नेपाली कांग्रेसमा महाधिवेशन विवाद उत्कर्षमा पुगेको बेला नेता रमेश लेखकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग कुराकानी गरेका छन्। महामन्त्रीद्वयको आह्वानमा पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको विशेष महाधिवेशनको तयारी तीब्र भइरहँदा महामन्त्रीद्वयसँग लेखकले आज संवाद गरेका हुन्।
शुक्रबार दिउँसो लेखकले महामन्त्री थापासँग भेटवार्ता गरेका थिए भने अर्का महामन्त्री शर्मासँग टेलिफोन संवाद गरेका थिए।
‘पार्टीभित्रको विवाद मिलाउन महामन्त्रीजीसँग सामान्य कुरा भएको छ। ठ्याक्कै त्यस्तो महत्वपूर्ण कुरा भएको छैन,’ उनले नेपालखबरसँग भने। पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने अडानमा महामन्त्री थापा र शर्मा अडिक छन्। महामन्त्री थापा र शर्मासँग संस्थापन पक्षको प्रतिनिधिको रुपमा नभइ व्यक्तिगत रुपमा लेखकको कुराकानी भएको बुझिएको छ।
संस्थापन पक्ष विशेष महाधिवेश काउन्टर रणनीति अख्तियार गरेका बेला लेखकले महामन्त्रीद्वयसँग गरेको भेटवार्ता अर्थपूर्ण छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति देउवाको विश्वास पात्रका रुपमा चिनिएका लेखक महामन्त्रीसँग नियमति संवादमै रहेका छन्।
कांग्रेसका कार्यवाहक सभापति खड्काले शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा राखिएको पत्रकार सम्मेलन पनि स्थगित गरेका थिए। बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेर कार्यवाहक सभापति खड्काले केन्द्रीय समिति बाहेकले बोलाउने विशेष महाधिवेशन विधान विपरीत हुने निर्णय गराएका थिए।
‘विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई संलग्न नहुन’ बैठकले अपिल गरेको थियो।
यता भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले पुस २८ गते जिल्ला सभापतिको भेला बोलाउने तयारी अगाडि बढाएका छन् भने नेपाल तरुण दलले विशेष महाधिवेशन उद्घाटनकै दिन पार्टी कार्यालय सानेपामा युवा भेला आयोजना गरेको छ। साथै संस्थापन पक्षले आफूनिकट प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षका सभापतिलाई विशेष महाधिवेशनको विपक्षमा विज्ञप्ति जारी गर्न लगाएको छ।
महामन्त्रीद्वय थापा र शर्मा निकट प्रदेश पदाधिकारी, जिल्ला सभापतिसहितका पदाधिकारी, भ्रातृ संस्थापका पदाधिकारी तथा सदस्यले विशेष महाधिवेशनको पक्षमा विज्ञप्ति जारी गरेका छन्।
दुई दर्जनभन्दा बढी जिल्ला सभापतिले विशेष महाधिवेशनको पक्षमा सहभागी हुन आह्वानसहित विज्ञप्ति जारी गरेका छन्। प्रदेशका २५ जना भन्दा बढी पदाधिकारीले पनि विशेष महाधिवेशनको पक्षमा उभिएको विज्ञप्तिमार्फत जनाउ दिएको अवस्था छ भने विभिन्न भ्रातृ संस्थाका पदाधिकारी पनि औपचारिक रुपमा विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।
संस्थापन पक्षले सामाजिक सञ्जालमार्फत ‘सशक्त र बलियो कांग्रेस बनाउन नियमित महाधिवेशनमा जुटौँ, अनुज पुस्तालाई जोड्ने एउटै आधार, नियमित महाधिवेशन युवाहरूको जनाधार’ भन्ने नारा दिएर भेलामा सहभागी हुन आग्रह गरेको छ।
मातहतका सबै समितिका प्रमुख र सदस्यहरूलाई पुस २७ गते पार्टी कार्यालयमा हुने कार्यक्रममा सहभागी हुन तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङलको अपिल छ।
आगामी वैशाख २८–३१ मा हुने १५औं महाधिवेशन र आगामी फागुन २१ को निर्वाचनलाई ध्यानमा राख्दै तरुण दलको समन्वयमा कांग्रेसका सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको बृहत भेलामा उपस्थितिका लागि तरुण दलका जिल्ला अध्यक्षहरूलाई उनको अनुरोध छ।
Shares

प्रतिक्रिया