हङकङमा चिसो ह्वात्तै बढेको छ। शुक्रबार बिहान धेरै क्षेत्रको तापक्रम एकल अंकमा पुग्दा केही स्थानमा २/३ डिग्री सेल्सियससम्म पुगेको छ।
हङकङ अब्जर्भेटरीले बिहान ७ बजे गरेको मापनमा न्यु टेरिटोरिजको ताक्वु लिङमा न्युनतम तापक्रम २ डिग्री मापन भयो भने सेङसुई नजिकैको ताईलुङमा ३.८ डिग्री रेकर्ड गरिएको छ।
कम तापक्रम भएका अन्य क्षेत्रमा पाकताम चुङ ४.१ डिग्री, सेककोङ ५.५ डिग्री, ताइमो सान ६.२ डिग्री, टेट्स केर्न ६.९ डिग्री, युनलङ ७.१ डिग्री, ह्याप्पी भ्याली र वोङचुक हाङ ९.१ डिग्री र द पिकको तापक्रम ९.६ डिग्री सेल्सियस रहेको छ।
यसैबीच अब्जर्भेटरीले बिहान ६ बजे चिसो मौसम चेतावनी समेत जारी गरेको थियो, जुन ११ बजे रद्द गरियो। अर्कोतर्फ रातो आगो खतराको चेतावनी भने अझैसम्म लागु छ। यसले अत्यधिक आगलागीको जोखिमलाई संकेत गर्दछ। पूर्वानुमानकर्ताले भनेका छन्- सापेक्षिक आर्द्रता २५ प्रतिशतसम्म घट्न सक्छ, जसले गर्दा धेरै सुक्खा मौसम आउनेछ।
यसका अलावा, चिसो मौसमसँगै फ्लुको मौसम पनि नजिकिएकोले खोप नलगाएकाहरूलाई सकेजति चाँडो खोप लगाउन स्वास्थ्यविज्ञहरूले आग्रह गरेका छन्। तापक्रम परिवर्तन हुँदै गएकोले अरू बेला भन्दा जाडो फ्लुको मौसम चाँडो आउन सक्ने उनीहरूको आँकलन छ।
Shares

प्रतिक्रिया