राजनीति


मधेसमा बग्रेल्ती ‘डमी’ उम्मेदवार, एक उम्मेदवारकै ७ जना मैदानमा

मधेसमा बग्रेल्ती ‘डमी’ उम्मेदवार, एक उम्मेदवारकै ७ जना मैदानमा

एआई निर्मित


लोकेन्द्र भट्ट
माघ २९, २०८२ बिहिबार १२:४, काठमाडौँ

फागुन २१ को निर्वाचनमा ६६ दल र स्वतन्त्र गरी ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा छन्। १ हजार १४३ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिँदा मधेसका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा दलगतभन्दा ८१ जना बढी स्वतन्त्र उम्मेदवार छन्।

मधेसका ३२ निर्वाचन क्षेत्रमा १ हजार २७ मध्ये ४७३ दलगत र ५५४ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन्। कोसीमा ४९५, बागमतीमा ७३१, गण्डकीमा २४३, लुम्बिनीमा ५८२, कर्णालीमा १३१ र सुदूरपश्चिम प्रदेशमा २०६ जना उम्मेदवार छन्। जसमध्ये कोसीमा ९१, बागमतीमा २३१, गण्डकीमा ३०, लुम्बिनीमा १९७, कर्णालीमा १२ र सुदूपश्चिम प्रदेशमा २८ जना मात्र स्वतन्त्र उम्मेदवार छन्। ६ वटा प्रदेशका स्वतन्त्र उम्मेदवार जोड्दा पनि मधेसमा जति स्वतन्त्र उम्मेदवार पुग्दैनन्।

धनुषा, महोत्तरी, रौतहट, सर्लाही र सिरहा गरी ५ जिल्लामा दलकाभन्दा स्वतन्त्र उम्मेदवार धेरै छन्। धनुषाका ४ क्षेत्रमा ५२ दलगत र १०६ जनाको स्वतन्त्र उम्मेदवारी कायम छ। धनुषा १ र ३ मा २९–२९ स्वतन्त्र उम्मेदवार बन्दा धनुषा २ र ४ मा २४–२४ जना छन्।

पर्सामा ६१ दलगत र ४६ जना स्वतन्त्र गरी १०७ जना उम्मेदवार छन्। पर्सा १ मा १२ जना, २ मा १४ जना, ३ मा ९ जना र ४ मा ११ जना उम्मेदवार छन्। बाराका ४ क्षेत्रमा ६३ दलगत र ४७ स्वतन्त्र गरी ११० जना उम्मेदवार छन्। बारा १ मा ७, बारा २ मा १३, बारा ३ मा ८ र बारा ४ मा १२ जना उम्मेदवार छन्। 

महोत्तरीमा ५६ दलगत र ८३ स्वतन्त्र गरी १३९ जना उम्मेदवार छन्। महोत्तरी १ मा १२ जना, २ मा २२ जना, ३ मा २६ जना र ४ मा २३ जना उम्मेदवार छन्। रौतहटमा ६५ दलगत र ७७ स्वतन्त्र गरी १४२ जना उम्मेदवार छन्। रौतहट १ मा २१ जना, २ मा १२ जना, ३ मा २० जना र ४ मा २४ जना स्वतन्त्र उम्मेदवार छन्। 

सप्तरीमा ६२ दलगत र ४० स्वतन्त्र गरी १०२ जना उम्मेदवार छन्। सप्तरी १ मा ७ जना, २ मा १४ जना, ३ मा ८ जना र ४ मा १० जना उम्मेदवार छन्। सर्लाहीका ४ क्षेत्रमा ६१ दलगत र ७० स्वतन्त्र गरी १३१ जना उम्मेदवार छन्। सर्लाही–१ मा ९ जना, २ मा १७ जना, ३ मा १९ जना र ४ मा २५ जना उम्मेदवार छन्। 

सिरहामा ५३ दलगत र ८५ स्वतन्त्र गरी १३८ जना उम्मेदवार छन्। सिरहा १ मा १८ जना, २ मा १५ जना, ३ मा २९ जना र ४ मा २३ जना उम्मेदवार छन्। मधेसमा उल्लिखित आँकडा देखिएपछि स्वतन्त्र उम्मेदवारीको रहस्य नेपालखबरले खोजी गर्दा डमी उम्मेदवारी खडा गर्ने गरेको पाइयो। मधेस प्रदेशमा प्रमुख दलका उम्मेदवारहरूले चुनावमा स्रोत–साधन परिचालनको सहजताका लागि डमी उम्मेदवार पनि खडा गर्ने गरेको नेपालखबरसँग अनौपचारिक संवादमा खुलाए। 

धनुषा–३ का एक उम्मेदवारले चुनावमा स्रोत–साधन परिचालन र अन्तिममा उम्मेदवारहरूको समर्थन देखाएर माहोल आफ्नो पक्षमा पार्न ५ जना डमी उम्मेदवार खडा गरेको सुनाए। 

भने, ‘प्रचारप्रसारका लागि गाडीको प्रयोग र चुनावी खर्च विवरण देखाउन सजिलो हुन्छ। अन्तिममा यति स्वतन्त्र उम्मेदवारले समर्थन गरे भनेर माहोल देखाउन पनि सजिलो हुन्छ। मेरा मात्र ५ जना डमी उम्मेदवार छन्। ती सबैले मेरा लागि काम गरिरहेका छन्।’ 

ती उम्मेदवारका अनुसार मधेसमा स्वतन्त्र उम्मेदवारले समुदायको मत देखाएर अन्तिममा बार्गेनिङ गर्न पनि मनोनयन दर्ता गर्ने प्रवृत्ति विगतदेखि नै छ।

नेपालखबरको इलेक्सन एक्सप्रेस टोलीसँग अनौपचारिक संवादमा सिरहा ३ का एक उम्मेदवारले आफूले ७ जना डमी उम्मेदवार उठाएको दाबी गरे।

उनले भने, ‘सबैजसो पार्टीकै सामान्य कार्यकर्ता स्वतन्त्र उम्मेदवार बन्नु भएको छ। ठूला पार्टीका सबै उम्मेदवारले डमी उम्मेदवार खडा गरेको हुन्छन्। मधेसमा यो चुनावी प्रचलन नै बनेको छ।’

महिला र दलित वा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई उम्मेदवारी मनोनयन शुल्कमा आधा छुट हुँदा ती समुदायका व्यक्तिलाई बढीजसो डमी उम्मेदवार बनाउने गरिएको उनको भनाइ छ।

‘मैले ७ जना स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता शुल्क तिरिदिएको हुँ। यहाँ त यस्तै चल्छ। नभए त स्रोत–साधनको प्रयोग र चुनावी माहोल ल्याउनै सकिँदैन नि,’ ती उम्मेदवारले भने।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा १० हजार धरौटी जम्मा गरेको भौचर पेस गरेपछि प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयन दर्ता हुने व्यवस्था छ। महिला, दलित र अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ। विपन्नको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि जरुरी पर्छ। 

चुनाव जित्ने सम्भावना भएका उम्मेदवारले यी सबै प्रक्रिया पूरा गराएर डमी उम्मेदवार खडा गरेका कयौँ उदाहरण देखिए। धनुषा–३ का एक जना स्वतन्त्र उम्मेदवारले केही उम्मेदवारसँगको व्यक्तिगत इबीका कारण चुनाव हराउन आफू मैदानमा उत्रिएको सुनाए। 

‘म धनुषाको मान्छे होइन। तर, यहाँ केही दलले गलत मान्छेलाई उम्मेदवार बनाए। ती मान्छेलाई रोक्न भए पनि म धनुषा ३ बाट उम्मेदवार बनेको हुँ,’ ती उम्मेदवारले भने। 

नेपालखबर इलेक्सन एक्सप्रेस टोलीसँगको संवादमा मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले दलका उम्मेदवारभन्दा बढी स्वतन्त्र उम्मेदवार खडा हुनु निर्वाचन लक्षित सुरक्षा चुनौती भएको बताए।

‘मधेस प्रदेशमा १ हजार २७ उम्मेदवारमध्ये ५५४ जना स्वतन्त्र छन्। ५० प्रतिशतभन्दा बढी स्वतन्त्र उम्मेदवार चुनावमा खडा हुँदा चुनौती थपिएको रुपमा हामीले विश्लेषण गरेका छौँ,’ उनी भन्छन्।

स्वतन्त्र उम्मेदवारलाई छुट्टै हिसाबले निगरानी गरिरहेको डीआईजी थपलियाको भनाइ छ।
 
‘स्वतन्त्र उम्मेदवार कतिपय अर्का उम्मेदवार लक्षित छन्, जसले कुनै विवाद सिर्जना गर्ने अथवा निर्वाचनलाई बिथोल्न सक्ने आशंका पनि हामीले गरेका छौँ। ती उम्मेदवारलाई छुट्टै हिसाबले निगरानी गरिरहेको अवस्था छ,’ उनी भन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad