राजनीति


होमनाथ दाहालको निधनबारे कांग्रेसको आकस्मिक बैठकले गर्‍यो ४ निर्णय

होमनाथ दाहालको निधनबारे कांग्रेसको आकस्मिक बैठकले गर्‍यो ४ निर्णय

होमनाथ दाहाल


नेपालखबर
पुस २६, २०८२ शनिबार ११:३१, काठमाडौँ

आज (शनिबार) बिहान बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य एवं प्रवक्ता, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। 

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकले दाहालप्रति सम्मानका लागि ४ निर्णय गरेको छ। 

यस्ता छन् निर्णय-

१. नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रवक्ता, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार ८४ वर्षीय होमनाथ दाहालको पौष २५ गते शुक्रबारका दिन काठमाडौँमा दुःखद निधन भयो। उहाँको निधनप्रति केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ।

२. स्वर्गीय दाहाल नेपाल पत्रकार महासंघको पूर्वसभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक एवं प्रकाशक र गोरखापत्र संस्थानका पूर्वअध्यक्ष हुनुहुन्थ्यो। नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेल जीवन बिताउनुभएका स्वर्गीय दाहाल वि.सं. २०५६ को आम निर्वाचनमा ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो। उहाँले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो। स्वर्गीय दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।

३. उहाँको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ। नेता दाहालको आत्माको चिर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ।

(४) उहाँप्रति उच्च सम्मान प्रकट गर्दै शोकको कार्यक्रम देहायबमोजिम निर्धारण गरिएको छ-

(क) २०८२ पौष २६, २७ र २८ गते (तीन दिनसम्म ) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने।

(ख) २०८२ पौष २७ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने।

(ग) स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने।

(घ) स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला ओखलढुंगामा शोक सभाको आयोजना गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad