राजनीति


बिथोलियो खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण, तत्काल राजीनामा पनि नदिने

बिथोलियो खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण, तत्काल राजीनामा पनि नदिने

लक्ष्मी जि.सी
पुस २५, २०८२ शुक्रबार १९:१५, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पछिल्लो समय विवादमा तानिएका छन्। मन्त्रालय सम्हालेको छोटो समयमै गुप्ता अमेरिका भ्रमणलाई लिएर विवादित बनेका हुन्। 

गुप्ता जेनजीको कोटाबाट मन्त्री बनेको चर्चा छ। मन्त्री गुप्तालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक समूहले बोलाएको थियो। त्यो समूह आधिकारिक नभएको र उनले फर्जी निमन्त्रणा देखाएर मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत गराएको भन्दै आलोचना भयो। मन्त्री गुप्ताको भ्रमणलाई लिएर एनआरएनए अमेरिकाका दुई समूहले पनि छुट्टाछुट्टै विज्ञप्ति निकाले। 

एउटा समूहले निम्ता दिएको बतायो भने अर्को समूहले गुप्तालाई कुनै निमन्त्रणा नगरेको दाबी ग¥यो। चौतर्फी दबाबपछि मन्त्री गुप्ताले अमेरिका भ्रमणमा नजाने निर्णय गरेका छन्। 

शुक्रबार साँझ उनको सचिवालयले अब मन्त्री गुप्ता अमेरिका भ्रमणमा नजाने बतायो। चुनावमा उम्मेदवारी दिने तयारीका लागिभ्रमण स्थगित गरेको भने पनि उनले तत्कालै राजीनामा भने नदिने भएका छन्। 

मन्त्री गुप्ता फागुन २१ गते हुने निर्वाचनमा प्रत्येक्ष उम्मेदवार बन्ने तयारीमा छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने तयारीमा छन्। यसअघि उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले एकता गर्ने सहमतिमा हस्ताक्षर गर्दा उर्जामन्त्री कुलमान घिसिङसँगै गुप्ता पनि सहभागी थिए। 

रास्वपामा लागेकै कारण विरोध भएपछि ऊर्जामन्त्री कुलमान घिसिङले बुधबार राजीनामा दिइसकेका छन्। यस्तै खेलकुदमन्त्री गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई पनि राजीनामा दिन दबाब छ। 

बिहीबार मात्रै बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यी तीन मन्त्रीलाई लक्षित गर्दै कुनै पनि दलसँग निकट व्यक्तिहरु अहिलेको सरकारमा बस्न नमिल्ने बताएका छन्। 

यदि कुनै दलमा संलग्न हुने र निर्वाचन लड्ने मनस्थिति भए मन्त्रीहरुलाई राजीनामा दिन प्रधानमन्त्री सुशीला कार्कीले पनि भनेकी थिइन्। त्यतिबेला मन्त्री गुप्ताले एक पटक अमेरिका भ्रमणमा जाने र फर्किएपछि मात्रै राजीनामा दिने बताएको चर्चा पनि चलेको थियो। 

मन्त्री गुप्ताले पनि आफू निकटहरुसँग उम्मेदवारी दर्ता गर्ने बेलामा मात्रै राजीनामा दिने बताउँदै आएका छन्। फागुन २१ गतेको निर्वाचनका लागि प्रत्येक्षतर्फ माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। त्यसो भए उनले माघको ४–५ गते मात्रै राजीनामा दिन सक्छन्। 

‘उहाँले चुनाव लड्ने तयारी गरिरहनु भएको छ। अब उम्मेदवारी दर्ता गरिसकेपछि चुनावी अभियानमा लाग्नुपर्छ। त्यसैले उहाँले केही समयपछि मात्रै राजीनामा दिनुहुन्छ,’ गुप्तानिकट स्रोतले भन्यो। 

यस्तै पछिल्लो समय रास्वपासँग कुलमान संरक्षित उज्यालो नेपाल पार्टी पूर्ण रुपमा समायोजन नहुँदा पनि यो समूहलाई अप्ठेरो परेको छ। कुलमान वरिष्ठ उपसभापति सहित रास्वपामा जाने भनिए पनि समानुपातिक उम्मेदवार र केन्द्रीय कमिटीको भागबण्डाबाट यो समूह असन्तुष्ट छन्। 

यदि कुलमान रास्वपामा नगए मन्त्री गुप्ता कता जलान् भन्ने प्रश्न पनि छ। उनी बालेन शाह र कुलमान घिसिङ दुवैतर्फ उत्तिकै नजिक छन्। तर, बालेनकै समूह भने मन्त्री गुप्ता आफूतिर भन्दा कुलमानतिर बढी निकट रहेको बताउँछ। उज्यालो नेपालको समूह रास्वपामा गइनसकेकाले पनि गुप्ताले तत्कालै राजीनामा नदिएको उनीनिकट नेताहरुको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad