बालेन साहलाई झापामा सम्पर्क कार्यालय स्थापना गर्न घर पाउन गाह्रो परेको छ। पाँच दिनदेखि घरको खोजी भइरहे पनि अहिलैसम्म टुंगो लागेको छैन।
कार्यालयसँगै बालेन बस्ने घर पनि खोज्नु परेकाले केही समय लागेको झापाका रास्वपा नेताहरू बताउँछन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन लड्न लागेका बालेन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुने चर्चा छ। एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित हुँदै आएको सो क्षेत्रमा बालेन उम्मेदवार बन्न लागेको विषय केन्द्रसम्मै चर्चा भइरहेछ।
‘दमक क्याम्पस मोड र नेपाल बैंक नजिकैका घरहरूलाई प्राथमिकतामा राखेका छौँ,’ रास्वपा क्षेत्र नम्बर-५ का सभापति भेषराज भट्टराईले नेपालखबरसँग भने, ‘घरहरू हेरेर तिनको भिडिओ बालेनज्यूको सचिवालयमा पठाइरहेका छौँ। कुन घर उपयुक्त हुन्छ भन्ने कुरा उहाँको सचिवालयले गर्नेछ।’
माघ ५ गते बालेनले जनकपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि उनी सिधै दमक जान्छन् वा काठमाडौँ फर्किन्छन् भन्ने विषय सार्वजनिक छैन। जिल्ला तहका नेताहरूलाई भने ‘तयारी अवस्थामा बस्न’ निर्देशन आएको जनाएको छ।
रास्वपा सभापति रवि लामिछानेका कानुन व्यवसायी यज्ञमणि न्यौपाने बालेन झापा–५ मा आउने सम्भावना ९९ प्रतिशत रहेको बताउँछन्। सो निर्वाचन क्षेत्रमा ७ हजारभन्दा बढी मतदातामाझ अनुसन्धान गर्दा बालेनको पक्षमा ठूलो समर्थन देखिएको न्यौपानेले बताए। युवा, महिला र उद्यमीको समर्थन बालेनको पक्षमा देखिएको उनको दाबी छ।
बालेन एमाले अध्यक्ष ओलीसँगै भिड्न चाहेको र ओली अर्को क्षेत्रमा नजाउन भन्ने रणनीतिअनुसार अहिले नै मुख नखोलेको न्यौपानेको भनाइ छ। उनी भन्छन्, ‘बालेनको इच्छा ओलीसँगै लड्ने हो, देशभरमै सबैभन्दा बढी मतान्तरले जिताउने हाम्रो तयारी छ।’
झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा १-८ र गौरीगन्ज गाउँपालिकाको ३-६ वडा समेटिएको छ।
Shares

प्रतिक्रिया