राजनीति


पार्टी फुटमा चुकेको स्वीकार्दै शेखरको आह्वान- सबै घर फर्कौं, कांग्रेसमा फर्कौं

पार्टी फुटमा चुकेको स्वीकार्दै शेखरको आह्वान- सबै घर फर्कौं, कांग्रेसमा फर्कौं

नेपालखबर
माघ १, २०८२ बिहिबार १३:३९, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आह्वान गरेका छन्। 

बिहीबारका डा. कोइरालाले वक्तव्य जारी गरी एकढिक्का भएर चुनाव लाग्न आग्रह गरेका छन्। ‘पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया रोकिने छैनन्। म अह्वान गर्छु- हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं। यहाँ जीतहार कसैको छैन, सबैको विन-विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ।’

कांग्रेसलाई फुटबाट जोगाउने सक्दो प्रयास गरेको भए पनि नसकिएको उनको भनाइ छ। ‘कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन। यसको पछाडी को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न। हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन,’ उनले भनेका छन्। 

कांग्रेसको फुटमा देशी तथा विदेशी शक्तिले खेलेको डा. कोइरालाको भनाइ छ। ‘दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ। राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ,’ उनले भनेका छन्।   

प्रतिनिधि सभाको निर्वाचन नजिकै आइसकेको उल्लेख गर्दै फेरि जनताको घरआँगनमा पुग्ने बताएका छन्। यसअघिका विभाजनमा जस्तै यस पटक पनि मतदाताले कांग्रेसलाई प्रभावित हुन नदिने उनको विश्वास छ। 

‘नेपाली जनताले गरेको भरोसा र विश्वासलाई आम मतदाताले विगतमा पार्टी विभाजनको कारण प्रभावित हुन दिएका थिएनन्। आज एकपटक फेरि तपाई हामी हाम्रा सबै अग्रज नेताहरूको मार्गदर्शनबाट र शहीदहरूको बलिदानलाई सम्झेर नेपाली जनताको समृद्धिको यात्रामा जनताको घर दैलोमा भोट माग्न जानु परेको छ,’ डा. कोइरालाले भनेका छन्, ‘समय छोटो छ, तर पनि यथासम्भव तपाईहरूको घर आँगनमा कांग्रेसको चुनावी अभियानमा म आउने कोशिस गर्दछु।’ 

डा. शखेर कोइरालाको वक्तव्य:

साथीहरू,

कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन। यसको पछाडी को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न। हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन। 

यसबीचमा घटेका कैयन घटनाहरूको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिकाबारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहाँसमा सुम्पन्छु। 

दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ। राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ।  

कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्नेमा सबैको ईमान्दार प्रयास थियो। तर त्यसो हुन सकेन। यस कठिन घडीमा हामीले स्मरण गर्नुपर्ने हाम्रा महामानव श्रद्धेय नेता बीपी कोइरालालाई हो। 

बीपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरू पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भइ संघर्षरत रहे, तर केही व्यक्ति र समूह बीपीलाई छाडेर गए। उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो। 

बीपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो। म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्‌छु। 

अब हाम्रासामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी छ। यस कठिन घडीमा कांग्रेसको संगठनात्मक उर्जा प्रस्फुटन भएर मात्र हामी इतिहासले र हाम्रा अग्रज नेताहरूले दिएको जिम्मेवारी पूरा गर्न सक्छौँ।

यसको लागि सम्पूर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको छ। तसर्थ, साथीहरू कांग्रेस पार्टी आम कार्यकर्ता साथीहरूले निर्माण गरेको पार्टी हो, हाम्रा साझा इतिहास छन्, साझा नेता र शहीदहरू छन्। हामी यिनैको प्रेरणाबाट नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ। 

हामी यही पार्टीमा बसेर नेपालको भविष्य निर्माण गर्नुपरेको छ। हाम्रा अग्रज नेताहरू र शहीद हुनुभएका साथीहरू हाम्रा प्रेरणाका स्रोत हुन्।

नेपाली जनताले गरेको भरोसा र विश्वासलाई आम मतदाताले विगतमा पार्टी विभाजनको कारण प्रभावित हुन दिएका थिएनन्। आज एकपटक फेरि तपाई हामी हाम्रा सबै अग्रज नेताहरूको मार्गदर्शनबाट र शहीदहरूको बलिदानलाई सम्झेर नेपाली जनताको समृद्धिको यात्रामा जनताको घर दैलोमा भोट माग्न जानु परेको छ। समय छोटो छ, तर पनि यथासम्भव तपाईहरूको घर आँगनमा कांग्रेसको चुनावी अभियानमा म आउने कोशिस गर्दछु। 

पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया रोकिने छैनन्  म आह्वान गर्छु : हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं। यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ। जय नेपाल। 

डा. शेखर कोइराला
२०८२ माघ १

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad