राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी पनि आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवार छान्न पार्टीले सञ्चालन गरेको प्रारम्भिक निर्वाचनमा सहभागी भएकी छन्।
उनी महिलातर्फ खसआर्य समूहबाट समानुपातिक उम्मेदवार बन्न पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धी बनेकी हुन्। समानुपातिक उम्मेदवार चयन गर्न रास्वपाले आज मतदान सम्पन्न गरेको छ।
उक्त चुनावमा विभिन्न क्लस्टरबाट ३ सय ८९ जना प्रतिस्पर्धी बनेका छन्। तीमध्ये १ सय १० जना उम्मेदवार छानिने रास्वपाले जनाएको छ।
प्रारम्भिक मतदानमा उम्मेदवारले पाएका मतका आधारमा वर्णानुक्रम राखेर निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने तयारी रास्वपाले गरेको छ।
यसअघि पुस १० र ११ गते उम्मेदवारका आकांक्षीले ‘ब्लु प्रिन्ट’ र ‘शून्य समय’ कार्यक्रममार्फत प्रस्तुतीकरण दिएका थिए।
उम्मेदवार बन्न प्रतिस्पर्धामा रहेकी लिमाले आफ्ना मुख्य एजेन्डा र योजना सार्वजनिक गरेकी छन्।
व्यावसायिक पुष्ठभूमिकी अधिकारी नेपाल महिला चेम्बरको वरिष्ठ उपाध्यक्ष र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य छिन्। उनले ‘युवालाई मनपरेको काम, गोजीमा दाम र गाउँ ठाउँमा नाम’ आफ्नो चुनावी नारा बनाएकी छन्।
चीनको वुहानस्थित ह्वाचोङ विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गरेकी अधिकारी मुलुक विकासका लागि सामाजिक न्याय, युवा स्वरोजगार र महिला सशक्तीकरणमा जोड दिनुपर्नेमा जोड दिन्छिन्।
यस्तै सामाजिक र आर्थिक उत्थानमार्फत महिला सशक्तीकरण विशेष अभियान सञ्चालन गर्ने उनको लक्ष्य छ। वैकल्पिक राजनीतिमार्फत जनप्रतिनिधित्व, जनताका समस्या र आवश्यकतालाई सदनसम्म पुर्याउने र समाजका आवाजविहीन वर्गको आवाज बुलन्द गर्ने प्रतिबद्धता उनको छ।
यस्तै न्यायपूर्ण र समावेशी समाज निर्माणका लागि नीतिगत तहमा रहेर प्रभावकारी भूमिका खेल्ने प्रतिबद्ध अधिकारीले गरेकी छन्। लोककल्याणकारी राज्य निर्माण तथा राज्यलाई नागरिकको हितमा केन्द्रित गराउन र लोककल्याणकारी अवधारणा कार्यान्वयन गर्न सक्रिय भूमिका खेल्ने वाचा उनले गरेकी छन्।
युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने विषय पनि उनले आफ्नो एजेन्डामा समावेश गरेकी छन्।
Shares

प्रतिक्रिया