विचार


विद्यालय शिक्षामा रूपान्तरणकारी नेतृत्व : अनिश्चित र जटिल संसारको परिवर्तनकारी दृष्टिकोण

शिक्षकलाई माथिबाट आदेश आउँछ– नयाँ विधि लागु गर्नू, तल न तालिम न मार्गदर्शन
विद्यालय शिक्षामा रूपान्तरणकारी नेतृत्व  : अनिश्चित र जटिल संसारको परिवर्तनकारी दृष्टिकोण

मेदिनबहादुर लामिछाने
पुस २५, २०८२ शुक्रबार १०:५८, काठमाडौँ

आजको परिवर्तनशील युग दबाबहरूको बीचमा अघि बढिरहेको छ। यस्तो दबाबले समाज, विद्यालय र शिक्षा क्षेत्रमा अस्थिरता, जटिलता, अनिश्चितता, अस्पष्टता जस्ता बहुआयामिक अवस्था सिर्जना गरेको छ। यस्तो अवस्थाबाट गुज्रिएको विद्यालय र शिक्षा क्षेत्रलाई व्यवस्थापन, निर्देशन र कार्य–वितरणमा केन्द्रित पुरानो नेतृत्व शैलीले अघि बढाउन सक्दैन। परम्परागत नेतृत्व शैली स्थिर परिवेशमा मात्र प्रभावकारी हुन्छ। 

विषम यथार्थताले भरिएको अवस्थालाई पार लगाउन उन्नत सोच, साझा दृष्टि र मूल्यमा आधारित निर्णय तथा व्यक्तिलाई आन्तरिक रूपमा परिवर्तन गर्न प्रेरित गर्ने नेतृत्व आवश्यक पर्छ। त्यस्तो नेतृत्व भनेको रूपान्तरणकारी नेतृत्व नै हो। रूपान्तरणकारी नेतृत्व व्यक्तिगत तथा संगठनात्मक दुवै तहमा देखिने परिवर्तन ल्याउन सक्ने क्षमता भएको  नेतृत्वशैली हो।

यसले केवल आदेश–निर्देशनमा केन्द्रित नभई सबै सरोकारावालामा सामूहिक उद्देश्यको भावना विकास गराउँछ। रूपान्तरणकारी नेतृत्वले नवप्रवर्तन  र सृजनात्मकतालाई प्रोत्साहित गर्दै संगठनलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने आधार निर्माण गर्न सहयोग गर्छ। यस्तो नेतृत्वमार्फत व्यक्तिहरूले आफूलाई मात्र होइन, आफ्नो संस्था र समाजलाई पनि सकारात्मक दिशा निर्देश गर्छन्।

रूपान्तरणकारी नेतृत्वलाई व्यवहारमा उतार्न यसका आधारहरू बुझ्नु जरूरी हुन्छ। यिनै आधारको बुझाइले शिक्षा क्षेत्रमा रूपान्तरणकारी नेतृत्वको प्रयोग र अभ्यास गर्न सकिन्छ। आदर्श प्रभाव, प्रेरणादायी उत्प्रेरणा, बौद्धिक उत्तेजना र व्यक्तिगत हेरचाह रूपान्तरणकारी नेतृत्वका आधार हुन्।

व्यक्तिगत जीवन र संस्थामा रोल मोडलको भूमिका निर्वाह गर्ने, नैतिक, जिम्मेवार र पारदर्शी भूमिका निर्वाह गर्ने कार्यले जीवन र कार्य क्षेत्रमा आदर्श प्रभाव पार्छ। यसको लागि नेतृत्वकर्ताले अपेक्षा गरेको व्यवहार पहिला आफैले पुष्टि गर्नु पर्छ अनि मात्र सही रूपमा त्यसले प्रभाव पार्छ।

नेतृत्वकर्ताले स्पष्ट र साझा दृष्टि प्रस्तुत गरेर शिक्षक, विद्यार्थी र समुदायलाई उत्साहित एवं प्रेरित गर्ने कुरा प्रेरणादायी उत्प्रेरणा हो। विद्यालयका नेतृत्वकर्ताले ‘तीन वर्षभित्र आफ्नो विद्यालयलाई बालमैत्री सिकाइ र डिजिटल प्रयोगशाला सहितको आदर्श विद्यालय’ बनाउने स्पष्ट दृष्टि घोषणा गरे भने उनीहरूले सबै शिक्षकसँग छलफल गरेर हरेक कक्षामा आईसीटीको प्रयोग, बालमैत्री अनुशासन र परियोजनामा आधारित सिकाइ लागु गर्ने योजना बनाउँछन्।

अभिभावकलाई विद्यालयमा बोलाएर सुधार अभियानमा उनीहरूको भूमिका स्पष्ट गर्छन्। शिक्षण–सिकाइका परम्परागत अभ्यासलाई प्रश्न गर्ने र नयाँ तरिका खोज्ने संस्कार निर्माणसँग बौद्धिक उत्तेजना जोडिन्छ। नेपालका धेरै विद्यालयमा हाल प्रयोग हुँदै आएको परियोजना–आधारित सिकाइ, स्टिम शिक्षा, ट्रान्स डिस्सिप्लिनरी पाठ्यक्रम आदि यसका उदाहरण हुन्।

प्रत्येक शिक्षक र विद्यार्थीको क्षमता, आवश्यकता र सन्दर्भ बुझेर उनीहरूको आवश्यकतालाई सम्बोधन गर्ने कुरा व्यक्तिगत हेरचाह हुन्। नेतृत्वकर्ताले नयाँ शिक्षकलाई सहकर्मी–मेन्टरिङ कार्यक्रममार्फत सहयोग गर्ने वा सिकाइमा पछि परेका विद्यार्थीका लागि व्यक्तिगत सहयोग कक्षा सञ्चालन गर्ने अभ्यास व्यक्तिगत हेरचाहका व्यावहारिक रूप हुन। रूपान्तरणकारी नेतृत्वका यी आधारलाई व्यवहारमा उतार्न सकियो भने शिक्षा प्रणाली समावेशी, प्रेरणादायी र प्रभावकारी बनाउन सकिन्छ।

धेरै विद्यालय अहिले पनि निश्चित, पूर्वनिर्धारित र स्थिर मान्यतामा आधारित रहेर सञ्चालन भइरहेका छन्। विद्यालयभित्र तीन दशकअघि चलेका कुरा आज पनि कायम नै छन्। एउटा कालखण्डमा बनाएर लागु गरेको समय सारिणीले दशकौँपछि पनि काम गरिरहेको छ। शिक्षाकै कुरा गर्दा पनि पाठ्यक्रम, मूल्याङ्कन, पाठ्यपुस्तक, विषयको प्रस्तुति, शिक्षण शैली दशकौँसम्म उस्तै चलिरहेको छ। विद्यार्थी र शिक्षकको नियम, दिनचर्या, परम्परा घडीजस्तै पूर्वनिर्धारित प्रणालीमा चलिरहेको छ। शिक्षाशास्त्रीहरूले यस्तो प्रक्रिया, समय र संसारलाई जायन्ट क्लक वर्ड वा ‘भित्तेघडी संसार’ नाम दिएका छन्।

यस्तो युगमा संसार चल्ने प्रक्रियालाई एउटा विशाल यान्त्रिक घडी जस्तै कल्पना गरिएको छ। सबै कुरा निश्चित र कुमालेको चक्र घुमेझैँ चलिरहेका हुन्छन्। जायन्ट क्लक वर्डमा कुनै नयाँ, अनपेक्षित, आश्चर्यचकित बनाउने घटना हुँदैन। सबै कुरा स्पष्ट र निश्चित हुन्छन्। समय बिते पनि जीवन र क्रियाकलाप परिवर्तन हुँदैनन् भन्ने मान्यताले काम गरेको हुन्छ।

जायन्ट क्लक संसारले परिकल्पना गरेको अवधारणामा विद्यालय र शैक्षिक संस्थाहरू भित्तेघडी जस्तै चल्छन्। ती संस्था कठोर, यान्त्रिक र अनुशासनकेन्द्रित प्रणालीद्वारा सञ्चालित हुन्छन्। जसमा सबै काम भित्तेघडीमा जस्तै कुनै विचलनबिना सधैँ एउटै गति र तरिकाले सम्पन्न हुन्छन्।

शिक्षा क्षेत्रका सबै अङ्ग जस्तै, विद्यालय, विद्यालय प्रशासन, शिक्षक, शिक्षा नीति र विद्यालय व्यवस्थापन निश्चित ढाँचामा बाँधिएका हुन्छन्। वर्षौँसम्म पाठ्यपुस्तक बदलिँदैनन्। शिक्षण विधिमा कुनै नवाचार हुँदैन। विद्यार्थी मूल्यांकन केवल परीक्षामै सीमित हुन्छ। शिक्षकलाई केवल कार्यान्वयनकर्ताको रूपमा सीमित गरिन्छ। समाजमा भइरहेको परिवर्तनलाई कक्षाकोठाभित्रको सिकाइसँगै अघि बढाउने संस्कृतिको अभ्यास गरिँदैन।

‘विद्यालय जसरी चल्दै आएको छ, त्यसरी नै चलाउनु उत्तम हो’ भन्ने सोच हाबी भएको हुन्छ। विद्यालयलाई घडीका सुईझैँ काम गर्ने संरचनामा ढालिन्छ। जहाँ प्रत्येक व्यक्ति, प्रक्रिया, नीति र सम्बन्धले केवल आफ्नो निर्धारित भूमिका मात्र पूरा गर्नुपर्ने बाध्यता हुन्छ। यस्तो युगको विद्यालय प्रणाली पूर्ण रूपमा पूर्वानुमानित, दोहोरिने र परिवर्तनरहित हुन्छ। हाम्रा विद्यालयहरू चलिरहेको अहिलेको अवस्था खासमा यो भन्दा पृथक छैन। त्यसैले पनि विद्यालय शिक्षामा परम्परागत नेतृत्व शैलीले काम गरिरहेको छ।

वर्षौंसम्म उही पाठ्यक्रम, कठोर समयतालिका, ‘घण्टी बज्यो, कक्षामा गयो, किताबमा लेखेको कुरा पढायो, अनि समय सकिएपछि कक्षाबाट निस्कियो, पढाइ सकियो’ सिकाइ संस्कृति, परीक्षा र अंककेन्द्रित मूल्यांकन, शिक्षालाई जीवनसँग जोड्ने न्यून प्रयास जस्ता अभ्यास आज पनि विद्यालय शिक्षामा व्याप्त छ।

यस्तो सिकाइ संस्कृति र अभ्यासले शिक्षकलाई केवल ‘घडी हेरेर काम गर्ने कर्मचारी’मा सीमित गर्छ। विद्यार्थीलाई जिज्ञासु, सृजनशील र स्वतन्त्र सोचवाला व्यक्तिका रूपमा नभई केवल ‘शान्त रूपमा बस्ने र सिकेको कुरा ओकल्ने’ पात्रका रूपमा हेर्छ। यस्तो सिकाइ संस्कृतिमा अनिश्चितता, विविधता वा बदलिँदो सामाजिक संरचनाको कुनै स्थान हुँदैन। विद्यालयहरूले परिवर्तनलाई खतरा, नवप्रवर्तनलाई जोखिम र विद्यार्थी–केन्द्रित सिकाइलाई अराजकता ठान्छन्। यस्तो निश्चित र कठोर संरचना भएको विद्यालयमा जस्तो नेतृत्व भए पनि चल्छ।

विद्यालयको शैक्षिक नेतृत्वले अझै पनि पुरानै ‘अचल’ समयको घडीमा आफूलाई बाँधिराख्ने हो भने शैक्षिक संस्थाहरू एक्काइसौँ शताब्दीका विद्यार्थी, समाज र राष्ट्रको आवश्यकताअनुकूल बन्न सक्दैनन्। एक्काइसौँ शताब्दीका चुनौतीलाई स्थिर, निश्चित, यान्त्रिक, भित्तेघडी–धर्म अनुसार चल्ने नेतृत्वले सम्बोधन गर्न सक्दैनन्।

अहिलेको जटिल, अनिश्चित र अस्पष्ट समयमा बाँच्नको लागि विद्यार्थीसँग डिजिटल कौशल, सृजनशील समस्या समाधान सिप, सहयोग सिप, वैश्विक सोच, विविधताप्रतिको सम्मान, सामाजिक न्याय र अनुकूलनशीलता जस्ता सिप तथा कौशल आवश्यक पर्छ।

पुरानो भित्तेघडी संसारको निश्चित दायराबाट बाहिर निस्केर अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट युगको चेतना, लचिलोपन, नवप्रवर्तन र मानवीय मूल्यलाई अंगीकार गर्ने विद्यालय नेतृत्व तथा सिकाइ संस्कृतिको निर्माण नै आजको मूल आवश्यकता हो। हाम्रा विद्यालय, हामीले विद्यालय चलाउने शैली र विद्यार्थीहरू परिवर्तन भइरहेका छन्। विद्यार्थीको सोच  परिवर्तन भइरहेको छ। यस्तो परिवर्तित समयमा हाम्रो नेतृत्व शैली परिवर्तन भएन भने समय र पुस्ताले हामीलाई पर्खंदैन।

हामीले हाम्रा भावी पुस्ताको जीवनको तयारी गर्न सक्दैनौँ। त्यसैले अब विद्यालय शिक्षामा नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिको नेतृत्व शैली परिवर्तन हुनै पर्छ। द्रुत गतिमा बदलिँदै गरेको संसार र विद्यालयको लागि फरक नेतृत्व शैली भएको विद्यालय नेतृत्व चाहिन्छ। त्यो विद्यालय नेतृत्व भनेको रूपान्तरणकारी नेतृत्व हो।

मानव विकासका धेरै सूचकांक सुधारिए पनि हाम्रो देशका लाखौँ बालबालिका अझै शिक्षा, स्वास्थ्य र समान अवसरबाट वञ्चित छन्। शिक्षालाई सार्वभौमिक अधिकार भनिए पनि अझै लाखौँ परिवारले शुल्क, घर र विद्यालयबीचको दूरी, जातीय/लैंगिक भेदभावका कारण गुणस्तरीय शिक्षा पाउन सकेका छैनन्। नेपालको ग्रामीण क्षेत्रमा बालबालिका अझै यसको सिकार भइरहेका छन्। सहर–ग्रामीण, सरकारी–निजी, अभिजात–सीमान्तकृत समुदायबीच विद्यालयमा भर्ना भएपछि पनि सिकाइ गुणस्तर अत्यन्तै भिन्न पाउँछौँ।

काठमाडौँका निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको स्टिम एजुकेसन, मसिन लर्निङ, एआई र रोबोटिक्स जस्ता विषयमा पहुँच छ भने हिमाली, पहाडी तथा तराई क्षेत्रका अधिकांश विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अझै आधारभूत सामग्रीका लागि संघर्ष गरिरहेका छन्। राज्यले ‘सबैका लागि शिक्षा’, ‘सामाजिक न्याय’, ‘समान अवसर’ जस्ता वाचा नागरिकसमक्ष गरे पनि यी वाचा नीतिमा सीमित छन्, अभ्यासमा छैनन्। शिक्षा प्रणालीले धेरैलाई सपनाको आशा त दिएको छ तर व्यवहारमा ती सपना पूरा नहुने अवस्था अत्यन्तै व्यापक छ।

एक्काइसौँ शताब्दीको दुनिया अस्थिरता, अनिश्चितता, जटिलता र अस्पष्टताले भरिएको छ। शिक्षाशास्त्रीहरूले यस्तो समय र संसारलाई भुका वर्ल्ड नामकरण गरेका छन्। भुका वर्ल्डका यही चार आयामले हाम्रो अहिलेको हरेक संस्था, समुदाय र राष्ट्रलाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित गरिरहेको छ। सामाजिक असमानता गहिरिँदै गएको छ। डिजिटल विभाजन बढ्दो छ। जलवायु संकटले विश्वभरका समुदायलाई प्रभावित गरिरहेको छ। विश्व राजनीतिक–आर्थिक संरचना झन् जटिल बन्दै गएका छन्। यस्तो परिप्रेक्ष्यमा शिक्षा क्षेत्र आशा र अनिश्चितता दुवैका बीच उभिएको छ।

नेपालदेखि अस्ट्रेलिया, अमेरिका, युरोपसम्मका विद्यालय र उच्च शिक्षा प्रदायक संस्थाले समान चुनौती भोगिरहेका छन्। यस्तो परिवेशमा पुरानो प्रशासनिक, आदेश–निर्देशमूलक नेतृत्व पर्याप्त हुँदैन। यस्तो संसारमा पुरानो ढंगको आदेशात्मक, नियन्त्रणमूलक नेतृत्वले काम गर्न सक्दैन। अनिश्चिततालाई अवसरमा रूपान्तरण गर्न सक्ने, जटिलतालाई बुझेर सामना गर्न सक्ने, अस्पष्टताको भुमरीमा पनि दृष्टि र दिशा प्रदान गर्न सक्ने नेतृत्व नै आजको आवश्यकता हो। रूपान्तरणकारी नेतृत्वले मात्र अबको शैक्षिक संस्थाहरू हाँक्न र दिशा निर्देश गर्न सक्छ।

नेपालको सन्दर्भमा भुका संसार अझै जटिल छ। भौगोलिक कठिनाइ, प्रदेश–स्थानीय तहको प्रशासनिक परिवर्तन, डिजिटल पहुँचको खाडल, जनसाङ्ख्यिक विविधता, आर्थिक असमानता र परिवार–समुदायको शिक्षाबारेको दृष्टिकोणले शैक्षिक वातावरणलाई अझ अस्थिर बनाएको छ। सामाजिक मूल्य, प्रविधि, राजनीतिक वातावरण, रोजगार संरचना सबै तीव्र गतिमा परिवर्तन भइरहेको छ। यही अस्थिरताले आर्थिक, सामाजिक र प्रविधिगत परिवर्तनलाई तीव्र र अप्रत्यासित बनाएको छ।

राजनीतिक अस्थिरताले  शिक्षा प्रणालीमा नीति–निर्देशनको निरन्तर उतारचढाव देखा परिरहेको छ। सरकार परिवर्तनसँगै बारम्बार शिक्षाका नीति बदलिनु, कार्यान्वयनस्तरमा स्पष्ट दिशानिर्देशको अभाव र विद्यालयलाई आवश्यक स्रोत, शिक्षक पदपूर्ति तथा प्राविधिक पूर्वाधार नपुग्नु यिनै अस्थिरताका प्रमुख कारण हुन्।

सार्वजनिक र निजी विद्यालयबीचको सिकाइ दूरी अझ फराकिलो भएको छ। संघीय संरचना लागु भएको लामो समय बितिसक्दा पनि स्थानीय तहमा शिक्षासम्बन्धी अधिकार, दायित्व र समन्वयको स्पष्टता नहुँदा निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्। नेपालको शिक्षा प्रणाली अहिले संरचनागत, नीतिगत र व्यवहारगत तीनै तहमा अत्यन्तै अस्थिर अवस्थामा छ। परम्परागत नेतृत्वले यस्तो अस्थिरतालाई सामना गर्न सक्दैन। यसको लागि रूपान्तरणकारी नेतृत्व नै चाहिन्छ।

कोभिड –१९ को महामारीले शैक्षिक प्रणालीलाई रातारात अनलाइनमा धकेल्यो। धेरै विद्यालय–विश्वविद्यालय त्यसका लागि तयार थिएनन्। नेपालमा यस्तो अस्थिरताका प्रभाव कोभिड –१९ महामारीका बेला स्पष्ट देखिए। विद्यालयहरू बन्द हुँदा सहरी र ग्रामीणबीचको डिजिटल विभाजन प्रस्ट देखियो। साधारण र परम्परागत विद्यालय नेतृत्व यसैमा रुमल्लियो। केही अपवादका विद्यालय नेतृत्वले स्थानीय तह, शिक्षक र अभिभावकसँग मिलेर घर–घरमा अभ्यास पुस्तिका वा अभ्यास सिट पुर्‍याउने, रेडियो कक्षा आयोजना गर्ने, मोबाइल वा इन्टरनेट नभएका विद्यार्थीका लागि सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्ने जस्ता नवीन अभ्यास सुरु गरे।

अस्थिरतामा पनि विद्यार्थी–केन्द्रित समाधान खोजेर सिकाइको निरन्तरता सुनिश्चित गरे। रूपान्तरणकारी नेतृत्वको महत्त्व यहीँनेर देखियो। रूपान्तरणकारी नेतृत्वले अस्थिरतालाई अवसरको रूपमा बदल्दै विद्यालयलाई न्यायपूर्ण र सिकाइ–केन्द्रित संस्थामा परिवर्तन गर्छन्। दीर्घकालीन दृष्टि सिर्जना गरेर सबैलाई सहभागी गराई विद्यालयलाई स्थिर र सुरक्षित बनाउँछन्।  

सामाजिक, सांस्कृतिक, भौगोलिक र आर्थिक विविधताका कारण समस्या बहुआयामी हुन्छन्। नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक रूपमा विभाजित देशमा शिक्षा क्षेत्रमा जटिलता गहिरो रूपमा देखिन्छ। विद्यार्थीको सिकाइ उपलब्धिमा परिवारको आर्थिक अवस्था, आमा–बुबाको शिक्षा, समुदायको स्थिरता, डिजिटल पहुँच, भाषा आदिले जटिल प्रभाव पार्छ।

एउटा कक्षामा पाँच–छ भाषा बोल्ने विद्यार्थी हुनु, शिक्षण सामग्री अभाव, अभिभावकको आर्थिक अवस्था कमजोर हुनु, लैंगिक असमानता र बालविवाह–बालश्रम जस्ता सामाजिक समस्याले सिकाइलाई प्रभावित गरिरहेका छन्। यस्ता जटिलतामा रूपान्तरणकारी नेतृत्वले ‘एकै समाधान सबैका लागि’ भन्दा भिन्न, सन्दर्भ–अनुरूप बहुआयामी समाधान खोज्छन्। यस्तो शैक्षिक नेतृत्वले बालबालिकालाई उनीहरूकै मातृभाषामा शिक्षा दिने, सिकाइ क्रियाकलापमा स्थानीय स्रोत र साधन प्रयोग गर्ने, सिकाइलाई विद्यालय, कक्षा, शिक्षक र पाठ्यपुस्तकमा मात्र सीमित नराखी सिकाइलाई समुदाय, अभिभावक र सामाजिक संघ–संस्थासँग जोड्ने परियोजना कार्य बनाई लागु गर्छन्। यसले विद्यार्थीको सिकाइ उपलब्धि र कक्षा सहभागितामा उल्लेखनीय सुधार ल्याउँछ। रूपान्तरणकारी नेतृत्वले जटिल समस्यालाई अवसरमा बदल्दै समुदाय–शिक्षा–संस्कृतिबीच भावनात्मक र शैक्षिक पुल निर्माण गर्छन्।

शिक्षा प्रणालीमा भएको अस्पष्टताले विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई निरन्तर अन्योलमा राख्छ। सार्वजनिक विद्यालयले सिकाइको माध्यम कहिले अंग्रेजी भाषामा गरेको पाइन्छ भने कहिले नेपाली भाषामा गरेको पाइन्छ। निरन्तर मूल्याङ्कन, एकीकृत पाठ्यक्रमलाई प्रयोगमा त ल्याइयो तर जसले यो प्रयोग गर्नु पर्ने हो उनीहरूमा नै यो अवधारणाको बुझाइ राम्रो छैन।

गत दश वर्षको अनुभव हेर्ने हो भने एसईई र एसएलसी परीक्षाको मूल्याङ्कन प्रणाली वर्षैजसो परिवर्तन गरिएको पाइन्छ। विद्यार्थीले ‘कसरी मूल्यांकन हुन्छ?’ थाहा नपाई परीक्षा दिनु पर्छ। यसले विद्यार्थीको समय सिकाइभन्दा बढी प्रणाली बुझ्नमा खर्च गरेको देखिन्छ। अभिभावकको लागि पनि शिक्षा अत्यन्त जटिल अनुभव बनेको छ। कोर्स छनोट, कलेज स्वीकृति, शुल्क संरचना, छात्रवृत्ति, प्रवेश परीक्षा सबै बुझ्नै कठिन भएको छ। धेरै अभिभावक भन्छन्, ‘हामीले भन्दा छोराछोरीले पढेको शिक्षा प्रणाली धेरै अप्ठ्यारो छ।’

विद्यालय, शिक्षा आयोग, प्रदेश, स्थानीय तह सबैतिरका फरक–फरक नियमले शिक्षक नै अन्योलमा छन्। नेपाली शिक्षा प्रणालीको जटिलताले विद्यार्थीलाई असामञ्जस्यमा पारेको छ। अभिभावकलाई तनाव दिएको छ। शिक्षकलाई द्विविधामा राखेको छ। अन्ततः शिक्षा सरल र प्रेरणादायी हुनुपर्ने ठाउँमा भारी र उल्झनपूर्ण बनिरहेको छ। विद्यालय शिक्षाको यस्तो उल्झनपूर्ण अवस्थालाई सम्बोधन गर्ने नेतृत्व पुरातनवादी नेतृत्वले गर्न सक्दैन। यसको लागि फराकिलो सोच र स्पष्ट दृष्टि भएको नवप्रवर्तनलाई प्रेरित गर्ने नेतृत्व आवश्यक पर्छ। यस्तो नेतृत्व रूपान्तरणकारी नेतृत्वबाट मात्र सम्भव छ।

विद्यालयभित्रको जीवनमा पनि प्रशस्त अस्पष्टता छन्। कक्षा ११ र १२ को पाठ्यक्रम कहिले अनिवार्य, कहिले वैकल्पिक, कहिले कार्यान्वयन, कहिले स्थगन। स्पष्ट दिशानिर्देश कहिल्यै हुँदैन। शिक्षकको पीडा पनि यस्तै छ। माथिबाट आदेश आउँछ– ‘नयाँ विधि लागु गर्नु पर्छ।’ तर, न तालिम दिइन्छ, न स्पष्ट मार्गदर्शन।

मोबाइल फोन प्रयोग नीति, अनलाइन कक्षाको मात्रा निर्धारण, विद्यालय सुरक्षाका मापदण्ड, शिक्षकको जिम्मेवारी बाँडफाँट र पाठ्यक्रम लचकतासम्बन्धी मार्गदर्शन प्रायः अस्पष्ट हुन्छ। यस्तो एउटै समस्याको धेरै अर्थ निकाल्न सकिने अवस्थाले विवाद निम्त्याउन सक्छ। अस्पष्टताले शिक्षा प्रणालीमा स्पष्टताभन्दा बढी भ्रम, डर, अनिश्चितता र मानसिक थकान जन्माइरहेको छ। शिक्षा सिकाइ होइन, अनुमानको खेल जस्तै भइरहेको छ। रूपान्तरणकारी नेतृत्वले अस्पष्टलाई संवाद र सहनिर्माणको अवसरका रूपमा हेर्छ। केही विद्यालयले मोबाइल फोनका विषयमा अस्पष्टता हटाउन विद्यार्थी, शिक्षक र अभिभावक सबै सहभागी हुने अन्तरक्रिया कार्यक्रम आयोजना गर्छन्। यसले अस्पष्टतालाई पारदर्शिता, सहभागिता र नैतिक आधारमा रूपान्तरण गर्ने नेतृत्व शैली विकास गर्छ।

समग्रमा भुका संसारमा शैक्षिक नेतृत्व केवल प्रशासनिक जिम्मेवारी मात्र होइन। यो न्याय, समानता, समावेशिता, सहानुभूति र नैतिकता–आधारित परिवर्तनकारी अभ्यास हो। रूपान्तरणकारी नेतृत्वले असमानता पहिचान मात्र गर्दैन, त्यसलाई चुनौती दिँदै विद्यार्थी, शिक्षक, परिवार र समुदायलाई सशक्त बनाउने नयाँ संरचना निर्माण गर्छ। नेपालजस्तो विकासशील देशमा जातीय विभाजन, लैङ्‌गिक असमानता, आर्थिक खाडल, डिजिटल पहुँचको अभाव, बालविवाह, बालश्रम र भौगोलिक कठिनाइ सबै भुका संसारका बहुआयाम हुन्। यी चुनौतीलाई प्रशासनिक नेतृत्वले समाधान गर्न सक्दैन। यसको समाधान भनेकै परिवर्तनलाई सम्भव बनाउने रूपान्तरणकारी नेतृत्व हो। यस्तो नेतृत्वले साहसिक निर्णय, सामूहिक सहभागिता, सांस्कृतिक संवेदनशीलता, विद्यार्थी–केन्द्रित अभ्यास र सामाजिक न्यायका मूल्यलाई केन्द्रमा राखेर शिक्षालाई समान अवसरयुक्त बनाउँछ।

अन्ततः भुका संसारमा परिवर्तनलाई केवल व्यवस्थापन गर्ने होइन, परिवर्तनभित्रै नयाँ सम्भावना सिर्जना गर्ने नेतृत्व अर्थात् रूपान्तरणकारी नेतृत्वको विकास गर्दछ। रूपान्तरणकारी नेतृत्व केवल विद्यालय सञ्चालन गर्ने प्रक्रिया होइन। यो असमानता, अन्याय र विभाजनलाई चुनौती दिने साहसिक राजनीतिक–नैतिक प्रतिबद्धता हो।

रूपान्तरणकारी नेतृत्वले विद्यालयको व्यवस्थापन मात्र गर्दैन। यसले सम्भावनालाई नयाँ दृष्टिबाट हेर्न, संस्थाको उद्देश्यसँग भावनात्मक र नैतिक रूपमा जोडिन तथा सामूहिक रूपान्तरणतर्फ उन्मुख हुने वातावरण तयार गर्छ। यस्तो खालको नेतृत्वले केवल संकट समाधानमा मात्र ध्यान दिँदैन। यसले संस्थाको भविष्य निर्माणमा जोड दिन्छ। तीव्र रूपमा बदलिँदो प्रविधि, अस्थिर राजनीति, सामाजिक विभाजन, असमानताको चक्र आदिले विद्यालय र समग्र शिक्षा क्षेत्रलाई प्रभाव पारेको छ। यी चुनौती सामना गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो। पुरानो नेतृत्व शैलीले संरचना, प्रक्रिया वा भूमिका मात्र प्रदान गर्छन्। रूपान्तरणकारी नेतृत्वले उद्देश्य, अर्थ र पहिचानको पुनःनिर्माणमा जोड दिन्छ। आदेश अनुपालानमा जोड दिँदैन। सबै सरोकारवालाले सामूहिक रूपमा समस्या र उपलब्धिको अपनत्व लिन्छन्। रूपान्तरणकारी नेतृत्वले अनुयायीहरूलाई अनुयायीको भूमिकामा सीमित गर्दैन। उनीहरूलाई सहनिर्माता, दृष्टिकोणको साझेदार र परिवर्तनको अभियन्ता बनाउँछ।

रूपान्तरणकारी नेतृत्वले सामाजिक न्याय र समावेशिताप्रतिको प्रतिबद्धता, सामाजिक असमानता पहिचान र चुनौती, लोकतान्त्रिक सहभागिता र समुदाय निर्माण, सकारात्मक अन्तरवैयक्तिक सम्बन्ध, समान पहुँच र अवसर, सशक्तीकरण र आवाजको सम्मान, सन्दर्भअनुसार निर्णय, आशा, पुनर्निर्माण र रूपान्तरणको दृष्टि राखेको हुन्छ।

यी केवल सिद्धान्त वा विचार मात्र होइनन्। यिनीहरू विद्यालय/विश्वविद्यालय नेतृत्वले दैनिक अभ्यासमा उतार्नुपर्ने सक्रिय प्रक्रिया हुन्। रूपान्तरणकारी नेतृत्वले शिक्षकलाई निर्णय प्रक्रियामा सहभागी बनाउँछ। पेसागत क्षमता विकासमा अवसर दिन्छ। विश्वसनीय, सुरक्षित, प्रेरणादायी सिकाइ वातावरण बनाउँछ। उसको निर्णयको केन्द्रमा ‘के यो निर्णयले विद्यार्थीको सिकाइमा सहयोग गर्छ? के यो निर्णय विद्यार्थीको हितमा छ? के यो निर्णयले विद्यार्थीको जीवनमा सकारात्मक प्रभाव पार्छ?’ भन्ने हुन्छ। रूपान्तरणकारी नेतृत्व भनेको केवल विद्यालय व्यवस्थापन होइन। यो सामाजिक न्याय, साहस, आशा र परिवर्तनप्रतिको नैतिक प्रतिबद्धता हो।

(लेखक मेदिनबहादुर लामिछाने काठमाडौँ विश्वविद्यालयमा विद्यावारिधिको शोधकर्ता तथा भिजिटिङ फ्याकल्टीको रूपमा कार्यरत छन्। लामिछानेले जनता बहुमुखी क्याम्पस, इटहरीद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय सम्मेलनमा विशेष वक्ताको रूपमा दिएको प्रस्तुतिमा आधारित यो लेख ‘हिसान सोबिनियर-२०८२’ बाट लिइएको हो।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad