पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली राजनीतिको चरित्र चित्रण गर्दा बारम्बार दोहोर्याउने एउटा ‘क्लासिकल’ सूत्र हो– ‘नेपालको सत्ता–समीकरणमा खस–आर्य, आदिवासी जनजाति र मधेसी–थारू क्लस्टरको त्रिवेणी नमिलाई सुखै छैन।’ उनको भनाइ छ– यो देशको बनावट नै यस्तो छ कि यी तीनै समुदायको भावनात्मक र संरचनात्मक अपनत्वबिना सिंहदरबारको कुर्सी सधैँ धरमर गरिरहन्छ।
अहिले समयको चक्रले फेरि त्यही सूत्रलाई नयाँ कलेवरमा, नयाँ पात्रहरूसहित उभ्याइदिएको छ। रवि लामिछाने (खस–आर्य), कुलमान घिसिङ (जनजाति) र बालेन शाह (मधेसी मूल) को एकताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र डा भट्टराईले भन्ने गरेको त्यही ‘पूर्ण कदको नेपाल’ झल्किने चित्र कोरिन थालेको छ।
काठमाडौंको ‘कोर–सिटी’ मा लौरो टेकेर सत्ताको पुरानो जग हल्लाइरहेका बालेन्द्र शाह (बालेन) को चर्चा अब महानगरको मेयरमा मात्र सीमित छैन। रास्वपाले उनलाई आगामी निर्वाचनमा ‘भावी प्रधानमन्त्री’का रूपमा ‘प्रोजेक्ट’ गरेसँगै नेपाली राजनीतिको रङ्गमञ्चमा नयाँ तरङ्ग पैदा भएको छ। तर, बालेनलाई सिंहदरबारको मूल ढोकाबाट भित्र छिराउन काठमाडौंको ‘क्रेज’ र सामाजिक सञ्जालको ‘वाहवाही’ मात्र पर्याप्त छैन, त्यसको निर्णायक साँचो र सबैभन्दा कठिन परीक्षा मधेसको समथर भूमिमा लुकेको छ।
राजनीतिमा भावनाले माहोल तताउन सकिन्छ, तर चुनाव जित्न अंकगणित नै चाहिन्छ, जुन असाध्यै निर्मम हुन्छ। बालेनको सिंहदरबार यात्राको सबैभन्दा ठूलो अवसर र तगारो दुवै मधेस नै हो।
किनभने, राष्ट्रिय जनगणना २०७८ अनुसार ६१ लाखभन्दा बढी जनसंख्या ओगटेको मधेस प्रदेश फगत एउटा भूगोल मात्र होइन, यो काठमाडौँको सिंहदरबार छिर्ने सबैभन्दा फराकिलो र रणनीतिक राजमार्ग हो। विगतको इतिहास पल्टाउने हो भने मधेसको विश्वास नजिती वा मधेसलाई बाइपास गरेर कोही पनि राष्ट्रिय राजनीतिमा दीर्घकालीन रूपमा बलियोसँग स्थापित हुन सकेको छैन।
बालेनका लागि सिंहदरबारको यात्रा तय गर्न मधेस प्रदेशको मत ‘किङमेकर’ साबित हुने देखिन्छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार देशभर करिब १ करोड ८९ लाख मतदाता रहेकामा मधेस प्रदेशमा झण्डै २९ लाख मतदाता छन्, जुन कुल मतदाताको करिब १५ प्रतिशत हो। प्रत्यक्षतर्फ १६५ सिटमध्ये मधेसमा ३२ अर्थात् करिब १९ प्रतिशत सिट छन्।
समानुपातिकतर्फ ११० सिट देशव्यापी मतका आधारमा बाँडिने भएकाले मधेसको मत प्रतिशतले राष्ट्रिय सिट समीकरणमा प्रत्यक्ष असर पार्नेछ। २०७९ को निर्वाचनमा मधेसका ३२ प्रत्यक्ष सिटमध्ये एमाले ९ र कांग्रेस ८ सिटसहित अग्रस्थानमा थिए भने मधेसकेन्द्रित दलहरू—जनमत, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी—तेस्रो समूहका रूपमा उभिएका थिए। समानुपातिक मतमा पनि मधेसबाट कांग्रेस पहिलो, एमाले दोस्रो र मधेशकेन्द्रित दलहरू तेस्रो स्थानमा रहे।
ठूलो मतदाता संख्या, धेरै प्रत्यक्ष सिट र समानुपातिक परिणाममा निर्णायक भूमिका भएकाले फागुनमा हुने चुनावमा बालेनका लागि मधेसको मत महत्त्वपूर्ण छ। मधेसको मतले सरकार निर्माणदेखि संसद्को शक्ति सन्तुलनसम्म निर्णायक असर पार्ने देखिन्छ।
तर, रास्वपाका लागि विडम्बना के रह्यो भने– २०७९ को आम निर्वाचनमा ‘घण्टी’ को ध्वनिले पहाड र सहर गुञ्जिँदा मधेस शान्त रह्यो। उपनिर्वाचनमा चितवन र तनहुँमा रवाफ जमाएको रास्वपाले बारा–२ मा नमिठो हार (जमानत जफत) ब्यहोर्नुपर्यो। त्यो पराजय रास्वपाका लागि एउटा ठूलो ‘वेक अप कल’ थियो। अहिले कतिपयलाई लाग्छ, रास्वपा नेतृत्वले बल्ल बुझ्यो– पहाडको सेन्टिमेन्टले मात्र बहुमतको सरकार बन्दैन र बालेन जस्तो ‘मधेसी मूल’को अनुहार अघि नसारी मधेसको ढोका खुल्दैन।
त्यसैले त, रास्वपाले आफ्नो रणनीतिमा ‘यू–टर्न’ लिँदै महोत्तरीको जलेश्वरमा ऐतिहासिक बैठक डाक्यो। सभापति रवि लामिछाने मधेसका धुलाम्मे सडक पार गर्दै गौरको मञ्चमा पुगे। त्यहाँ उनले भावुक हुँदै दाबी गरेका थिए, ‘जग्गाजमिन र घर बिक्री भयो भने फेरि किन्न सकिन्छ, तर इमान बिक्री भयो भने कहिल्यै फिर्ता आउँदैन। मसँग केही छैन, एउटा इमान बोकेर मधेस झरेको छु।’
उनले मधेसलाई ‘भोट बैंक’ मात्र ठान्ने र मधेसका नाममा लुट्ने प्रवृत्तिमाथि प्रहार त गरे, तर त्यो भाषण भोटमा बदलिन्छ कि बदलिँदैन भन्ने परीक्षा बाँकी नै छ। यही परीक्षा उत्तीर्ण गर्न अहिले ‘बालेन–अस्त्र’ तयार पारिँदैछ।
रास्वपाको यो महत्त्वाकांक्षी दौडमा एउटा ठूलो विरोधाभास र प्रश्न एकसाथ उभिएको छ। विरोधाभास के भने– जसको नसामा मधेसको रगत (पुर्ख्यौली घर महोत्तरी, एकडारा) बगेको छ, उसको राजनीतिक कर्मभूमि र उदयको आधार भने पहाड (काठमाडौं) बनेको छ।
र प्रश्न अझ पेचिलो छ– के काठमाडौंमा बालेनले देखाएको ‘एक्सन ओरिएन्टेड’ जादुले मधेसको संवेदनशील मनोविज्ञानलाई पनि लोभ्याउन सक्ला? काठमाडौंको मेयरका रूपमा डोजर चलाएर वा ‘र्याप’ गाएर जति ताली पाइन्छ, मधेसको ‘ग्राउन्ड रियालिटी’ अलि फरक छ। त्यहाँ भाषा, संस्कृति, रङ र स्वाभिमानका मसिना तर बलिया त्यान्द्राहरू छन्। बालेनले आफूलाई ‘नेपाली राष्ट्रवादी’ वा ‘विकासप्रेमी’ मात्र देखाएर पुग्दैन, आफ्नो नसामा बगेको मधेसी रगतको अपनत्व पनि त्यहाँका जनतालाई महसुस गराउन सक्नुपर्छ।
के बालेन मधेसका लागि ‘आफ्नो छोरो’ बन्न सक्लान्? अघिल्लो चुनावमा रास्वपा बढारिएको मधेसको जमिनमा बालेनको अनुहारले भोटको वर्षा गराउन सक्छ?

बदलिँदो लेन्स : ‘पहिचान’ भर्सेस ‘जेन्जी आन्दोलन’
दशकौँदेखि मधेसको राजनीतिलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक तुलानारायण साहको तर्कलाई आधार मान्ने हो भने अब मधेसलाई परम्परागत पहाड र मधेसको लेन्सले हेरेर पुग्दैन। साहको सिधा सुझाव छ– ‘लेन्स फराकिलो बनाउनुस्।’
विश्लेषक साहको बुझाइमा नेपाली राजनीति र समाज अहिले दुई कालखण्डमा विभाजित छ– जेन्जी आन्दोलनअघि र जेन्जी आन्दोलनपछि।
विगतमा चुनावको ध्रुवीकरण ‘लेफ्ट भर्सेस डेमोक्य्राट’ वा मधेसमा ‘मधेसी पार्टी भर्सेस अरु पार्टी’ को रूपमा हुन्थ्यो। तर, अहिले समयको सुई घुमिसकेको छ। साह भन्छन्, ‘अहिले मधेसी समाजमा पनि अरु पार्टी भर्सेस मधेसी पार्टीको ध्रुवीकरण छैन। अहिलेको लडाइँ ‘नयाँ पार्टी भर्सेस पुरानो पार्टी’ बीचको हो।’
उनका अनुसार कांग्रेस, एमाले र माओवादी जस्तै मधेस राजनीतिलाई दशकौँदेखि ‘ठेक्का’ लिएर बसेका जसपा र लोसपाहरू पनि अब जनताको नजरमा ‘पुराना पार्टी’ भइसकेका छन्। जनताले यी सबैलाई एउटै डालोमा राखेर हेर्न थालेका छन्। यो बदलिएको मनोविज्ञानमा बालेन ‘फिट’ हुन सक्छन्।

एजेन्डामा ‘फिट’ बालेन
भर्खरै सप्तरीको भारदह, कञ्चनपुर, फत्तेपुरदेखि विराटनगर र राजविराजसम्मको स्थलगत भ्रमण गरेर फर्किएका साहले मधेसको भुइँमान्छेमा बालेनप्रति अनौठो आकर्षण पाए। बालेनले आफूलाई कहिल्यै ‘मधेसी’ वा ‘पहाडी’ भनेर चिनाएनन्, न त मधेसले उनलाई त्यो संकीर्ण आँखाले हेर्यो।
साहका अनुसार मधेसका गाउँ–गाउँमा बालेन लोकप्रिय हुनुका मुख्य दुई कारण छन्, जसले रास्वपाको मिसनलाई सघाउन सक्छ :
१. भ्रष्टाचार नगर्ने छवि : आम मानिसमा बालेन स्वच्छ छन्, भ्रष्टाचार गर्दैनन् र काम मात्र गर्छन् भन्ने बलियो विश्वास छ। मधेसमा व्याप्त भ्रष्टाचारबाट वाक्क भएका जनताले बालेनमा एउटा आशाको किरण देखेका छन्।
२. छात्रवृत्तिको प्रभाव : यो निकै रोचक र भावनात्मक पक्ष छ। काठमाडौं महानगरले कडाइका साथ लागू गराएको छात्रवृत्ति मधेसको कुनाकाप्चासम्म पुगेको छ।
‘यत्रा मन्त्री र मेयर भए, हाम्रो लागि कसैले हेरेनन्। तर बालेनले काठमाडौंमा मेरो भान्जा, भतिजी वा छोरीलाई छात्रवृत्ति दिलायो, गरिबले पनि ठूला कलेजमा पढ्न पायो’ भन्ने सन्देश मधेसको ग्रासरुटसम्म पुगेको साह बताउँछन्।
यिनै कारणले मधेसले बालेनलाई कुनै भूगोल वा जातको नेता होइन, ‘काम गर्न सक्ने नेता’ को रूपमा हेरिरहेको छ। मधेसमा ‘नयाँ भर्सेस पुरानो’को मनोविज्ञान कति गहिरो छ भन्ने बुझाउन साह कुलमान घिसिङको उदाहरण दिन्छन्। एउटा गाउँमा १० वर्षदेखि नबनेको बाटो कुलमानले ठेक्का रद्द गरेर अर्कोलाई दिएपछि दुई महिनामै बन्यो। त्यहाँका स्थानीयले साहलाई भनेछन्– ‘पुरानो र नयाँ सरकारमा यही फरक हो।’
अहिलेको जेन्जी आन्दोलनको एजेन्डा नै ‘भ्रष्टाचार नियन्त्रण’, ‘छरितो सेवा प्रवाह’ र ‘पुस्तान्तरण’ हो। संयोगले यी तिनै एजेन्डा बालेनमा ‘फिट’ भएको देख्छन् आम मतदाता। साहको निष्कर्ष छ– ‘मधेसमा सिर्जना भएको रिक्तता अब राष्ट्रिय स्तरमा उदाएको रास्वपा र मधेसमा उदाएको ‘जनमत पार्टी’ ले भर्ने सम्भावना प्रबल छ।’

‘कोल्डवेभ’ र काठमाडौँ डोजर–आतंक
तर, सिक्काको अर्को पाटो पनि छ। सामाजिक सञ्जालको लोकप्रियता र काठमाडौंको तालीले मात्र मधेसको भोट बाकस भरिँदैन। मधेस मामिलाका अर्का जानकार एवं वरिष्ठ पत्रकार चन्द्रकिशोरको विश्लेषण अलि फरक र सचेत गराउने खालको छ।
मधेसको अहिलेको मनोदशालाई बडो मार्मिक र विम्बात्मक शैलीमा चित्रण गर्दै चन्द्रकिशोर भन्छन्, ‘अहिले मधेसमा कसैको पनि ‘वेभ’ (लहर) छैन, छ त केवल ‘कोल्डवेभ’ (शीतलहर)।’
चन्द्रकिशोरको यो भनाइमा मधेसको मौसमी कष्ट र राजनीतिक वितृष्णा दुवै झल्किन्छ। यतिखेर सिंगो मधेस बाक्लो हुस्सु र हाड कँपाउने शीतलहरको चपेटामा छ। आम नागरिकको चिन्ता बिहान–बेलुकाको न्यानो र गुजारो कसरी चलाउने भन्नेमा छ। काठमाडौंको वातानुकूलित कोठाबाट गरिने राजनीतिक घोषणाले शीतलहरमा काँपिरहेको मधेसलाई तताउन सकेको छैन।
‘रास्वपाका प्रवक्ता मनिष झाले बालेनको नागरिकता, बाबुबाजे र पैतृक गाउँ मधेस हो भनेर जति नै प्राविधिक नाता जोडे पनि यतिले मात्र मधेसको मन पग्लिँदैन,’ चन्द्रकिशोर भन्छन्, ‘मधेसमा विमलेन्द्र निधि, रघुवीर महासेठदेखि मात्रिका यादवजस्ता प्रभावशाली नेताहरू ठूला दलमै थिए। तैपनि मधेस किन आन्दोलित भयो? किनभने प्रश्न अनुहारको होइन, अपनत्व र अधिकारको हो।’
उनको स्पष्ट मत छ– बालेनले आफूलाई मधेससँग कसरी ‘कनेक्ट’ गर्छन् र त्यहाँको पीडालाई कसरी सम्बोधन गर्छन् भन्ने ‘रोडम्याप’ नआएसम्म वंशको नाताले मात्र भोट खस्दैन।
रास्वपाले बालेनलाई ‘भावी प्रधानमन्त्री’का रुपमा ‘प्रोजेक्ट’ गर्दैगर्दा चन्द्रकिशोर इतिहासको एउटा निर्मम पाठ सम्झाउँछन्।
‘यो देशमा मधेसी मूलका डा रामवरण यादव राष्ट्रपति बने, परमानन्द झा उपराष्ट्रपति बने। इतिहास हेर्ने हो भने कान्तीवती जस्ता महारानी पनि भइन्,’ उनी प्रश्न गर्छन्, ‘तर पदमा कोही पुग्दैमा मधेसको कायाकल्प भयो त? भएन। कायाकल्प त भिजन, प्रक्रिया र प्रणालीले हुने हो, व्यक्तिले मात्र होइन।’
त्यति मात्र होइन, चन्द्रकिशोरले बालेनको काठमाडौं–कार्यकालको एउटा संवेदनशील पाटोतर्फ पनि संकेत गरे, जसले मधेसमा संशय पैदा गर्न सक्छ। काठमाडौंमा सडक व्यापारी, रिक्सा चालक र सुकुम्बासीलाई हटाउँदा बालेनको छवि कतिपयको नजरमा ‘गरिबमारा’ को बनेको छ। ती हटाइएका भुइँमान्छेहरूमा मधेसी मूलका नागरिकको संख्या ठूलो थियो।
‘हिजो काठमाडौंको भूगोलमा ती श्रमजीवी वर्ग अटाएनन्। अब बन्ने बालेनको ‘नयाँ नेपाल’ को नक्सामा ती वर्ग कसरी अटाउँछन्?’ चन्द्रकिशोरको यो प्रश्नले बालेनको आगामी राजनीतिको अग्निपरीक्षा लिनेछ।

तीन चुनौती
बालेन मधेस झर्दै गर्दा उनलाई पर्खिरहेको अर्को ठूलो चुनौती हो– संगठन र राजनीतिक लिगेसी। अर्का राजनीतिक विश्लेषक रोशन जनकपुरीको विश्लेषणमा बालेनसँग मधेसको ‘वंश’ (बुवाको पुख्र्यौली घर) को नाता त छ, तर राजनीतिक ‘लिगेसी’ छैन।
‘वंशको नाताले मात्र पुग्दैन,’ उनी भन्छन्, ‘मधेसमा बालेनको बुवा मधेसी थिए भन्ने बाहेक अरु कुनै राजनीतिक लिगेसी छैन। उनले कहिल्यै आफूलाई ‘मधेसी’का रूपमा चिनाएका छैनन्। बरु उनी आफूलाई ‘राष्ट्रिय नेता’ कै रूपमा चिनाउन चाहन्छन्।’
जनकपुरीको नजरमा बालेन मधेसमा झर्दै गर्दा उनले तीनवटा मुख्य चुनौतीको सामना गर्नुपर्नेछ :
१. पहिचानको मुद्दा : मधेसको राजनीति पहिचानको जगमा उभिएको छ। तर बालेन र रास्वपाको ‘न्यारेटिभ’ले मधेसको त्यो भावनालाई कसरी सम्बोधन गर्छ? के उनी संघीयता र समावेशिताको पक्षमा खुलेर बोल्न तयार छन्?
२. संगठनको अभाव : चुनाव जित्न लहर मात्र भएर हुँदैन, त्यसलाई भोटमा बदल्न संगठन चाहिन्छ। जनकपुरी एउटा सान्दर्भिक उदाहरण दिन्छन्, ‘माओवादी शान्ति प्रक्रियामा आउँदा देशैभरि उसको ठूलो लहर थियो, तर संविधानसभामा उसले १२० सिट जित्दा पनि १२१ (बहुमत) पुर्याउन सकेन। किन? किनकि उसको सङ्गठनात्मक ढाँचा कांग्रेस–एमाले भन्दा कमजोर थियो।’ अहिले मधेसमा रास्वपा र बालेनको संगठन शून्यप्रायः छ।
३. पुराना दलको जरा : मधेसी दलहरूको आफ्नै ऐतिहासिक लिगेसी छ भने कांग्रेस, एमाले र माओवादीको पनि गाउँ–गाउँमा जरा फैलिएको छ। बालेनको ‘सेलेब्रिटी इमेज’ले मात्र त्यो जरा उखेल्न सजिलो छैन।
जनकपुरी अर्को जोखिम पनि देख्छन्। बालेनलाई ‘मधेसी’ भनेर अत्याधिक ‘ब्रान्डिङ’ गर्दा रास्वपाले पहाडको परम्परागत ‘कन्जरभेटिभ’ भोट बैंक गुमाउन सक्ने खतरा पनि छ।
‘भावी प्रधानमन्त्रीका रुपमा उभ्याइएका बालेनलाई मधेसी भनेर चिनाउँदा रास्वपालाई पहाडमा घाटा हुन सक्छ, यो पनि एउटा रणनीतिक चुनौती हो,’ जनकपुरीको विश्लेषण छ।

रास्वपाको ‘मास्टर स्ट्रोक’
यद्यपि, जतिसुकै चुनौती भए पनि रास्वपा यो जोखिम मोल्न तयार देखिन्छ। अघिल्लो चुनावमा मधेसमा सबैभन्दा कमजोर देखिएको रास्वपा अब बालेनलाई नै ‘ट्रम्प कार्ड’ बनाएर मधेस पस्ने दाउमा छ।
रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए– बालेन अब छिट्टै मधेस झर्दैछन्।
‘हाम्रा तीन जना शीर्ष फिगर– रवि, बालेन र कुलमान सात वटै प्रदेशको राजधानी जाने तयारी हुँदैछ,’ झाले भने, ‘त्यो यात्राको सुरुवात कहिले र कहाँबाट गर्ने भन्ने चाहिँ टुंगो लाग्न बाँकी छ।’
बालेन अब काठमाडौंको भूगोलबाट बाहिर निस्केर राष्ट्रिय र विशेषगरी मधेसको राजनीतिक मैदानमा उत्रने तयारीमा छन्।
‘मधेस अहिले उत्साहित छ। पहिलो पटक कुनै पार्टीले मधेसी मूलको व्यक्तिलाई कार्यकारी प्रमुख (प्रधानमन्त्री) को उम्मेदवार बनाएको छ, यो आफैमा ठूलो सन्देश हो,’ झाले दाबी गरे।
यद्यपि, उनी अहिले नै ‘क्लिन स्विप हुन्छ’ वा ‘यति सिट आउँछ’ भनेर अनुमान गर्नु हतार हुने स्वीकार्छन्।

मधेसको ‘मुड’ नै निर्णायक
नेपाली राजनीतिमा बालेन शाह अहिलेका ‘एक्सन आइकन’ हुन्। मधेसमा एउटा ठूलो तप्का छ, जो परम्परागत पहिचानको राजनीति गर्ने उपेन्द्र यादव र महन्थ ठाकुरहरूबाट थाकिसकेको छ। उनीहरू अब केवल आश्वासन होइन, ‘डेलिभरी’ र ‘सुशासन’ चाहन्छन्।
बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नु रास्वपाको ‘मास्टर स्ट्रोक’ हुन सक्छ। यसले एकातिर रास्वपालाई ‘पहाडी–सहरी पार्टी’को ट्यागबाट मुक्त गराउँछ भने अर्कोतिर मधेसमा एमाले–कांग्रेस र मधेसवादी दलबाट निराश मतदातालाई बलियो विकल्प पनि दिन्छ।
तर, काठमाडौंको वातानुकूलित कोठाबाट कोरिने ‘नयाँ नेपाल’ को नक्सा र हुस्सुले ढाकेको मधेसको ‘ग्राउन्ड रियालिटी’ बीच अझै ठूलो खाडल छ। बालेनले मधेसी भाषा (मैथिली/भोजपुरी) मा संवाद गरेर, त्यहाँको माटो, पसिना र स्वाभिमानसँग अपनत्व जोड्न सक्छन् कि सक्दैनन्?
बालेनको प्रधानमन्त्री बन्ने सपनाको अन्तिम फैसला अब काठमाडौंको ‘बालेन–क्रेज’ले होइन, मधेसको ‘ब्यालेट बक्स’ ले गर्नेछ। मधेसले उनलाई ‘आफ्नो छोरो’ भनेर स्वीकार्छ वा ‘काठमाडौंको पाहुना’ मात्र ठान्छ– चुनावको नतिजा यसैमा निर्भर हुनेछ।
Shares

प्रतिक्रिया