अघि बढेपछि चिफ अफ प्रोटोकल दोस्रो पटक रोकिन्छन्, उनीसँगै राजदूत र राजदूतको टोलीका सदस्य रोकिन्छन्।’ 

यस्तो ‘स्टप’ करिब आधा मिनेटको हुन्छ, राजदूत र उनले प्रतिनिधित्व गर्ने मुलुकबारे राष्ट्रपतिलाई संक्षिप्त जानकारीका लागि यसरी रोकिने गरिएको हो। राजदूतलाई रोकेपछि चिफ अफ प्रोटोकल आफू अदबका साथ थोरै पाइला अघि बढ्छन्। त्यसपछि सुरु गर्छन् राजदूतको परिचय– ‘सम्माननीय राष्ट्रपतिज्यू! महामहिमसमक्ष नेपालका लागि...(मुलुक) का प्रस्तावित राजदूत...(नाम) लाई ओहोदाको प्रमाणपत्र सहित प्रस्तुत गर्न पाउँदा आफूलाई गौरव महसुस भएको निवेदन गर्न चाहन्छु।’ 

चिफ अफ प्रोटोकलको घोषणापछि राजदूत राष्ट्रपतितर्फ थोरै अघि बढ्छन्। यसक्रममा राष्ट्रपति र राजदूतबीच करिब दुई मिटरको दूरी कायम हुन्छ। राजदूत फेरि रोकिन्छन्। आमने–सामने भए पनि राजदूतले राष्ट्रपतिसँग आँखा जुधाउनु कूटनीतिक शिष्टता विपरीत मानिन्छ। राजदूत अब आफ्नो उपस्थितिको प्रयोजन राष्ट्रपतिलाई अवगत गराउँछन्, ‘महामहिम राष्ट्रपतिज्यू! म मेरो देश...(नाम) का राष्ट्राध्यक्ष...(नाम र पद) ले मलाई नेपालका लागि ‘असाधारण र सर्वाधिकार सम्पन्न राजदूत’ (एम्बासडर एक्स्ट्रा–अर्डिनरी एन्ड प्लेनिपोटेन्सरी) का रूपमा नियुक्त गरी पठाउनु भएकोमा गौरव महसुस गर्दछु। साथै महामहिम (राष्ट्रपति) समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दछु।’

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्दै नेपालका लागि श्रीलङ्काली राजदूत श्रीमती रुवान्थी डेलपिथिया (राष्ट्रपति कार्यालय)

यति भनिसकेपछि राजदूत फेरि एक कदम अघि बढ्छन् र आफ्नो साथमा रहेको ओहोदाको प्रमाणपत्र राष्ट्रपतिसमक्ष पेस गर्छन्। लगत्तै अर्काे पत्र पनि उनी राष्ट्रपतिलाई हस्तान्तरण गर्छन्। यो दोस्रो पत्र पूर्ववर्ती (यसअघिका) राजदूतलाई आफ्नो राष्ट्राध्यक्षले फिर्ता बोलाइसकेको ‘जानकारी–पत्र’ हो। 

लगत्तै राष्ट्रपतिसँग राजदूत र उनको टोलीको फोटो सेसन हुन्छ, फोटो सेसनपछि उपस्थित अन्य विशिष्ट व्यक्तिहरूसँगै राजदूत र दूतावासका अधिकारीहरूको पालैपालो परिचय हुन्छ। यो सँगै समारोह हलभित्र ओहोदाको प्रमाणपत्र बुझाउने औपचारिक समारोह समापन हुन्छ।

समारोह सम्पन्न भएसँगै चिफ अफ प्रोटोकलले राजदूतलाई समारोह कक्षको ढोकासम्म ल्याएर औपचारिक बिदाइ गर्छन्।  

तर, राष्ट्रपति भवनभित्रका दुई प्रक्रिया अझै बाँकी छन्। ती हुन्– आगन्तुक पुस्तिकामा हस्ताक्षर र राजदूतलाई नेपालले सम्मानपूर्वक दिने सलामी अर्थात् ‘गार्ड अफ अनर’।  

‘समारोह कक्षको ढोकामा आगन्तुक पुस्तिका (भिजिटर्स बुक) राखिएको हुन्छ, ओहोदाको प्रमाणपत्र पेस गरेर फर्केपछि राजदूतले आगन्तुक पुस्तिकामा संक्षिप्त टिप्पणी लेख्छन्,’ प्रोटोकल डिभिजनका एक अधिकारीले भने, ‘त्यसो त राजदूतहरूले समारोह कक्षमा प्रवेश गर्नुअघि पनि टिप्पणी लेख्न सक्छन्। ओहोदाको प्रमाणपत्र बुझाएर फर्कंदा त्यहाँ हस्ताक्षर मात्र गरेर फर्कंदा हुन्छ।’   

आगन्तुक पुस्तिकामा राजदूतहरूले अक्सर ओहोदाको प्रमाणपत्र पेस, राष्ट्रपतिसँगको भलाकुसरी, काठमाडौँ आएपछि नेपालबारे राजदूतका अनुभूति जस्ता विषय लेखेका हुन्छन्। बिहीबारको समारोहपछि राजदूतहरूले लेखेका टिप्पणी यसकारण अब महत्त्वपूर्ण बनेका छन् कि, २४ भदौको आगजनीमा परेकाले पुराना ‘आगन्तुक पुस्तिका’ राष्ट्रपति कार्यालयमा छैनन्।

‘गार्ड अफ अनर’ चाहिँ भवनबाट बाहिर निस्किएलगत्तै राष्ट्रपति भवनको प्राङ्गणमा हुन्छ। नेपाली सेनाको एउटा टुकडीले राइफल उठाएर सांगीतिक धुनसहित राजदूतलाई सलामी प्रदान गर्छ। सलामीका क्रममा राजदूत सबैभन्दा अगाडि उभिएका हुन्छन् भने उनका पति/पत्नीसहित दूतावासका कर्मचारीहरू राजदूत पछिल्तिर रहन्छन्। त्यसपछि सेना–प्रहरीको सुरक्षामा उनी अघि प्रस्थान गरेको होटलमा फर्कन्छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्दै नेपालका लागि म्यानमारका राजदूत उ थान्त सिन (राष्ट्रपति कार्यालय)

विसं २०५० को मध्यताका परराष्ट्र मन्त्रालयबाट अवकाश पाएका पूर्व शिष्टाचार महापाल खनालका भनाइमा गणतन्त्र र त्यसअघि ओहोदाको प्रमाणपत्र बुझाइने समारोह र प्रचलनमा त्यति धेरै अन्तर देखिँदैन। 

‘एउटा अन्तर चिफ अफ प्रोटोकलको भूमिकामा देखिन्छ। राजतन्त्रकालमा बग्गी चढेका राजदूतलाई चिफ अफ प्रोटोकलले नारायणहिटी दरबार प्रवेश गर्ने सिँढी अगाडिसम्म पुर्‍याइदिन्थे, त्यसपछि राजप्रासाद सेवाका प्रमुख समारोह प्रबन्धकले राजदूतलाई समारोह कक्षसम्म पुर्‍याउँथे र राजदूतको परिचय गराउँथे,’ खनाल भन्छन्, ‘ओहोदाको प्रमाणपत्र बुझाएपछि राजाले राजदूतको रुमालमा अत्तर पनि छर्किदिन्थे। गणतन्त्रमा रुमालमा अत्तर छर्कने प्रचलन हटेको छ।’ 

फ्रान्सका लागि पूर्व नेपाली राजदूत (२०७५–७९) दीपक अधिकारी राजदूतको कार्यभार सम्हाल्न फ्रान्स प्रस्थान गर्नुअघि परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) को जिम्मेवारीमा थिए। उनको कार्यकालमा ५ दर्जन बढी राजदूतहरूले तत्कालीन राष्ट्रपति विद्या भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेस गरे। राजतन्त्रकालमा उनी परराष्ट्र मन्त्रालयमा शिष्टाचार अधिकृत (प्रोटोकल अफिसर) पनि थिए। यस हिसाबले उनीसँग यस्ता थुप्रै समारोहहरूको अनुभव छ।   

राजतन्त्रकालमा ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजाले राजदूतको हाते रुमालमा अत्तर राखिदिएको दृश्य अधिकारीलाई अहिले पनि विशिष्ट लाग्छ। 

‘ओहोदाको प्रमाणपत्र बुझाउन आउँदा राजदूतलाई एउटा छुट्टै हाते रुमाल ल्याउन भनिन्थ्यो, ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूतले त्यो रुमाल दुवै हत्केलामा फराकिलो पारेर फिजाउँथे,’ अधिकारी भन्छन्, ‘त्यसपछि नजिकै रहेका दरबारका कर्मचारी किस्तीमा राखिएको अत्तर बोकेर नजिकै पुग्थे। राजाले सुइरोमा बेरिएको कपास अत्तरको भाँडोमा डुबाउँथे र राजदूतको हातमा फिँजाइएको रुमालमा छर्किदिन्थे।’ 

राजदूतहरूलाई राष्ट्रपति निवास पुर्‍याएर फर्किएको बग्गी लाजिम्पाट क्षेत्रमा

अधिकारीले थपे, ‘दुई मुलुकबीचको सम्बन्ध चिरकालसम्म सुगन्धित रहोस् भनेर राजाले राजदूतको रुमालमा अत्तर छर्किदिएका रे!’ 

दुई मुलुकबीचको सम्बन्धलाई सुगन्धित बनाउने उद्देश्यले सिञ्चन गरिएको रुमाल कतिपय राजदूतहरूले सायद ‘चिनो’का रूपमा अझै सुरक्षित राखेका होलान्।

बेलायती राजा–महारानीहरूले ओहोदाको प्रमाणपत्र बुझाउने राजदूतको रुमालमा अत्तर छर्किदिन्थे। जानकारहरूका भनाइमा बेलायती राजतन्त्रलाई आफ्नो ‘रोलमोडल’ मान्ने नेपालका राजाहरूले त्यही प्रचलनलाई सुरुदेखि अन्तिमसम्म यहाँ निरन्तरता दिएका थिए। गणतन्त्रपछिका समारोहमा राष्ट्राध्यक्षले राजदूतको रुमालमा अत्तर छर्किदिने प्रचलन हट्यो।  

यीबाहेक अन्य केही प्रचलनलाई अहिले निरन्तरता दिएको देखिँदैन। तर, नेपाल आएका प्रथम बेलायती राजदूत (रेजिडेन्ट) का पालादेखि सुरु गरिएको बग्गीमा सवार गराएर ओहोदाको प्रमाणपत्र बुझाउन लैजाने चलन भने अहिले पनि छँदैछ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad