भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन दशकभन्दा लामो समयदेखि एउटा रहस्यमय छवि निर्माण गरेका थिए। डर, विस्मय र अगाध श्रद्धाद्वारा निर्मित उनको त्यही छविले लोकतान्त्रिक विश्वको सबैभन्दा ठूलोमध्ये एक व्यक्तित्व पूजालाई जन्माएको थियो।
तर, यतिबेला त्यो छवि ध्वस्त भएको छ।
चिकित्सा शिक्षाको प्रवेश परीक्षाका लागि तयार गरिएको प्रश्नपत्र चुहावटका कारण सुरु भएको एउटा सानो विरोध केही हप्तापछि मोदीको १२ वर्षे शासनकालकै सबैभन्दा ठूलो राजनीतिक विद्रोहमा परिणत भयो।
विद्यार्थी, भर्खर कलेज पूरा गरेकाहरू, बेरोजगार मजदुर, किसान र एकाध सेलेब्रिटीहरू यो आन्दोलनमा एकत्रित भए। उनीहरूले सडक र सामाजिक सन्जालमा पछिल्ला दुई पुस्ताको सबैभन्दा बलिया नेता मोदीको भरपूर मजाक उडाए। अनि नयाँ दिल्लीको संसद् भवनतर्फ अघि बढे।
लाठी र अश्रुग्यास बोकेका प्रहरी अधिकारीहरू प्रदर्शनकारीमाथि जाइलागे। तर, कुनामा धकेलिएका मोदी शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाका लागि तयार भए। कहिल्यै झुक्न तयार हुँदैनन् भन्ने राजनीतिक भाष्य निर्माण गरेका मोदीका लागि यो दुर्लभ झुकाइ थियो।
यसपालिको यो विद्रोह परीक्षाको प्रश्नपत्र चुहावटमा मात्र सीमित थिएन। यो त स्वयं भारतीय लोकतन्त्रले आफूलाई सुधार्न सक्छ कि सक्दैन भन्ने परीक्षा थियो।
यो आन्दोलन भारतीय युवाहरूको एउटा पुस्तामा थिग्रिन पुगेको निराशाको नतिजा थियो। ती युवाले आफ्नो खराब हालत मोदीले निर्माण गरेको समृद्ध ‘नयाँ भारत’को कथासँग मेल नखाएको देखे। र, हेर्दा अपराजेय देखिने मोदीलाई पछि हट्न बाध्य तुल्याए। यसले के देखाउँछ भने लोकतान्त्रिक संस्थाहरूलाई खोक्रो तुल्याएर आफ्नो वरिपरि शक्ति केन्द्रित गर्ने मोदीको एक दशक लामो प्रयासका बाबजुद भारतीय लोकतन्त्रका असली रक्षक यसका नागरिक नै रहेछन्।
मुलुकलाई भ्रष्टाचारमुक्त बनाउँछु, सबैको प्रगति गर्छु र सबैलाई अवसर दिन्छु भनेर मोदी सत्तामा पुगेका थिए। त्यसका लागि करोडौँ रोजगारी सिर्जना गर्ने उनको वाचा थियो। त्यस्तै भ्रष्टहरूले विदेशी ब्यांकमा लुकाएर राखेको रकम फिर्ता गर्न सके गरिब नागरिकले १५ लाख भारतीय रूपैयाँका दरले पैसा पाउनसक्ने उनको भनाइ थियो।
त्यसको सट्टा व्यवहारमा भने उनले आफूलाई ठूलो ठान्ने, असक्षम र द्वेषपूर्ण हिन्दु पहिलो दर्जाको हुने सत्ता दिए। त्यो सत्तामा महाधनी व्यक्तिहरूको अल्पतन्त्र चल्यो, जसले व्यापक स्रोतसाधनमा नियन्त्रण जमायो। व्यावहारिक रूपमा हेर्ने हो भने अर्थतन्त्र नै उनीहरूको हातमा छ।
बेरोजगारी अत्यधिक छ, खासगरी युवाहरूमा। मुसलमान र अरु धार्मिक अल्पसंख्यकविरुद्ध सरकार क्रूरतापूर्वक प्रस्तुत हुन्छ। ताकि बहुसंख्यक हिन्दुहरूले जनताको जीवनस्तर सुधार्नमा मोदीले पाएको असफलतामा ध्यान नदिऊन्। र, संसद्, न्यायपालिका, प्रेसजस्ता भारतीय लोकतन्त्रको स्वास्थ्यका लागि जरुरी संस्थाहरूले मोदीको प्रशस्तिगान गाइरहून्।
रातदिन प्रधानमन्त्रीको प्रशंसा गर्नु सरकारी संयन्त्रको सबैभन्दा पहिलो प्राथमिकता बनेको छ। देशको सबैभन्दा ठूलो रंगशालाको नाम मोदीकै नामबाट राखिएको छ। सबैभन्दा गरिबहरूलाई वितरण गरिने रासनको प्याकेटमा उनकै तस्बिर छ। सरकारी अधिकारीहरूले विद्यार्थीहरूलाई उनको जन्मदिन मनाउन बाध्य पार्छन्। उनको रेडियो कार्यक्रम सुन्न नागरिकहरूको ठुल्ठूला सभा आयोजना गरिन्छ।
मोदीको अहंकारी शासनबाट उपेक्षित जनतामा विपक्षी पूर्ण रूपमा प्रभावहीन भएको देखेर एउटा पराजयको भावना बढेको थियो। उनीहरूले आफूलाई विश्वास दिलाइसकेका थिए– मोदीलाई कसैगरी चुनावमा हराउन सकिन्न।
मोदी अहिले ७५ वर्षका भए। विश्वको सबैभन्दा ठूलो युवा जनसंख्या भएको मुलुकको नेतृत्व गर्न आफू अब सक्षम नरहेको स्वीकार गरेर सायद उनले ठाउँ छाड्ने छन्। तर, घाइते र कमजोर दुवै भएका उनी अझ खतरनाक बन्न पनि सक्छन्। चोट लागेको सत्ता पुनर्स्थापित गर्न उनी पहिलेभन्दा अप्रत्याशित हुन सक्छन्। सरकारले गरेको वाचा विपरीत प्रहरीले प्रदर्शनमा सहभागी भएका विद्यार्थीहरूलाई पक्राउ गरिरहेको खबर आएका छन्।
जे भए पनि कुनै समय दिव्य शक्ति भएका ‘ईश्वरको दूत’ घोषित मोदीलाई यो विनम्र तुल्याउने क्षण हो।
‘मलाई उनको पूजा गर्न सिकाइएको थियो,’ अघिल्लो शुक्रबार प्रदर्शनस्थलमा एक विद्यार्थीले मसँग भनेका थिए। त्यहाँ स्वयंसेवकहरूले पानी, खाना बाँडिरहेका थिए। अपरिचितहरूलाई पंखाले हावा दिइरहेका थिए। प्लाकार्डमा नारा लेखिएको थियो, ‘मोदी जब डराउँछन्, हिन्दु–मुस्लिम भन्न थाल्छन्।’
‘तर, अहिलेसम्म डिप्लोमाको सर्टिफिकेट देखाउन नसक्नेलाई हामीले किन नेता मान्ने?’ ती विद्यार्थीले थपे। मोदीको पार्टीले सार्वजनिक गरेको उनका प्रमाणपत्रहरूका विषयमा लामो समयदेखि विवाद जारी छ। जुन विद्यार्थीहरूको प्रदर्शनमा पनि सुनिन्थ्यो।
दसौँ लाख भारतीय युवाका लागि उच्च शिक्षामा जान अत्यन्त प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा नाम निकाल्नु एउटा सम्मानपूर्ण जिन्दगीको प्रवेशद्वार हो। त्यही परीक्षाको तयारीका लागि कति परिवारले ऋण लिन्छन्, गहना वा घर बन्धकी राख्छन्।
तर, त्यही परीक्षाका प्रश्नपत्र बारम्बार लिक हुन्छन्। तिनलाई बेचिन्छ। जसले महिनौँ घोटिएर तयारी गरेका विद्यार्थीहरूको जिन्दगीमा ठूलो उथलपुथल ल्याउँछ। यसको हद मे महिनामा पार भयो, जब २० लाखभन्दा बढी विद्यार्थीले भाग लिएको नेसनल मेडिकल स्कुलको प्रवेश परीक्षा रद्द भयो। फेरि परीक्षा दिनुपर्ने सुनेर केही विद्यार्थीले आफ्नो ज्यानै दिए।
आक्रोश तब अझ बढ्यो, जब भारतका प्रधानन्यायाधीश सूर्य कान्तले एउटा अलग विषयमा बेरोजगार युवाहरूलाई ‘ककरोच’सँग तुलना गरे। यसले प्रदर्शनकारीहरूलाई एउटा गतिलो चिह्न दियो। ककरोच जनता पार्टी जन्मियो। मजाकका रूपमा जन्मिएको यो पार्टी एउटा सिंगो पुस्ताको आक्रोश पोख्ने माध्यम बन्न पुग्यो। शिक्षामन्त्रीको राजीनामा, आत्महत्या गरेका विद्यार्थीको परिवारलाई क्षतिपूर्तिजस्ता माग राखेर देशभरका लाखौँलखा युवा यो आन्दोलनमा सरिक भए। सोनाम वाङचुकको अनशनले आन्दोलनमा अझ तेज बनाइदियो।
सुरुमा सरकारले प्रदर्शनकारीहरूलाई बेवास्ता गर्यो। सरकारका बफादार मिडियाले उनीहरूलाई देशमा अस्थिरता ल्याउन विदेशी एजेन्टबाट परिचालित भने। तर, जुलाई २० का दिन दिल्लीमा शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले युवाहरूलाई पिटेको भिडिओले त्यो झुटलाई नंग्याइदियो। त्यो दिन मोदी भारी सुरक्षाका साथ संसदबाट निक्लिन बाध्य भए। यसले उनको अपराजेय छविको आभा मेटाइदियो।
पछिल्लो समय दक्षिण एसियाका श्रीलंका, बंगलादेश र नेपालमा डिजिटल माध्यमबाट जोडिएका युवाहरूको नेतृत्वमा भएका आन्दोलनले निरंकुश बन्न खोजेका शासकहरूलाई सत्ताच्यूत गरेका छन्। भारतीय युवाहरूको बिग्रिँदो सम्भावनाका बाबजुद मोदी त्यो लहरबाट बच्न सफल हुँदै आएका थिए।
तर, भारतमा यसपालिको गर्मीमा भएका असाधारण घटनाहरूले देखाइदिएको छ– समाजमा लोकतान्त्रिक आदत गहिरोगरी बसेको छ। भारतका नौजवानहरूले विश्वकै ठूलो लोकतन्त्रलाई बाँच्ने अर्को मौका दिएका छन्।
(न्युयोर्क टाइम्सबाट। कपिल कोमारेड्डी मलेभोलेन्ट रिपब्लिक : ए हिस्ट्री अफ द न्यु इन्डिया पुस्तकका लेखक हुन्)
Shares

प्रतिक्रिया