नेपाली राजनीतिमा एउटा चर्चित उखान छ– ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन।’ तर, काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनावी मैदानमा होमिएका बालेन शाह यो उखानलाई उल्ट्याउन खोजिरहेका छन्।
पूर्वको पाथीभराको डाँडादेखि कर्णालीका काखसम्म, मधेसका फाँटदेखि सुदूरपश्चिमका पहाडसम्म– उनी निरन्तर यात्रामा छन्। कहिले किराती सभ्यताको स्मृतिसँग उभिन्छन्, कहिले कर्णालीको बोलीमै आत्मीयता साट्छन्, कहिले मधेसका युवालाई संगठित हुने मन्त्र सुनाउँछन्, त कहिले सुदूरका पहाडी बाटो हुँदै बडिमालिकाको आशीर्वाद माग्दै अघि बढ्छन्। उनका पाइला भूगोल नापिरहेका छन्, तर उनका शब्द भने घट्दै गएका छन्।
देश दौडाहामा निस्किँदा उनको पहिचान बनेको कालो ज्याकेट र कालो टोपी छुटेको छैन। मेयरको चुनावताका नखोलेको कालो चस्मा यसपटक पनि अनुहारमै छ। उनले आफ्नो दृश्य पहिचान बदल्न नचाहेको देखिन्छ।
जनकपुरमा मैथिली भाषामा आफ्नो पहिलो चुनावी सम्बोधन गरेयता बालेन कतै पनि औपचारिक मञ्चमा उभिएर भाषण गरिरहेका छैनन्। उनी केबल हिँडिरहेका छन्, जनतासँग मुस्कुराइरहेका छन् र आफ्ना उम्मेदवारहरूलाई कानमा एउटा यस्तो सूत्र फुकिरहेका छन्, जसले विपक्षीहरूको निद्रा खोसिदिएको छ।
बालेनको यो ‘मौनता’ नै यतिबेला नेपाली राजनीतिको सबैभन्दा ठूलो ‘हुरी’ बनेको छ। जहाँ उनी पुग्छन्, त्यहाँको माहोल १० दिनअघि नै तातिन्छ। बालेन वरिष्ठ नेता रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू उत्साहित हुँदै भन्छन्, ‘बालेन आउनु भनेको जितको आधा बाटो काट्नु हो।’
इन्दिरा रानालाई दिएको पहिलो टिप्स : धेरै नबोल्नुस् है
बालेनको चुनावी यात्राको एउटा निकै रोचक दृश्य झापा क्षेत्र नम्बर २ मा देखियो। पूर्वउपसभामुख इन्दिरा रानामगरको घरमा बालेन पुग्दा माहोल निकै आत्मीय थियो। बालेनकी पत्नी सविना काफ्ले आफैँ इन्दिरालाई जिताउन झापा पुगेकी थिइन्। एउटी समाजसेवीका रूपमा इन्दिराको व्यक्तित्वबाट प्रभावित सविनाको साथले एउटा छुट्टै सन्देश दिइरहेको थियो।
तर, त्यहाँ बालेनले इन्दिरालाई दिएको एउटा सुझाव यतिबेला रास्वपाभित्रका सबै उम्मेदवारका लागि ‘गाइडलाइन’ बनिरहेको छ। झापा–२ मा आयोजित एक कार्यक्रममा इन्दिरा स्वयम्ले हाँस्दै भनिन्, ‘मलाई त बालेन भाइले नै धेरै नबोल्नुस् है भन्नुभएको छ।’
बालेनलाई थाहा छ– पुराना नेताहरूले धेरै बोलेरै जनतालाई निराश बनाएका हुन्।
इन्दिरा भन्छिन्, ‘त्यसैले बालेनजीले आफ्ना उम्मेदवारलाई कम बोल्नुस्, जे काम गर्न सकिन्छ, त्यतिमात्रै बोल्नुस् भन्नुभएको हो। गफ दिने परम्परा त्याग्नुपर्छ, अब एक्सनमा उत्रिनुपर्छ भन्ने उहाँको आशय छ।’
ताप्लेजुङदेखि तेह्रथुमसम्म
ताप्लेजुङमा रास्वपाका उम्मेदवार वीरेन्द्र श्रेष्ठसँग बालेनले झन्डै २२ घण्टा बिताए। करिब ७–८ घन्टा हिँडेर सँगै पाथीभरा मन्दिरको दर्शन गर्न पुगे। वीरेन्द्र आफैँ पनि ३० वर्षदेखि विकास निर्माणका आयोजनामा खटिएका इन्जिनियर हुन्। दुई इन्जिनियरबीचको भेट केवल चुनावी गफमा सीमित थिएन।
वीरेन्द्रका अनुसार बालेनले उनलाई दिएको सुझाव यस्तो थियो– ‘हामीले जे गर्न सक्छौँ, जति गर्न सक्छौँ, त्यति मात्रै बोल्ने। अनावश्यक र गर्न नसकिने कुरा बोलेर सफलता हासिल हुँदैन। राष्ट्रिय अर्थतन्त्रसँग ताप्लेजुङलाई कसरी जोड्ने, त्यसको प्राविधिक खाका जनतालाई सुनाउनुस्।’
आफूले पनि बालेनलाई ताप्लेजुङ सम्भावना बोक्दाबोक्दै कसरी राज्यबाट टाढिएको छ भन्ने दृश्य बुझाएर पठाएको श्रेष्ठ बताउँछन्।
त्यस्तै तेह्रथुमको म्याङ्लुङ पुग्दा पनि बालेनको क्रेज उस्तै थियो। त्यहाँ एक रात बिताए बालेनले। तेह्रथुमको यात्राभर त्यहाँका रास्वपा उम्मेदवार सुरेन्द्र कार्की पनि उनीसँगै रहे। बालेनको आगमनले रास्वपाको पक्षमा माहोल झन् बढेको कार्कीको दाबी छ।
उनी भन्छन्, ‘उहाँ आउनुअघि हामी हाम्रो रफ्तारमा थियौँ, तर उहाँ आएर एक रात बसेपछि माहोल १०–१५ दिन अगाडि पुगेजस्तो भयो।’
बालेनले सुरेन्द्रलाई दिएको सुझाव पनि अन्य उम्मेदवारलाई भन्दा फरक थिएन। मन्त्र उही थियो– ‘जे अत्यन्तै व्यावहारिक छ, त्यही मात्रै बोल्नुस्। जनताका समस्याको पहिचान गरेर त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरामा केन्द्रित हुनुहोस्।’
बालेनको टिप्स केवल ‘भोट माग्ने’मा मात्र सीमित छैन। उनले उम्मेदवारहरूलाई जनताका समस्याहरूको ‘डेटा’ संकलन गर्न र त्यसको समाधानको ‘इन्जिनियरिङ’ गर्न सिकाइरहेका छन्।
दैलेख पुग्दा बालेनले त्यहाँका उम्मेदवार नन्दकिशोर बस्नेतसँग मात्र दुई मिनेट कुरा गरे। तर, त्यो दुई मिनेटले दैलेखको चुनावी अंकगणित नै बदलिदिएको नन्दको भनाइ छ।
उनी भन्छन्, ‘उहाँ आउनुअघि हाम्रो पकड १० प्रतिशतजस्तो थियो, उहाँ आएर फर्केपछि ह्वात्तै २५ प्रतिशतमाथि पुग्यो।’
बालेनले नन्दलाई दिएको सुझाव थियो– ‘आक्रामक रूपमा कसैप्रति लक्षित नहुनुहोला। एकदमै संयमित भएर चुनावमा लाग्नुहोला। अर्को कुरा, दैलेख बनाउन हामीले के गर्नुपर्छ, त्यो कुरा जनताबाटै सुन्नुहोला र त्यसको समाधान टिपेर राख्नुहोला।’
बालेनले भेटेका उम्मेदवारका अनुसार उनले सिकाएको सबैभन्दा ठूलो कुरा भनेको ‘सहनशीलता’ र ‘अध्ययन’ हो। विपक्षीले गाली गर्दा पनि चुप लाग्न र जनताको समस्या समाधानको खाका कोर्न बालेनको दिएको टिप्सले आम मतदातामा सकारात्मक छाप छोडिरहेको उम्मेदवारहरू सुनाउँछन्।
बालेन यतिबेला मधेस भ्रमणमा छन्। बालेनको गाडी गुड्दा हजारौँ युवाहरू ‘बालेन–बालेन’ भन्दै पछ्याइरहेका छन्।
बुधबार उनले झापा ५ पछि सबैभन्दा बढी चर्चामा रहेको सर्लाही ४ भ्रमण गरे। जहाँ रास्वपाका उम्मेदवार अमरेश सिंह कांग्रेस सभापति गगन थापासँग लडिरहेका छन्। हामीले अमरेशलाई सोध्यौँ– ‘बालेन आएपछि त्यहाँको माहोल कस्तो छ?’
जवाफमा उनले बालेनको उपस्थितिले घन्टीको पक्षमा माहोल झन् बढेको दाबी गरे।
‘५ हजार बढी मतदाताको उपस्थिति थियो, अझै रवि लामिछाने र बालेन फेरि चुनावी सभामै आउने कुरा हुँदैछ, यसले थप सहयोग मिल्नेछ,’ उनी आशावादी सुनिए।
भेटमा बालेनले के भने त?
उनी भन्छन्, ‘युवालाई साथमा लिएर सत्ता परिवर्तन गर्नैपर्छ भन्ने उहाँको भनाइ छ। हामी हरेक वडामा कम्तीमा २०० युवाको परिचालन कमिटी बनाएर चुनावमा होमिँदै छाँै। रास्वपाका कोही पनि उम्मेदवारले पैसा खर्च गरेर चुनाव लडिरहेका छैनन्। पुराना दलहरूले पैसा बाँडे भने पनि त्यो पैसा लिनु तर भोट आफ्नो भविष्यलाई दिनु भन्ने सन्देश मतदातामा पुगिरहेको छ।’
बालेन यतिबेला १६५ वटै निर्वाचन क्षेत्रमा पुग्ने रफ्तारमा छन्। उनी गाडीबाट हात हल्लाउँछन्, जनतासँग फोटो खिचाउँछन् र उम्मेदवारसँग केही मिनेट कुरा गर्छन्।
भाषण नगरे पनि बालेन स्ट्याटस लेखिरहेका छन्। जहाँ पुग्छन्, त्यहीँको रैथाने लवजमा।
कर्णाली पुगेर उनले लेखे– ‘कर्णालीका सुइना, अब हाम्मा सुइना।’ सुदूरपश्चिम पुगेर लेखे– ‘सुदुर अब दुर नाई, झिक्कै झिक्कै माया तम्लाई।’ बझाङ्गबाट बाजुरा जाँदा लेखे– ‘बझाङ्ग बाटि बाजुरा जान लाग्या छु। बडिमालिका माताले सबैकी आशीष दिऊन्।’ पाथीभरा पुगेर लेखे– ‘जय पाथीभरा, जय मुक्कुमलुङ।’
उदयपुर पुगेर त्यहाँको सिमेन्ट उद्योग अगाडि उभिँदै उनले उद्योगहरू ‘देशको मेरुदण्ड’ भन्दै संरक्षण र प्रवर्द्धन हुनुपर्ने लेखे। सप्तकोसी क्षेत्रमा पुगेर खुवालुङलाई ‘सभ्यताको द्वार’ भन्दै किराती सांस्कृतिक पहिचानसँग जोडेर व्याख्या गरे।
बालेनका यी स्टाटस हेर्दा लाग्छ, उनी भाषणबाट होइन, भूगोल, संस्कृति र भाषाबाट जनतासँग सम्बन्ध गाँस्न खोजिरहेका छन्।
‘झुटा सपना नबाँड्नू’
रास्वपाका कैलाली–२ का उम्मेदवार केपी खनालका अनुसार बालेनले जनतामाझ वाचापत्र व्यावहारिक हिसाबले बनाउन सुझाव दिएका छन्।
‘कैलाली आइपुग्दा उहाँ समयभन्दा छिटो आइपुग्नुभएको थियो, धेरै ठाउँ पुग्नुपर्ने भएकाले आधा घन्टा मात्रै बस्नुभयो,’ उनले भने, ‘त्यतिबेला उहाँको सुझाव थियो– राम्रोसँग लाग्नू। जनतामाझ जाँदा स्पष्ट रूपमा जनताको कुरा सुन्नू। वाचापत्रमा गर्न सक्ने कुरा मात्रै राख्नू। यो पटक जनताले जित्नु भनेको तिमीले जित्नु, तिमीले जित्नु भनेको जनताले जित्नु हो। त्यसैले वाचापत्र व्यावहारिक बनाउनू। भोट पाउनकै लागि गर्न नसकिने झुटा सपनाहरू जनतालाई नबाँड्नू।’
रास्वपाका उम्मेदवारहरूको कुरा सुन्दा लाग्छ, बालेनले आफ्ना उम्मेदवारहरूलाई भोट माग्न मात्र सिकाइरहेका छैनन्, उनीहरूलाई जिम्मेवार जनप्रतिनिधिको आचरण पनि सिकाइरहेका छन्।
र, मौनतामै सबैभन्दा प्रभावशाली देखिएका छन् उनी। उनको यो मन्त्रले निर्वाचनमा कस्तो नतिजा ल्याउने हो, त्यो समयले देखाउनेछ। तर यति चाहिँ निश्चित छ– उनको मौन हुरीले नेपाली राजनीतिको संरचना हल्लाइरहेको छ।
Shares

प्रतिक्रिया