आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा गाउँदेखि सहरसम्म एउटै बहसले प्राथमिकता पाएको छ— राजनीतिमा पुस्तान्तरण। चुनाव घोषणा भएयता सोसल मिडिया, चोक र चियापसलमा 'अब तन्नेरीको पालो' भन्ने चर्चा भइरहे पनि निर्वाचन आयोगको अन्तिम तथ्याङ्कले भने अर्कै तस्विर देखाउँछ।
चुनावी मैदानमा होमिएका उम्मेदवारहरूको उमेर समूहलाई मिहिन ढंगले केलाउँदा नेपाली राजनीति अझै पनि 'पाका'हरूकै नियन्त्रणमा रहेको र युवाका लागि ढोका निकै साँघुरो रहेको पुष्टि हुन्छ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार देशभरबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने २५ देखि ३५ वर्ष उमेर समूहका युवाहरूको संख्या ६ सय २० मात्र छ। ऊर्जाशील उमेरका यी युवाहरूको उपस्थितिले संसद्मा नयाँ सोच र भिजन पुग्ने अपेक्षा गरिए पनि यो संख्या कुल उम्मेदवारीको तुलनामा निकै कम हो।
अझ उदेकलाग्दो तथ्य त के छ भने, यी ६२० युवा उम्मेदवारमध्ये महिलाको संख्या मात्र ३७ छ। अर्थात्, युवा राजनीतिमा महिलाको हिस्सा करिब ६ प्रतिशत मात्रै छ। यसले नेपाली राजनीतिमा युवा र त्यसमा पनि महिलाका लागि कति ठूलो लैङ्गिक र उमेरगत खाडल छ भन्ने छर्लङ्ग पार्छ।
मतदाता तन्नेरी, उम्मेदवार पाका
राष्ट्रिय तथ्याङ्क विभागको डेटा अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ नेपालकै सबैभन्दा धेरै युवा मतदाता भएको क्षेत्र हो। यहाँ २५ देखि ४० वर्ष उमेर समूहको जनसंख्या मात्रै २ लाख ६८ हजार १ सय ६९ छ। १६ देखि २४ वर्षका जेन–जी मतदाताको पनि यहाँ ठूलो घनत्व छ। तर, यी तन्नेरी मतदाताहरूका अगाडि प्रमुख दलहरूले खडा गरेका उम्मेदवारहरू भने ४० को नेटो काटिसकेका छन्।

धेरै उम्मेदवार ३५ देखि ५० वर्षका
तथ्याङ्क अनुसार देशभर सबैभन्दा बढी उम्मेदवारहरू ३५ देखि ५० वर्ष उमेर समूहका छन्। यस समूहमा कुल १ हजार ६ सय ४० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। ५१ देखि ६५ वर्षका १ हजार ०९० जना र ६५ वर्षभन्दा माथिका २०१ जना उम्मेदवारहरू पनि मैदानमा छन्।
युवालाई चुनावी प्रतिस्पर्धामा उत्रिन मुख्य तीनवटा तगाराहरू देखिन्छन्। एउटा, टिकट वितरणको मापदण्ड वरियता हो। पुराना दलमा टिकट पाउन वर्षौँसम्म झण्डा बोकेको इतिहास खोजिन्छ, जसले नयाँ र सिर्जनशील युवालाई पाखा लगाउँछ। दोस्रो, आर्थिक भार हो। नेपालको चुनावी खर्च यति महँगो हुँदै गएको छ कि २५–३० वर्षका युवाले आफ्नै पौरखले चुनाव लड्न असम्भव जस्तै देखिन्छ। तेस्रो, लैङ्गिक कारण हो। महिला उम्मेदवारलाई अझै पनि 'जित्न सक्ने' उम्मेदवारका रूपमा स्वीकार्न दलहरू हिचकिचाउने गरेको ३७ जनाको सुक्खा तथ्याङ्कले बोल्छ।
काठमाडौँ–२ का २ लाख ६८ हजार युवा मतदाताहरू प्रविधि, सुशासन र द्रुत विकासको कुरा गर्छन्। उनीहरू 'आर्टिफिसियल इन्टेलिजेन्स' देखि 'स्टार्टअप इकोसिस्टम'सम्मका एजेन्डा खोजिरहेका छन्। तर, मतपत्रमा भने उनीहरूले आफ्ना बाबु-काका पुस्ताका नेताहरूलाई नै भेट्नेछन्।
सडकमा रक्षा बमहरूले गर्ने विद्रोह र संसद् ताक्ने ३७ जना साहसी महिलाको संख्याले पुस्तान्तरणको बहस त सुरु गरेको छ तर यो ६ प्रतिशतको साँघुरो घेरालाई नतोडेसम्म नेपाली राजनीतिले नयाँ गति लिने देखिँदैन।
Shares

प्रतिक्रिया