विचार


ओली ठ्याक्कै मुगाबे बने, अब कसले गर्न सक्छ एमालेको उद्धार

ओली ठ्याक्कै मुगाबे बने, अब कसले गर्न सक्छ एमालेको उद्धार

दिलिप भट्टराई
फागुन २४, २०८२ आइतबार १८:१२, काठमाडौँ

भनिन्छ- इतिहासबाट हामीले सिक्ने कुरा के हो भने हामी इतिहासबाट केही पनि सिक्दैनौँ।

नेपाली राजनीतिमा एउटा तीतो सत्य छ। यहाँ तथ्य बिक्दैन, कथ्य बिक्छ। नेपाली उखान छ नि- बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। हाम्रो जस्तो गरिब र हरितन्नम मुलुकमा जसले मीठो कथा बुन्न सक्छ, जसले शब्दको जादुले पिठोलाई चामल भनेर बेच्न सक्छ, त्यही मान्छे रातारात नायक बन्छ। र, यो राजनीतिक रङ्गमञ्चमा सिपालु कथावाचक अर्को कोही जन्मिएको छैन बाहेक- केपी शर्मा ओली।

उनी यस्ता चतुर कथाकार हुन्, जहाँ उनी आफैँ कथाका लेखक हुन्। आफैँ निर्देशक हुन्। र, आफैँ नायक हुन्।

पुरानो दार्शनिक कथा छ।

एउटा अत्यन्तै शक्तिशाली राजा थिए। उनलाई आफ्नो आवाजबाहेक अरु कसैको आवाज सुन्न मन पर्दैनथ्यो। उनले दरबारमा एउटा कडा नियम बनाए- म बोल्दा सबैले ताली मात्र बजाउने, कसैले प्रश्न नगर्ने।

बिस्तारै दरबारमा एस-म्यानहरू मात्र बाँकी रहे। जो साँचो बोल्थे, ती कि त मारिए, कि त देश निकाला गरिए। दरबार पूर्ण रूपमा भजन मण्डलीमा परिणत भयो। एक दिन दरबारमा आगो लाग्यो। बाहिरका मानिसहरू आगो लाग्यो, भागौँ भनेर चिच्याइरहेका थिए। तर दरबारभित्रका ती एस-म्यानहरूलाई लाग्यो पक्कै राजाले कुनै नयाँ चुट्किला सुनाए होलान्। उनीहरू आगोको लप्काभित्र पनि मुसुमुसु हाँस्दै ताली बजाइरहे।

अन्ततः राजा र दरबार सँगसँगै खरानी भए।

गज्जब।

कथा पुरानो हो। तर आजको नेकपा (एमाले) र गुन्डुको त्यो किल्लाको नियति ठ्याक्कै यही कथाजस्तो छ। फरक यति मात्र हो, यो आधुनिक कथामा आगो चुनावको मतपेटिकाबाट सल्किएको छ। र, दरबारमा बसेर ताली बजाउनेहरू विष्णु रिमाल, शंकर पोखरेलहरू हुन्।

पाखण्डको नाङ्गो नाच
२०८२ असार १३, शुक्रबारको दिन। काठमाडौँको राष्ट्रिय सभागृह। मञ्च र तल दर्शकदीर्घामा एमालेका नेताहरूको लस्कर थियो। समय जननेता मदन भण्डारीको जन्मजयन्तीको थियो। माहोल जबज (जनताको बहुदलीय जनवाद) र कम्युनिस्ट आन्दोलनको शुद्धीकरणको हुनुपर्ने थियो। मदनका विचारहरूमाथि विमर्श हुनुपर्ने थियो।

तर, त्यहाँ एक जना नेताले माइक समातेर बोल्न थाले, 'मदनका चार श्रीमती छन् भन्ने कुरा पनि आएको थियो...।'

आफ्नै पार्टीको सिद्धान्तकार, आफ्नै आदर्श नेताको जन्मजयन्ती। उहाँकै जीवनसंगी मञ्चमै बसेको बेला यस्तो विक्षिप्त र तल्लो स्तरको अभिव्यक्ति! नेपालीमा एउटा उखान छ- मुखमा राम राम, बगलीमा छुरा। मदन भण्डारीको तस्बिरमा माल्यार्पण गरेर उनकै चरित्रहत्या गर्न तम्सिने ती नेता थिए केपी शर्मा ओली। मदनको विचारलाई भोट माग्ने भाँडो बनाउने, तर भित्रभित्रै उनकै इतिहासलाई धमिल्याउने। यो भन्दा ठूलो पाखण्ड अरु के हुन सक्छ?

त्यस दिन राष्ट्रिय सभागृहको दर्शकदीर्घामा बसेर मैले एउटा सत्य महसुस गरिरहेको थिएँ। कुनै पनि शासकको पतन त्यतिबेला सुरु हुन्छ, जतिबेला आफ्ना समकक्षी र उत्तराधिकारीहरूसँग तर्सिन थाल्छ। ओली त्यस दिन मदनको इतिहाससँग नभई मञ्चमा शान्त भावमा बसिरहेकी विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक उदयसँग तर्सिरहेका थिए।

आज दुनियाँमा नेता आफ्नो कुर्सी गुम्ने डरले आफ्नै आदर्शको चिहान खन्छ, यो दुर्लभ दृश्य हो।

आठ महिनापछि फागुन आइपुगदा निर्वाचनको मतगणनाको अन्तिम वेभ चलिरहेको छ। र, म आज तिनै केपी ओलीको ऐतिहासिक पतन र विद्या भण्डारीको विकल्पहीन उदयबारे लेख्दैछु। किनभने, हिजोसम्म रवाफ देखाउने त्यो गुटको किल्लामा आज सन्नाटा छाएको छ।

किल्लाभित्रै गर्ल्यामगुर्लुम
अहिले टेलिभिजनका स्क्रिनहरूमा नतिजा फ्ल्यास भइरहेको छ, जसले नेपाली राजनीतिको परम्परागत व्याकरणलाई च्यातेर फ्याँकिदिएको छ।

चार-चार पटक देशको प्रधानमन्त्री बनिसकेका नेता। एमालेका अजेय मानिएका अध्यक्ष केपी शर्मा ओली। उनले आफ्नै गृह जिल्ला, आफ्नै निर्वाचन क्षेत्र झापा-५ मा फराकिलो मतान्तरले हार भोगेका छन्। उनलाई हराउने उम्मेदवार को हुन्? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह उर्फ बालेन। जसले काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिए। रास्वपाको भावी प्रधानमन्त्रीको उम्मेदवार बने। र, सिधै ओलीलाई चुनौती दिन झापा-५ रोजे।

निर्वाचनअघि बालेनले देश दौडाहा गरिरहँदा र झापा पुग्दा नै ओली रक्षात्मक देखिइसकेका थिए। तर बाको चाकरीमा रमाइरहेको एमाले नेतृत्वले वास्तविकता चिन्न सकेन। उनीहरूलाई लाग्यो, रास्वपाले चुनाव जित्नु असम्भव छ। उनीहरूले ओलीलाई नै फेरि भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिए। उनीहरूलाई लाग्यो बाको तस्बिर देखाएपछि भोटको वर्षा हुन्छ।

आज परिणाम के भयो?

सार्वजनिक नतिजा हेर्दा रास्वपाले सहज बहुमत पाउँदैछ। बालेन देशको प्रधानमन्त्री बन्दैछन्। ओली मात्र होइन, सिंगो एमालेले इतिहासकै सबैभन्दा शर्मनाक पराजय बेहोर्दैछ।

ओली किन हार्दैछन्?

किनकि उनले बुनेको राष्ट्रवादको नक्कली कथा अब एक्सपायर भइसक्यो। अनि अर्को कुरा, जनताले उनलाई एउटा कठोर सत्य सम्झाइदिएका छन्। सत्य यो हो कि शक्ति भनेको जनताले आवधिक रूपमा राख्न दिएको नासो मात्रै हो। यो कसैको बिर्ता होइन।

कुनै बेला यही अपेक्षाको भारी जनताले प्रचण्डलाई बोकाएका थिए। उनीहरू औसत दरिएपछि जनताले ओलीलाई बोकाए। तर गठबन्धन र सत्ताको खेलमा ओली यसरी रमाए कि, उनले आफूलाई आजीवन शासक नै ठान्न थाले। अझै १०-१५ वर्ष कार्यकारी भूमिकामै बस्ने उनको लालसालाई आफ्नै पार्टीले सम्झाउन सकेन। पार्टीभित्र कोही बोल्न सकेनन्।

अन्ततः मतदाताले नै मतपत्रमार्फत सम्झाइदिनुपर्‍यो- 'बा त्यो बुढो ज्यानलाई दुःख नदिनुहोस्। अब आराम गर्नुहोस्।'

हेर्नुस् त कस्तो विडम्बना! सेनाको हेलिकप्टर चढेर झापा पुग्ने बा। दुई-दुई घण्टा उखानटुक्का हाल्ने बा। उनलाई तीनदेखि नौ मिनेट मात्र बोल्ने ३६ वर्षे बालेनले उनकै गृहजिल्लामा धुलो चटाइदिए।

मैले अलिक अगाडि मेरो लेखमा भनेको थिएँ कम्युनिस्टहरू कहिल्यै हार्दैनन्। कि त उनीहरूको जित हुन्छ, कि त धाँधली। तर यसपालि बालेनले यति ठूलो मतान्तरले हराएका छन् कि एमालेका लागि धाँधली भयो भन्दै रुने ठाउँ पनि जनताले बाँकी राखिदिएनन्।

नक्कली राष्ट्रवादको पसल
एकपटक २०७२ सालअघि फर्केर हेर्नुस् त। ओलीसँग के थियो?

मदन भण्डारीसँग जबजको वैचारिक उचाइ थियो। प्रचण्डसँग विद्रोहको राप थियो। शेरबहादुर देउवासँग कांग्रेसको लामो संस्थागत विरासत थियो।

तर ओलीसँग?

पत्रकार लेनिन बञ्जाडेले आफ्नो फेसबुकमा लेखेका शब्द सापट लिँदा ओलीसँग गुटको जोडघटाउ थियो। विपक्षीलाई खुइल्याउने उखानको सँगालो मात्र थियो। उनी इतिहास आफैँले बोकेका पात्र थिएनन्। उनी त इतिहासको भिडमा आफ्नो अनुहार खोजिरहेका एक महत्त्वाकांक्षी खेलाडी मात्र थिए।

तर २०७२ को भूकम्प र भारतीय नाकाबन्दीले देश निसास्सियो। कांग्रेस दिल्लीसामु लत्रिने कि लड्ने भन्ने दोधारमा थियो। माओवादी आफ्नै अस्तित्वको अलमलमा थियो। ठीक त्यही शून्यतामा ओलीले खुट्टा छिराए। उनले राष्ट्रवादको कार्ड खेले। दबाबमा संविधान संशोधन हुँदैन भन्ने अभिव्यक्तिले उनलाई औसत नेताबाट रातारात नायक बनायो।

उनले जनताको नसामा बगेको आक्रोशलाई त्यसरी नै हाइज्याक गरे, जसरी केही महिनाअगाडि मात्र सडकमा सुशासन खोजिरहेका जेन-जीको आन्दोलनलाई केही अवसरवादीले हाइज्याक गरेका थिए। नाकाबन्दीको त्यो राष्ट्रिय सङ्कट उनको सत्ताको डुङ्गा खियाउने सबैभन्दा गतिलो भेल बन्यो। फेसबुकका भित्तादेखि चियापसलका गफसम्म उनका चुच्चे नक्सा र अदम्य स्वाभिमानका कथा चल्न थाले।

तर याद राख्नुस्, ओलीको राजनीतिमा राष्ट्रवाद कुनै स्थायी सिद्धान्त वा जीवनदर्शन कहिल्यै थिएन। यो त सत्ता संकटमा पर्दा ओढ्ने मौसमी बर्साती मात्र थियो।

एउटा छिमेकीको दबाबबाट बच्न अर्को छिमेकीको कार्ड खेल्नु कूटनीति हुन सक्छ। तर त्यो स्वाधीनता होइन। उनी साँचो राष्ट्रवादी हुन्थे भने देशलाई आत्मनिर्भरताको बाटोमा हिँडाउँथे।

तर उनले के गरे?

राष्ट्रवादलाई विशुद्ध व्यापार बनाए। र, ओली यो दुःखी देशका सबैभन्दा सुखी व्यापारी हुन पुगे। उनको राष्ट्रवादको एउटा निश्चित ढाँचा छ। जब सरकार संकटमा पर्छ। जब पार्टीभित्र विद्रोह हुन्छ। जब चुनाव आउँछ। एकाएक ओलीको राष्ट्रवाद भेल आएको बागमतीझैँ उर्लिन्छ। जुन राष्ट्रवाद कुनै अमुक शत्रु देखाएर मात्र जीवित रहिरहन्छ, त्यो विचार नभई व्यापार हो। आफ्नो असक्षमता लुकाउन खोलिएको नक्कली पसल हो।

म अगाडि बढ्नुअघि एमाले र आजको राजनीतिको सन्दर्भमा पहिले तीन निष्कर्ष निकाल्छु:

एक- केपी ओलीको बा मोडलले नेपाली कम्युनिस्ट आन्दोलनलाई अब एक कदम पनि अगाडि बढाउँदैन।

दुई - नेकपा (एमाले) यो जहाज आजको मितिमा पूर्णतः डुबिसकेको छ।

तीन - यो भग्नावशेषबाट एमालेलाई फेरि उठाउने अब एउटै मात्र सम्भावित क्याप्टेन हुन् विद्यादेवी भण्डारी।

ख्याल गर्नुस् है, मैले एउटै मात्र क्याप्टेन भनेको छु।

सुरुमै भन्नु पर्ने एउटा डिसक्लेमर त भन्नै बिर्सेछु। त्यो के भने म लगायत सानो समुहले विगतमा मदनको नीति, विद्याको नेतृत्व अभियान सुरु गरेकै कारण आज यो लेखिरहेको छैन। मेरो कुनै व्यक्तिगत आग्रह छैन। नेपाली चेत अलि बढी षड्यन्त्र देख्छ। कसैले कसैको पक्षमा दुई शब्द बोल्यो भने फलानोबाट परिचालित भन्ने ट्याग भिराइहाल्छ।

यसैले मैले यति डिसक्लेमर राखेँ।

इमानदारीपूर्वक भन्छु, मैले यो बीचमा एमालेलाई यो भुमरीबाट निकाल्ने अरु कोही पात्र छन् कि भनेर पनि खोजेँ। खोज्नुअघि मैले केही आधारहरू बनाएको थिएँ।

आधारहरू थिए :

एक- नेपाली राजनीतिको भट्टीमा खारिएको र जबजको विचारमा उभिएको।

दुई- हुकुमी फर्मानको दास नबनी, विद्रोही चेत राख्न सक्ने।

तीन- आजको राज्यसत्ता, कूटनीति र दुनियाँको कुरा बुझ्ने र बुझाउने क्षमता राख्ने।

चार- गुटको होइन, सिंगो पार्टीको अभिभावकत्व लिन सक्ने।

पाँच- काम गर्ने शैली र धैर्य कुनै राजनेताको जस्तै।

यी पाँच आधारहरूको मैले सफ्टवेयर खडा गरेँ। त्यहाँ मैले एमालेका अहिले चल्तीमा रहेका हरेक पदाधिकारी र नेताहरूको नाम राख्दै गएँ। ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई हुँदै गोकुल बाँस्कोटासम्मका नामहरू त्यो मेसिनमा हालेँ।

त्यहाँ एउटा मात्र नाम पटकपटक पप अप भइरह्यो विद्यादेवी भण्डारी। मेरो चेतनाको सफ्टवेयरमा विद्या भण्डारी किन पटकपटक पप अप भइन्?

अब म यसको व्याख्या गर्नेछु। तर त्योभन्दा पहिले ओलीको असफलताको सफ्टवेयर किन क्र्यास भयो, त्यसको शल्यक्रिया गरौँ।

असफलताको थोत्रो यन्त्र
आज चुनावको नतिजा जे आइरहेको छ, यो अचानक भएको चमत्कार होइन। प्राध्यापक कृष्ण खनालले भनेजस्तै ओलीले आफैँले नबुझेपछि जनताले जबर्जस्त फालिदिएको मात्र हो। खनाल सरको विश्लेषण सटीक छ, ओलीले जेन-जी आन्दोलनको विपक्षमा मत लिन खोजे, अहिलेको परिणाम त्यही हो। यो उत्तरदायी राजनीति नगर्नुको परिणाम हो।

ओली देशका लागि कहिल्यै राइट म्यान थिएनन्। मात्र राइट टाइममा राइट ठाउँमा उभिएका चतुर अवसरवादी थिए।

आजका युवा (जेन-जी) का लागि ओली कुनै रोलमोडल होइनन्। उनी त टिकटक र फेसबुकका सबैभन्दा हिट मिम आइकन हुन्। उनी सुरिलो बाँसुरी बजाइदिन्छन्। क्यारमबोर्ड खेल्छन्। उफ्रीउफ्री ब्याडमिन्टन खेल्छन्। कहिले कविता लेखेर सारा देशलाई भक्कानो छुटाइदिन्छन् त कहिले आयुर्वेदको गफ लडाउँछन्। उनी यस्ता हमजाएगा हुन्, जो बिना हाम्रो उदास अनुहारबाट उहिल्यै हाँसो हराइसक्थ्यो। उनी राजनीतिमा नआएर कमेडी च्याम्पियनमा हँसाउने काममा मात्र लागेका भए सायद सबैभन्दा धेरै ताली पाउँथे।

तर देश चलाउनु भनेको उखान बुन्नुजस्तो सजिलो कहाँ रहेछ र!

उनले दाहिने हातको चोर औँलो ठड्याउँदै घरघरमा ग्यासको पाइपलाइन र पानीजहाजको सपना बाँडे। तर ती सपनाहरू उनका लागि सत्ता चढ्ने मजबुत भर्‍याङ मात्र बने। आज लाग्दैछ, उनले त्यो बेला जनतालाई गलत औँलो पो ठड्याएका रहेछन्।

शासक हुनलाई सबैभन्दा पहिले मान्छे हुनुपर्छ। र, मान्छे हुनलाई मनमा करुणा हुनुपर्छ। जसको मनमा करुणा हुँदैन, ती शासकहरू अन्त्यमा पुग्ने ठाउँ एउटै हो चाहे ती हिटलर होऊन्, इदी अमिन होऊन् वा गुन्डुको पर्खालभित्र खुम्चिएका ओली होऊन्।

निर्दोष रगतको छिटा
याद गरौँ ती दिनहरू। भदौ २३-२४ को त्यो जेन-जी आन्दोलन। सडकमा युवाहरू स्वस्फूर्त रूपमा निस्किएका थिए। उनीहरूले सुशासन मागेका थिए। पारदर्शिता मागेका थिए। तर ओलीले के गरे?

देशमा युवाहरू रोजगारी र सुशासन नपाएर सडकमा चिच्याइरहेका थिए, तर ओली भने आफ्नो सत्ता जोगाउने तानाबाना बुन्दै थिए। देशको प्रधानमन्त्रीको कुर्सीमा बसेर उनले त्यो आन्दोलनलाई विदेशी षड्यन्त्रको बिल्ला भिराइदिए। देश जलाउने र देश बनाउने बीचको लडाइँ भन्दै सिंगो एमाले पार्टीलाई युवाहरूको त्यो न्यायपूर्ण विद्रोहको विपक्षमा उभ्याइदिए।

आन्दोलनका सहिद परिवार र घाइतेहरूप्रति सामान्य सम्बोधन गर्ने मानवीयतासमेत उनले देखाएनन्।

किन?

किनकि ओलीलाई आफ्नो औचित्य सकिएको डर थियो। यो निर्वाचनले त्यही भदौ २३-२४ को जेन-जी आन्दोलनलाई अनुमोदन गरेको छ। हिजोसम्म राजनीति विचारप्रधान थियो। जनता विचारका आधारमा विभाजित थिए। तर आज परिस्थिति फेरिएर सहभागितामूलक राजनीतिक संस्कारतिर मुलुक गएको छ। यो प्याराडाइम सिफ्टलाई बालेनले बुझे। ओलीले बुझेनन्।

सडकमा कलिला युवाहरूको रगत बग्दा एउटा सरी भन्न नसक्ने ओलीको छाला एकसिंगे गैँडाको जस्तै बाक्लो भइसकेको थियो। यदि ०७४ मा वाम गठबन्धनले काम गरेको भए, वा ०८१ मा ओली-देउवा गठबन्धनले न्यूनतम सुशासन मात्रै दिएको भए, त्यो विद्रोह हुने नै थिएन।

तर ओली गणतन्त्रकालका राजा ज्ञानेन्द्रजस्ता भए। उनका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ ज्ञानेन्द्रका मन्त्री टंक ढकालजस्ता भए। सडकमा निस्किएका कलिला बच्चाहरूलाई ठुइँठुइँ गोली ठोक्नेहरूको इतिहास भोलि कसरी लेखिएला? संसद् भवनमा बच्चा पठाउनेहरूको गल्ती जसरी लेखिन्छ, कलिला छातीमा गोली हान्नेहरूको क्रूरता पनि त्यसरी नै लेखिनेछ।

मलाई एमालेकै एक जना शीर्ष नेताले चुनावअघि सुनाएको एउटा किस्सा याद आउँछ। ती नेता भोट माग्न गाउँ जाँदा एक जना पुराना पार्टी कार्यकर्ताले सिधै भनेछन्- म त यसपालि घण्टीमा भोट दिन्छु। नेताले हप्काउँदै त्यसो नगर्नुस्, पार्टीले कारबाही गर्छ भनेछन्। ती कार्यकर्ताले उल्टै नेतालाई सम्झाउँदै भनेछन् हिजो हलो, रुख र हँसिया हथौडामा भोट हाल्न पार्टीले नै उर्दी जारी गर्दा हुने, यसपटक मेरो आफ्नै विवेकले घण्टीमा भोट हाल्दा केको कारबाही?

गज्जब छैन त?

यो भनाइभित्र नेपाली राजनीतिको सम्पूर्ण पाखण्ड लुकेको छ। सत्ता जोगाउन ओलीले कहिले प्रचण्डलाई काँधमा बोके। कहिले देउवाको पाउ परे। कहिले कमल थापाहरूलाई सूर्य चिह्न दिए। कार्यकर्तालाई दास बनाएर कहिले रुखमा, कहिले हँसिया हथौडामा भोट हाल्न बाध्य पारियो। आज तिनै कार्यकर्ताले आफ्नो विवेक प्रयोग गरे। यो ओलीवादविरुद्धको अर्ग्यानिक विद्रोह हो।

जेन-जी आन्दोलनको राँकोले तर्साएपछि ओली आजभोलि गुन्डुको पर्खालभित्र खुम्चिएका छन्। तर गुन्डुको त्यो अभेद्य किल्लाभित्र ओली एक्ला छैनन्। त्यहाँ एउटा यस्तो गिरोह छ, जसले राज्यको ढुकुटी लुट्यो र पार्टीलाई आफ्नो प्राइभेट लिमिटेड बनायो। बाको आवरणमा यिनैदले एमालेलाई खाडलमा जाकेका हुन्।

मुगाबे बन्ने दुस्साहस
हामी कम्युनिस्ट आन्दोलनमा नेल्सन मन्डेला बन्न आएका थियौँ। रबर्ट मुगाबे बन्न होइन। मन्डेला, जसले पदको आशक्ति नदेखाई आफ्नो नैतिक शक्ति प्रयोग गरे। र मुगाबे, जसले क्रान्तिकारी विगतलाई बिर्साउने गरी असीमित राज्यशक्तिको दुरुपयोग गर्दै देशलाई कुशासनको भड्खालोमा हाले।

ओली ठ्याक्कै मुगाबे बने। ओलीलाई जनताले दिएको अथाह शक्ति र दुई तिहाइको जनमत पच्दै पचेन। एकपटक प्रमुख पदमा पुगेपछि आजीवन नेतृत्व नछोड्ने नेताहरूको प्रवृत्तिका विरुद्ध पनि यो जनमत हो।

याद गरौँ त, एमालेले कस्तो राम्रो नियम बनाएको थियो एउटा कार्यकारी पदमा उही व्यक्ति दुईपटक मात्रै बस्न पाउने। ७० वर्ष काटेपछि कार्यकारी भूमिकाबाट विश्राम लिनुपर्ने। इतिहासको कस्तो क्रूर संयोग! यी प्रस्ताव स्वयं ओलीले नै गरेका थिए। सुरुमा माधव नेपालले फेल गराएका थिए, पछि उनको विचार अनुमोदन भयो।

तर जब उनी आफैँ अध्यक्षको कुर्सीमा पुगे, उनले इतिहास बिर्से। आफ्ना लागि मनपरी विधान संशोधन गराए। तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिए। ७० वर्षे उमेरहदको मसी पनि आफैँले मेटाए।

पार्टीका संस्थापकहरू झलनाथ खनाल, माधव नेपालदेखि भीम रावल र घनश्याम भुसालहरूसम्मलाई एमालेमा रहन नसक्ने परिस्थिति कसरी सिर्जना गरियो? उनीहरूले के अपराध गरेका थिए? उनीहरूले मात्र ओलीलाई प्रश्न गर्ने साहस गरेका थिए। तर दरबारमा प्रश्न गर्नेहरूको टाउको काटिन्छ। ओलीले त्यही गरे। घनश्याम भुसालहरूलाई असफल, असान्दर्भिक र अनुशासनहीन करार गरियो।

ओलीले जे बोल्छन्, त्यो अनुशासन हुन थाल्यो। बहुपदीय एमालेमा वस्तुतः एउटा मात्रै पद थियो, ओलीको। बाँकी सबै उनका अनुचर आदेशपालकजस्ता हुन पुगे।

ओली सत्य, अरु भ्रम।

पार्टीमा एस-म्यान हरूको भीड जम्मा गरेर ओलीबिनाको एमाले असम्भव छ भन्ने एउटा कृत्रिम र खतरनाक डक्ट्रिन खडा गरियो। ओलीका गल्तीहरूलाई नै पार्टीको नीति हो भन्न थालियो। सत्ताको उन्मादमा ओलीले विधि, पद्धति र विधान सबैलाई चपाएर निले।

आज जनताले त्यही अहंकारयुक्त नेतृत्वविरुद्ध रेकर्डेड जवाफ दिएका छन्। हरेक असफलतालाई विदेशीको चलखेल भनेर उम्किने उनको झुटको खेती आज झापा-५ को माटोमा सदाका लागि पुरिएको छ। विदेशी वा अदृश्य शक्तिलाई दोष लगाएको भरमा ओलीले आफ्नो राजनीतिक औचित्य सिद्ध गर्न अब असम्भव हुनेछ। जनता सबैभन्दा दृश्यमान् छन्।

गगनबाट सिक्ने कि!
यो चुनावले एमालेलाई मात्र नभई नेपाली कांग्रेसलाई पनि ठूलो पाठ सिकाएको छ। यतिबेला सर्लाही-४ मा कांग्रेसका महामन्त्री गगन थापा हारेका छन्। उनको लडाइँ अमरेश सिंहसँग नभई मधेसका युवा र बालेन शाहको वेभसँग चलिरहेको छ। यो वर्ष गगन आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन महिनाहरूको सामना गरिरहेका छन्।

गगन थापाले कांग्रेसभित्र विद्रोह त गरे, तर इन्जुरी टाइममा आएर मात्र। स्वर्गीय प्रदीप गिरिले भनेजस्तै कांग्रेसमा गुट होइन, गिरोह छ। देउवाको त्यही गिरोहले गगनलाई खेलको मुख्य अवधिभरि बेन्चमै राख्यो। जबकि उनको पद चाहिँ महामन्त्री थियो।

गगनले विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरूसँग मिलेर गरेको विद्रोह आवश्यक थियो। तर धेरै ढिलो भइसकेको थियो। उनले पार्टीमा ल्याउँदै गरेको बदलावबारे जनतालाई समयमै बुझाउन सकेनन्।

उनले विशेष महाधिवेशनको नाममा गरेको हस्तक्षेप इन्जुरी टाइमतिर पर्‍यो, जसले तत्काललाई ठूलो बदलाव अनुभूत गराउन सकेन। देउवाले आफ्नो नेतृत्वमा २१ फागुनको चुनावमा गएका हुन्थे भने कांग्रेसको के हविगत हुन्थ्यो होला, अनुमान मात्रै गर्न सकिन्छ। गगनको नेतृत्वमा पनि कांग्रेसले हविगत नै भोगिरहेको छ।

एमालेले गगनको यो नियतिबाट सिक्नुपर्छ। एमालेमा पनि ओली र उनका आसेपासेहरूको एउटा गिरोह छ। जसले विद्या भण्डारीलाई निरन्तर बेन्चमा राख्ने षड्यन्त्र गरिरहेको छ। यदि एमालेले विद्या भण्डारीलाई पार्टीको नेतृत्व सुम्पन अझै ढिला गर्‍यो र इन्जुरी टाइमसम्म पर्खियो भने, एमालेको हालत अझ खराब हुनेछ।

अबको निर्विकल्प अस्त्र
अब म फेरि माथि उल्लेख गरेको मेरो सफ्टवेयर तिर फर्कन्छु। ओलीको असफलता प्रमाणित भइसकेपछि, एमालेलाई अब कसले जोगाउने? किन त्यो नाम विद्यादेवी भण्डारी नै हो?

विद्या भण्डारी यस्ती पात्र हुन्, जसले पञ्चायतदेखि गणतन्त्रसम्मको भट्टीमा आफूलाई खारिन्। जसले मदन भण्डारीसँग जबजको मस्यौदा लेखिँदाको समय बाँचिन्।

आज एमालेमा मदनको फोटो बेचेर बिचौलिया पोस्नेहरूको भीड छ। जबजलाई एउटा बन्द ग्रन्थ बनाएर, त्यसको पेटेन्ट राइट आफ्नो खल्तीमा हालेर बसेका नेताहरू छन्। तर विद्या भण्डारीसँग जबजको त्यो ओर्जिनल स्पिरिट छ।

मदन भण्डारीले जबज किन लेखेका थिए?

विचारमाथिको एकाधिकार तोड्न। पार्टीभित्र जनवाद (आन्तरिक लोकतन्त्र) स्थापित गर्न।

तर ओलीले के गरे?

जबजको नाम जप्दै पार्टीलाई एउटा निरंकुश बा-तन्त्रमा झारे।जसले जबज जन्मिँदाको प्रसव पीडा भोगेको छ, उसलाई मात्र थाहा हुन्छ त्यो विचारको तौल। विद्या भण्डारीले त्यो विचारको तौल बोकेकी छिन्।

ओलीले आफ्नै नेता-कार्यकर्तालाई धम्क्याउँदै सार्वजनिक मञ्चबाटै के भनेका थिए याद छ?

‘पार्टीभित्र यो छ त्यो छ भनेर यहाँ कसैले बम पड्काउँछ भनेर सोचेको भए त्यो पूरा हुनेवाला छैन।’

हेर्नुस् त शब्दको छनोट। बम पड्काउने। पार्टीभित्र विधि र पद्धतिको कुरा उठाउनु ओलीको नजरमा बम पड्काउनु बराबर भयो। यो कस्तो असुरक्षाको मनोविज्ञान हो?

अनि अझ अगाडि बढेर श्री ३ महाराजको शैलीमा उर्दी जारी गरेका थिए-

‘तपाईंहरू राम्रो बोल्नुहोला... म जे चाहन्छु त्यही बोलिरहनुभएको छ, अब पनि त्यही बोल्नुहोला।’

म जे चाहन्छु त्यही बोल्नुहोला! के यो कम्युनिस्ट पार्टी हो कि कुनै निजी जमिनदारी? यो दासत्वको पर्खाल भत्काउन सक्ने आँट आज एमालेमा कसैसँग छ भने त्यो विद्या भण्डारीसँग मात्र छ।

ओली र उनका विष्णु रिमालहरूले विद्यालाई अभिभावक बनेर मात्र बस्न भन्दै मदनको तस्बिरमा धूपबत्ती मात्रै बाल्ने सल्लाह दिएका थिए। सत्ताको चाबी गुन्डु दरबारमै राख्ने उनको धूर्त योजना विद्याले मात्र बुझेकी छिन्। उनले मौनतामार्फत ओलीको त्यो म जे चाहन्छु, त्यही बोल्नुहोला भन्ने अहङ्कारलाई सिधै खारेज गरिदिएकी छिन्।

परिपक्वताको त्यो उचाइ
आजको दुनियाँ उखान-टुक्काले चल्दैन। राम जन्मभूमि ठोरीमा हो भनेर भाषण गर्दैमा विदेशी लगानी भित्रिँदैन। हावाबाट बिजुली निकाल्छु भनेर गफ हाँक्दैमा देशको अर्थतन्त्र उँभो लाग्दैन। नेपालजस्तो भूराजनीतिक जटिलतामा फस्दै गैरहेको देशका लागि सस्तो पपुलिजम होइन, स्टेट्सम्यानसिप चाहिएको छ।

पुराना पुस्ता, जो बाघचाल सिकेर हुर्कियो र त्यसैमा रमाउँछ, त्यसलाई रुबिक क्युब मिलाउन समय लाग्छ वा मिलाउनै सक्दैन। ओली त्यही बाघचाल खेल्ने पुस्ता हुन्। विद्या भण्डारीले शीतल निवासको दुई कार्यकालमा चिनियाँ राष्ट्रपति सी चिनफिङदेखि भारतीय र पश्चिमा नेतृत्वसँग जुन संवाद र सन्तुलन कायम गरिन्, त्यो कूटनीतिक डाइनामिजम ओलीको सस्तो भाषणबाजीभन्दा धेरै माथि छ।

शीतल निवासको पर्खालभित्रबाट उनले राज्य संयन्त्रको जटिलता र विश्व राजनीतिको चापलाई जसरी बुझेकी छिन्, त्यो अनुभव आजको एमालेलाई जोगाउने सबैभन्दा ठूलो पुँजी हो। आफूले बोलेको ठेगान नहुने, कहिले कसलाई चिढ्याउने त कहिले कसलाई, यो अपरिपक्वताले आज एमालेलाई चौतर्फी एक्ल्याएको छ।

विद्या भण्डारीको परिपक्वताले त्यो कूटनीतिक र राजनीतिक सन्तुलन फर्काउन सक्छ।

गुटभन्दा माथिको छाता
ओलीले पार्टीलाई आफ्नो खल्तीको गुटमा सीमित गरे। पुराना, निष्ठावान् कार्यकर्ताहरू किनारा लगाइए। जसले बाको स्तुति गायो, त्यसैले टिकट पायो।

ती कस्ता छन् भने आफ्ना घरमा कार्यकर्ताहरू भेट्न आइरहेको मन पराउँछन्। आफ्नो वरिपरि मान्छे झुम्मिँदा उनीहरूलाई नेता भएको गर्विलो भान हुन्छ। क्षमता, दक्षता, नियम र कानुन तिनलाई गौण लाग्छन्। राम्रा कामको जस लिने, नराम्रा कामको अपजस नलिने छुट्टै ग्रन्थी तिनमा छ।

यस्तो बेला छिन्नभिन्न भएको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न सक्ने एउटै समन्वयकारी अनुहार विद्या भण्डारी हो। उनीसँग कुनै गुटको स्वार्थ छैन। उनी पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, वामदेव गौतमदेखि घनश्याम भुसालसम्मका तिक्तताहरूलाई मेटाएर फेरि एउटा विशाल एमाले बनाउने क्षमता राख्छिन्।

किनकि, उनको उचाइ गुटभन्दा माथि छ।

एमाले सामाजिक जनवादी पार्टी थियो, तर ओलीको पालामा संकीर्ण सोच भएको पार्टी बन्यो। विद्याले यसलाई पुनः फराकिलो बनाउन सक्छिन्।

केपी ओलीको शैली रियाक्टिभ छ। कसैले केही बोल्यो कि, तुरुन्तै माइक समातेर सत्तोसराप गर्न थालिहाल्ने। उनी आक्रोश पोख्नु र तर्क गर्नुलाई एउटै ठान्छन्।

तर विद्या भण्डारीको शैली हेर्नुस्।

ओलीले मदनका चार श्रीमती छन् भनेर यति तल्लो स्तरको लाञ्छना लगाउँदा पनि उनी मौन छिन्। उनको मौनताभित्र गहिरो राजनीतिक धैर्यता छ।

मदन भण्डारीको नाम भजाएर ओलीले आफ्नो पूरै राजनीतिक महल ठड्याए। आज त्यही मदनको चरित्रमाथि किन औँला ठड्याउँदैछन्?

किनकि, ओलीलाई थाहा छ एमालेमा मदन भण्डारीको विचारको एक मात्र आधिकारिक र नैतिक उत्तराधिकारी विद्या भण्डारी हुन्। जबसम्म विद्या भण्डारीको उचाइ रहिरहन्छ, तबसम्म ओलीको बा न्यारेटिभ एमालेमा टिक्न सक्दैन। त्यसैले, विद्यालाई प्रहार गर्न ओलीले मदनको चरित्रलाई नै हतियार बनाए।

यहीँनेर विद्या भण्डारीको उचाइ देखिन्छ। आफ्नो श्रीमान्‌माथि, त्यही पार्टीको अध्यक्षबाट यति नीच प्रहार हुँदा पनि उनले सडकमा आएर तमासा गरिनन्। विकसित देशका नेताहरूमा जस्तो सुन्ने क्षमता हुन्छ, त्यस्तै क्षमता विद्यामा देखिन्छ। उनी सस्तो तालीका लागि बोल्दिनन्।

जब बोल्छिन्, इतिहासको कुनै न कुनै मोडलाई बदल्ने गरी बोल्छिन्।

इतिहासको अन्तिम सुइँको
अन्तमा एउटा कुरा प्रस्ट भनौँ। जेन-जी विद्रोहलगत्तै हामीले भनेका थियौँ- दलहरू आवश्यक छन्, अपरिहार्य होइनन्। जनता र तिनका प्रतिनिधि पार्टीहरूले त २३८ वर्ष पुरानो राजतन्त्रलाई अपरिहार्य मानेनन्। देश पो अपरिहार्य हो, बाँकी सबै अस्थायी हुन्। जसरी राजा विस्थापित हुन सक्छन्, त्यसरी आफू पनि विस्थापित हुन सकिन्छ भन्ने कुरा ओलीहरूले सोचेनन्। यिनीहरूले आफ्नो पदको स्थिरतालाई राजनीतिक स्थिरता ठाने। आफ्नो बहिर्गमनलाई प्रतिगमन ठाने।

आज रास्वपा पहिलो पार्टी बन्दैछ।

बालेन शाह देशको प्रधानमन्त्री बन्ने बाटोमा छन्।

उनीहरूसँग अदम्य ऊर्जा छ, सङ्कल्प छ।

नेपालको इतिहासमा एउटा अभूतपूर्व अवसर आएको छ। उनलाई आशाका आँखाहरूले शुभेच्छा भन्नु उचित हुन्छ। सानातिना व्यावहारिक कमजोरी त जनताले सहजै माफ गरिदिन्छन्, जसरी हिजो कांग्रेस र एमालेका ठूलठूला गल्तीहरूलाई पनि माफ गरिदिएका थिए।

तर एमालेका लागि अब माफ पाउने समय सकियो। एमाले आज रेलिगेसन जोनमा छ। ८८ औँ मिनेटको खेल चलिरहेको छ। तपाईं फुटबलको जानिफकार हुनुहुन्छ भने थाहै होला, कतिपय खेलमा अब्बल खेलाडीलाई अठासी मिनेटमा मैदानमा उतारिन्छ। नेपाली लोकतन्त्र, र विशेष गरी नेकपा (एमाले), आजका दिनमा अठासिऔँ मिनेटमा खेल्दैछ।

विद्या भण्डारीलाई एकपटक एमालेको नेतृत्वको मैदानमा उतारौँ। बाँकी दुई मिनेटमा गोल गरेर यो आन्दोलनलाई बचाउने आज नेपाली राजनीतिमा वा एमालेभित्र कुनै खेलाडी छ भने त्यो हो विद्या भण्डारी।

एमालेका एक नेताले मसँगको वार्तालापमा भनेजस्तै अब एमाले पुनर्गठनको विकल्प छैन। जसरी ओलीले अहंकार र अलोकतान्त्रिक बाटो हिँडेका छन्, उनले अझै पनि पार्टी कब्जा कायमै राख्न खोज्लान्। तर अब मान्छेले पत्याउनेवाला छैनन्। जनमतबाट बहिष्कृत नेताले जबर्जस्ती गर्न खोजे त्यसको प्रतिवाद दुःखद हुन सक्छ।

भीरबाट लड्ने गाईलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न।

आज ओली त्यही भीरबाट लडिरहेका छन्। अब उनलाई एमालेका कार्यकर्ताले काँध थाप्ने गल्ती गर्नु हुँदैन।

जतिसक्दो छिटो एमालेका आम कार्यकर्ताले यो कुरा बुझ्छन्, त्यति छिटो पार्टीले जित्ने सम्भावना हुन्छ। यो कुरा केपी ओलीले जति छिटो बुझ्छन् र पदबाट बिदा लिन्छन्, त्यति देश, लोकतन्त्र र एमालेलाई फाइदा हुन्छ।

ओलीको पनि बचेखुचेको मान बढ्छ। सबैको मान बढ्छ।

साँच्चिकै अहिलेका एमालेका कार्यकर्ताहरूमा जबजप्रति गहिरो आस्था छ र कम्युनिस्ट आन्दोलनको खोजी छ भने भनौँ- बाभन्दा माथि पार्टी। नेताभन्दा माथि विचार।

अनुशासित, विधिको शासनमा चल्ने र विचारले डोर्‍याउने एमाले विद्या भण्डारीको नेतृत्वमा। ओलीको यथास्थिति रोज्ने कि विद्याको नवप्रवर्तन? निर्णय एमालेका कार्यकर्ताको हातमा छ। तर याद राख्नुस्, समयले ८८ औँ मिनेट कटिसक्यो। रेफ्रीले अन्तिम सिठ्ठी फुक्नुअघि नै सही खेलाडीलाई मैदानमा पठाउनुहोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad