राजनीति


४ गते खुला सभामार्फत एमाले निर्वाचनमा होमिएको सन्देश दिँदैछौँः बस्नेत

४ गते खुला सभामार्फत एमाले निर्वाचनमा होमिएको सन्देश दिँदैछौँः बस्नेत

नेपालखबर
माघ १, २०८२ बिहिबार १४:४२, काठमाडौँ

नेकपा (एमाले) माघ ४ गतेदेखि औपचारिक रूपमा निर्वाचनमा होमिने भएको छ। 

पार्टी सचिव महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौँमा विशेष प्रदर्शन गर्दै फागुन २१ को निर्वाचनमा सहभागी हुने सन्देश दिने जानकारी दिएका छन्।

उनले एमालेले कहिल्यै पनि निर्वाचनमा नजाने नबोलेको स्पष्ट पार्दै वर्तमान अवस्थामा निर्वाचनमैत्री वातावरण प्रमुख चुनौती बनेको बताए। जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार भएका कैदीहरू अझै फिर्ता हुन नसकेको उल्लेख गर्दै उनले सुरक्षा निकायको मनोबल कमजोर बनेको दाबी गरे।

बस्नेतले सुशीला कार्की नेतृत्वको सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बलियो बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी वकिल कार्यालयको निर्णयले भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफैँ लागेको पुष्टि भएको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा बस्नेतले भने, ‘यही माघ ४ गते खुला सभामार्फत नेकपा (एमाले) निर्वाचनमा होमिएको सन्देश दिँदैछौँ। हामीले चुनावमा भाग लिँदैनौँ भनेर कहिल्यै भनेका छैनौँ। अहिले समस्या चुनावको वातावरण नहुनु हो।’

उनले प्रहरी, प्रशासन, न्यायालय र सेनाको मनोबल कमजोर बनेको उल्लेख गर्दै अपराध नियन्त्रणमा सरकार असफल भएको आरोप लगाए। ‘प्रहरीहरू घाइते छन्, लुटिएका हतियार र भागेका कैदी अझै फिर्ता भएका छैनन्। आपराधिक गतिविधि अझै बढिरहेका छन्,’ उनले भने।

सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै बस्नेतले न्याय प्रणाली नै कमजोर बनाइएको दाबी गरे। सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई नागरिक सरकार भन्दै आए पनि व्यवहारमा त्यो देखिन नसकेको उनको आरोप छ। रवि लामिछानेसँगको टसलका कारण कुलमान घिसिङले राजीनामा दिएको र अन्य मन्त्रीहरूको चालचलनमा पनि सुधार नआएको उनले बताए।

सरकारका मन्त्रीहरूबाट आएका अभिव्यक्तिहरू एमाले र कांग्रेसलाई कमजोर बनाउने उद्देश्यले गरिएको उनको दाबी छ। ‘नयाँ ल्याउनुपर्छ, पुराना दलहरूको काम छैन, डिजिटल भोटिङ ठूला दलका कारण सम्भव भएन भन्ने अभिव्यक्तिहरू एमाले-कांग्रेसलाई कमजोर बनाउने प्रयत्न हुन्,’ बस्नेतले भने।

उनले कांग्रेस-एमालेजस्ता ठूला दललाई कमजोर बनाउने सरकारका मन्त्रीहरूको गतिविधि उचित नभएको जिकिर गर्दै एमाले चुनावी तयारीमा सक्रिय रूपमा अघि बढ्ने स्पष्ट पारे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad