राजनीति


कांग्रेस फुट्ने भए हलबाट बाहिरिने प्रश्नमा विश्वले भने- कहाँ विभाजन भयो त पार्टी?

कांग्रेस फुट्ने भए हलबाट बाहिरिने प्रश्नमा विश्वले भने- कहाँ विभाजन भयो त पार्टी?

नेपालखबर
माघ १, २०८२ बिहिबार १५:३१, काठमाडौँ

विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको उपसभापति चयन भएका विश्वप्रकाश शर्माले पार्टी नफुटेको दाबी गरेका छन्। 

बिहीबार सभापति थापासँगै शर्मा पनि नवनिर्वाचत केन्द्रीय कार्यसमिति गठनबारे जानकारी दिन निर्वाचन आयोग पुगेका थिए। आयोगलाई विवरण बुझाएर फर्किने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले लिखित तथा मौखिक रुपमा जानकारी गराइएको बताए। 

‘नीतिको, नेतृत्वको समग्र अध्यावधिकको जानकारी दिएका छौँ, लिखित, मौखिक रुपमा,’ शर्माले भने, ‘निर्वाचन आयोगले छिट्टै अध्यावधिक गरेर जानकारी दिने विश्वास गरेका छौँ।’

त्यस क्रममा सञ्चारकर्मीले शर्मालाई विशेष महाधिवेशनअघि बोलेको विषयमा प्रश्न गरेका थिए। पार्टी विभाजन हुने अवस्था आएमा हलबाट बाहिरिन्छु भन्नु भएको थियो नि भन्ने प्रश्नमा शर्माले भने, ‘कहाँ विभाजन भयो त पार्टी?’

कांग्रेस एकढिक्का हुने उनको भनाइ थियो। शर्माले थपे, ‘नेपाली कांग्रेसको महाधिवेशन हुने कुराले, महाधिवेशनमा कोही सहभागी भए होलान, भएन होला, त्यो आफ्नो ठाउँमा छ। नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि बढ्छ।’

बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कारबाही गरेको, विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति गठन लगाएको विभाजन भएको प्रष्टै भएको भन्दै प्रश्न गरेपछि शर्मा ‘प्रवक्ताले भन्नुहुन्छ’ भन्दै पन्छिए।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले बुधबार गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मंसुरलाई पाँच वर्षका लागि साधारण सदस्यबाट निष्काषन गर्ने निर्णय गरेको थियो। त्यसपछि विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो। जसको उपसभापतिमा शर्मा र पुष्पा भुसाल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad