राजनीति


कुलमान रास्वपाबाट बाहिरिने, समानुपातिकका लागि ‘प्लान बी’ तयार

रविसँग भेटेर फर्केपछि घिसिङले भने– अब उज्यालो पार्टीबाटै प्रत्यक्ष चुनाव लड्ने
कुलमान रास्वपाबाट बाहिरिने, समानुपातिकका लागि ‘प्लान बी’ तयार

सागर न्यौपाने
पुस २५, २०८२ शुक्रबार २२:३९, काठमाडौँ

एकता सम्झौता गरेको दुई साता नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट कुलमान घिसिङ बाहिरिने निश्चितप्रायः भएको छ। तत्कालै नयाँ समझदारी बने मात्रै कुलमानले अगाडि बढाएको उज्यालो नेपाल पार्टी रास्वपामा अडिने उनी निकटस्थ नेताहरूको भनाइ छ।

बुधबार नै मन्त्री पदबाट राजीनामा दिँदा रास्वपासँगको एकता टरेको घोषणा गर्न खोजेका कुलमान एकपटक रवि लामिछानेसँग कुरा गर्न निकटस्थहरूले आग्रह गरेपछि रोकिएका थिए। 

शुक्रबार रास्वपा सभापति रविसँग उनले छलफल गरे। तर, यो भेटले कुलमानको मन पगाल्न सकेन। मिलनविन्दु नभेटिएको भन्दै छुट्टै अघि बढ्ने निष्कर्षमा पुगेको कुलमानले निकटस्थहरूलाई सुनाएका छन्। 

‘उज्यालो नेपाल पार्टीलाई अगाडि बढाउने निश्चित जस्तै भयो, अब निकै ठूलो सम्झौता भयो भने रोकिएला नत्र उहाँको मनस्थिति रास्वपासँग मिलेर जाने छैन,’ शुक्रबार बौद्धमा भएको छलफलमा सहभागी एक नेताले नेपालखबरसँग भने। 

निर्वाचन आयोगमा दर्ता गर्दा अनुपकुमार उपाध्यायलाई उनेपाको अध्यक्ष बनाएका कुलमान सो पार्टीको संरक्षक छन्। शुक्रबार बौद्धमा भएको छलफलमा उज्यालो नेपाल पार्टीका नेताहरूलाई कुलमानले रविसँगको छलफलमा आफूले उठाएका विषय सुनाएका थिए।

‘वरीयताको विषय मलाई चित्त बुझेको छैन, सहमति हुँदै मलाई दोस्रो वरीयता दिइने भनिएको हो। त्यही नै हुनुपर्छ,’ रविसँग उनले भनेका थिए, ‘केन्द्रीय समितिमा २६ जना पाउनैपर्छ। समानुपातिकतर्फ कम्तीमा ६ जना सांसद बन्नेगरी उम्मेदवार सूचीमा राख्नुपर्छ।’

२१ जनालाई केन्द्रीय सदस्य दिन आफू तयार रहे पनि समानुपातिकमा सांसद हुने निश्चित गर्न नसकिने रविले बताएका थिए।

‘रास्वपा सभापतिले चित्तबुझ्दो जवाफ दिनुभएन, अब मिलेर जान सकिने देखिएन,’ उनेपाका अर्का नेताले भने, ‘अब रास्वपासँग मिल्न गाह्रो छ।’ 

उज्यालो नेपाल पार्टीका नेताहरूसँगको भेलापछि आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी हाँक्ने निचोडमा कुलमान पुगेका छन्।

‘यसरी पार लाग्दैन, अब हामी नयाँ तरिकाले अघि बढ्नुपर्छ भन्नुभयो,’ सहभागी उनेपाका एक केन्द्रीय सदस्यले शुक्रबार बौद्धमा भएको भेलाको निष्कर्ष सुनाए, ‘हामीसँगको सहमति कार्यान्वयनमा रास्वपाले आत्मबोध गरेको देखिएन।’

रास्वपासँग मिलेर जान नसकिने कुलमानको भनाइपछि नेताहरूले विकल्पबारे सोधेका थिए।

‘अब उज्यालोबाट प्रत्यक्ष चुनाव लड्ने,’ कुलमानले भने, ‘रास्वपाको समानुपातिक सांसदको उम्मेदवार सूचीमा रहेका नामहरू फिर्ता लिन लगाउने, समानुपातिकका लागि अर्कै चिह्न भएको दलसँग मिल्ने। उज्यालोमा प्रत्यक्ष र समानुपातिकमा अर्कै भनेर चुनावमा मत माग्न जाने।’ 

समानुपातिक सूची बुझाएका पाँच-छ वटा पार्टी कुलमानसँग सम्पर्कमा रहेको पनि नेताहरू बताउँछन्। 

उनेपाका एक पदाधिकारीले पनि रास्वपा सभापति रविसँग शुक्रबार भएको भेटमा मिल्ने छेकछन्दै नदेखिएको बताए।  

‘केन्द्रीय सदस्य, समानुपातिकमा प्राथमिकीकरणको कुरा पनि मिलेन,’ ती नेताले भने। 

यही कारण कार्यकर्ताहरूले उज्यालो नेपाल पार्टी अघि बनाउनुपर्छ भनेर कुलमानमाथि दबाब बढाइरहेका छन्। रास्वपासँग मिल्न नसकिने भएपछि दोस्रो विकल्पमा अघि बढ्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।  

‘हामीले ‘प्लान बी’ बनाएका छौँ। अब त्यसमै केन्द्रित हुन्छौँ। रास्वपासँग कुनै नयाँ सम्झौता भएन भने दोस्रो विकल्प हाम्रो लागि बाध्यकारी हो। आजसम्म कुर्छाैँ, तर मिल्ने सम्भावना कमजोर हुँदै गएको छ,’ उनेपाका ती नेताले नेपालखबरसँग भने। 

तर, केही नेताले रास्वपासँगको एकता तोड्न नहुनेमा अझै जोडबल गरिरहेका छन्। 

‘पहिलो दिन जे भएको थियो, त्यहीँ छ। अगाडि बढ्न सकेन,’ कुलमान घिसिङको तर्फबाट बालेनको टिम र रास्वपाका नेताहरूसँग निरन्तर वार्तामा बस्दै आएका नेता भन्छन्, ‘एउटा सहमतिमा हस्ताक्षर गरिसकेपछि हाम्रो पार्टीलाई आए आऊ, नआए नआऊ भन्ने खालको भाषा रास्वपाका साथीहरूबाट व्यक्त भयो। हेपेर त्यस्ता शब्द प्रयोग गरे। राजनीतिक पार्टी भएपछि एउटा सम्मान त हुनुपर्छ नि। १२ जनालाई मात्र केन्द्रीय सदस्य बनाउने प्रस्ताव आएपछि कुलमानले ठाडै अस्वीकार गर्नुभयो।’

उज्यालो पार्टीका केही नेताहरूले अहिले देखिएको विवादमा तीनै पक्ष दोषी रहेको निचोड निकालेका छन्। 

‘रवि र बालेनलाई पार्टी राजनीतिको फ्रेमवर्कसँग मतलब छैन, फगत व्यक्ति पावरफुल छ, जो व्यक्ति करिज्म्याटिक छ, ऊ नेता हो, उसैले ड्याङडुङ पार्नुपर्छ भन्ने छ,’ उज्यालोका ती नेताको भनाइ छ, ‘उनीहरूलाई बालेन, कुलमान र रवि भए पुगिगयो, कायापलट गर्न सकिन्छ भन्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad