नेपाली कांग्रेसको महाधिवेशन विवादको रापले राष्ट्रपति भवन शीतल निवासलाई पनि तताएको छ। पार्टीमा नियमित र विशेष महाधिवेशन विवाद उत्कर्षमा पुग्दा राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेसको विभाजन रोक्न सक्रिय देखिएका हुन्।
कांग्रेसमा लामो राजनीतिक पृष्ठभूमि भएका राष्ट्रपति पौडेलले पार्टीको महाधिवेशन विवादमा विशेष महाधिवेशनप्रति झुकाव राखेको शीतल निवास पुगेका नेताहरु बताउँछन्। गत असोजमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकल्न हुँदा नै राष्ट्रपति पौडेलले शीतल निवासबाट चासोपूर्वक नियालिरहेका थिए।
असोजको तेस्रो साता शीतल निवास पुगेका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई राष्ट्रपति पौडेलले विशेष महाधिवेशनको वातावरण बनाउन सुझाएका थिए। नेता कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्न कोइरालालाई राष्ट्रपति पौडेलको निर्देशनात्मक सुझाव थियो।
तिवारीले भने, ‘राष्ट्रपतिले विशेष महाधिवेशनको पक्षमा जोड गरेपछि सवाल–जवाफ नै भएको थियो। डाक्टरसाब र दिपक खड्काले नियमित महाधिवेशन हुनुपर्छ भन्दा राष्ट्रपतिले विशेष महाधिवेशनको माग राख्नेहरूको कुरा नसुन्ने भन्ने हुन्छ? भन्नुभएको थियो।’
त्यसपछि मंसिर ८ मा विशेष महाधिवेशन पक्षधर नेताहरूलाई राष्ट्रपति पौडेलले शीतल निवास बोलाएका थिए।
कांग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाएका नेताहरू गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लगायतसँग पौडेलले छलफल गरेका थिए। महामन्त्रीद्वय थापा र शर्माका साथै नेताहरु शेखर कोइराल, मिनेन्द्र रिजाल लगायतसँग पनि राष्ट्रपति पौडेलले महाधिवेशनको विवादमा समाधान खोज्न सुझाएका थिए।
शुक्रबार दिउँसो राष्ट्रपति पौडेलले कांग्रेसभित्रको विवादबारे छलफलका लागि महामन्त्री थापा र नेता रमेश लेखकलाई शीतलनिवास बोलाए। महामन्त्री थापा निकट स्रोतका अनुसार दुई जना (गगन थापा र रमेश लेखक)ले चाहँदा विवाद समाधान हुने राष्ट्रपति पौडेलको विश्वास थियो।
पार्टीभित्रको विवाद समाधानका लागि नेता लेखकले दुई वटा प्रस्ताव अगाडि सारेका छन्। स्रोतका अनुसार राष्ट्रपतिसँगको छलफलमा सभापति देउवासँग सहमति गरेर विशेष महाधिवेशनलाई चुनावी तयारी भेलामा रुपान्तरण गर्नुपर्ने लेखकको पहिलो प्रस्ताव थियो।
महामन्त्री थापाले विशेष महाधिवेशनको नाममा महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेको भन्दै चुनावी भेलामा रुपान्तरण गर्न नसकिने जवाफ दिएका थिए। त्यसपछि लेखकले विशेष महाधिवेशनलाई नीति वा संकल्प सम्मेलनमा परिणत गर्ने गरी सहमति खोज्न सकिने दोस्रो प्रस्ताव राखेका थिए।
महामन्त्री थापाले उक्त प्रस्तावमा पनि खुलेर संवाद गर्न रुचाएका छैनन्। लेखकका दुबै प्रस्तावबारे अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेर मात्र जवाफ दिने महामन्त्री थापाको भनाइ छ। कांग्रेस संस्थापन पक्षका एक नेताले पार्टीभित्रको विवादमा राष्ट्रपति पौडेलले अस्वभाविक चासो देखाएको नेपालखबरलाई बताए।
‘राष्ट्रपति पौडेलले ‘विशेष महाधिवेशन माग गरेका साथीहरूका कुरा सुनेर सम्बोधन गर्नुहोस् है’ भन्दै सभापति देउवालाई फोन गरिराख्नु भएको छ। केही नेताहरूलाई शीतल निवास बोलाउनु भएको पनि सुनियो,’ उनले भने।
शुक्रबार बिहान प्राध्यापक संघको टोलीसहित कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर पनि शीतल निवास पुगेका थिए। महरले छुट्टै भेट्दा राष्ट्रपति पौडेलले पार्टीभित्रको विवादबारे गहिरो चासो राखेका थिए। शनिबार दिउँसो पनि राष्ट्रपति पौडेलले कांग्रेसका केही नेताहरूसँग भेटवार्ता गरेको बुझिएको छ।
राष्ट्रपति यादव र भण्डारीमा पनि थियो दलीय चासो
प्रथम राष्ट्रपति डा. रामवरण यादव र पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको जस्तै दलीय चासो राखेको विवाद वर्तमान राष्ट्रपति पौडेलमा पनि प्रवेश भएको छ। कांग्रेस महामन्त्रीबाट राजीनामा दिएर तत्कालीन राष्ट्रपति बनेका यादवले २०६७ सालमा भएको कांग्रेसको बाह्रौं महाधिवेशनमा हस्तक्षेप गरेको आरोप थियो।
बाह्रौं महाधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवाबीच भएको चुनावी प्रतिस्पर्धामा यादवलाई कोइरालाको पक्षमा मत नै मागेको आक्षेप लाग्यो।
यादवले धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लाका महाधिवेशन प्रतिनिधिलाई बोलाएर शीतल निवासमै दहीच्युरा खुवाएको चर्चा अहिले पनि हुने गर्दछ। कांग्रेस महाधिवेशन प्रतिनिधिलाई कोइराला प्यानलको पक्षमा मतदान गर्न दबाब दिएको महाधिवेशन प्रतिनिधिले नै सार्वजनिक गरेपछि तत्कालीन राष्ट्रपति यादव विवादमा तानिएका थिए।
यस्तै २०७४ को चुनावपछि तत्कालीन नेकपाको विवादबाट तत्कालीन राष्ट्रपति भण्डारी टाढा बस्न सकिनन्। उनी मध्यस्थताको भूमिकामा देखिन्थिन्। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटाउन भण्डारीले हरदम प्रयास गरेको देखिन्थ्यो। तत्कालीन नेकपामा प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई प्रधानमन्त्रीबाट विस्थापित गर्न खोज्दा राष्ट्रपति भण्डारी ओलीको सहयोगी जस्तै देखिन पुगेकी थिइन्।
ओलीको असंवैधानिक संसद विघटनको सिफारिसलाई तत्कालीन राष्ट्रपति भण्डारीले साथ दिएको भन्दै चर्को आलोचना भएको थियो। ओलीले दुई–दुई पटक संसद विघटन गर्दा कानुनी परामर्श समेत नगरेको भन्दै अहिलेसम्म पनि भण्डारीको आलोचना हुने गर्दछ।
अहिले फेरि शीतल निवासबाटै कांग्रेसको आन्तरिक किचलोको व्यवस्थापना गर्न खोज्दा राष्ट्रपति पौडेल पनि विवादमा तानिँदै गइरहेका छन्।
Shares

प्रतिक्रिया