पाँच दशकदेखि राष्ट्रिय राजनीतिको भूमिका रहेका नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीमबहादुर रावल निर्णायक मोडमा असफल भएका छन्।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ मा कांग्रेसका भरतकुमार स्वाँरसँग पराजित भएपछि रावलको राजनीतिक पुनरागमनमा धक्का लागेको छ।
कांग्रेसका स्वारले १० हजार ७ सय ५९ मत ल्याउँदा रावलले १० हजार २ सय २३ मत पाए। कांग्रेस पूर्व जिल्ला सभापति स्वारले ५ सय २६ मतान्तरले ‘हेभिवेट’ रावलको राजनीतिक पुनरागमनमा ब्रेक लगाइदिए।
अछाम–१ मा एमालेका दीपकबहादुर साउद, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओमप्रकाश रावल र राप्रपाबाट लोकेन्द्रबहादुर शाह, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का लोकेन्द्र बहादुर शाही, स्वतन्त्र उम्मेदवार भीमबहादुर कुँवर र नेमकिपाका सुरेन्द्र शाही प्रतिस्पर्धामा थिए। एमालेका साउदले ७ हजार ३८९, रास्वपाका १,७३९, राप्रपाका शाहले १०२, नेकपा माओवादीका शाहीले ७५, स्वतन्त्र उम्मेदवार कुँवरले ४१र नेकिपाका शाहीले १० मत पाएका थिए।
नेकपा एमालेको उपाध्यक्ष र उप्रधानमन्त्री भइसकेका रावललाई विगतमा देशको नेतृत्व गर्ने सम्भावित नेताका रुपमा हेरिएको थियो। एमालेको १०औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भीडेपछि पार्टी राजनीतिबाट किनारा लाग्नुपर्ने अवस्था बन्यो। २०८१ पुसमा पार्टीको नीति विपरीत अभिव्यक्ति दिएको भन्दै रावललाई एमालेले संगठित सदस्यसमेत नहरने गरी निष्कासित गरेको थियो।
त्यसपछि ०८१ माघमा रावलले ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका थिए। मातृभूमि जागरण अभियान २०८२ कात्तिक २६ मा नेकपामा समाहित गराएर रावल अछाम–१ को चुनावी मैदानमा उत्रिएका थिए। रावलको प्रवेशपछि सुदूरपश्चिमा नेकपाको उपस्थिति बलियो देखिएको थियो। अहिलेको चुनावी परिणामले त्यसलाई खारेज गरिदियो। सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा नेकपा जित विहीन भयो।
२०७९ निर्वाचनमा कांग्रेस, तत्कालीन माओवादी केन्द्रसँगको गठबन्धनमा एकीकृत समाजवादीले डोटी र बझाङमा जितेको थियो। अछाम–१ मा चुनाव जित्ने बलियो सम्भावना देखिएको रावल नै पराजित भए। २०१२ साल मंसिर २१ मा सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा जन्मिएका रावल विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमा आबद्ध थिए।
०३२ सालदेखि एमालेको राजनीतिमा लागेका रावलले विभिन्न समयमा गरी १३ महिना जेल जीवन बिताएका छन्। २०४६ सालमा कृषिमन्त्री झलनाथ खनालको स्वकीय सचिव बनेका रावल ०४८ मा अछाम–१ मा एमालेबाट उम्मेदवार बनेर पराजित भए। २०५१ को मध्यावधिमा अछाम–१ बाट निर्वाचित भएका उनी ०५२ सालमा पर्यटन राज्यमन्त्री भने २०५५ मा पर्यटनमन्त्री बन्न पनि सफल भए।
२०५६ को चुनावमा पराजित रावल २०६४ मा समानुपातिक सांसद बनेर २०६६ मा गृहमन्त्रीसम्म भए। ०७० मा अछाम–२ बाट निर्वाचित उनी ०७२ मा उपप्रधान तथा रक्षामन्त्री भएका थिए।
२०७४ को प्रतिनिधिसधभा निर्वाचनमा रावल अछाम–१ बाट निर्वाचित भएका थिए। ०७९ को निर्वाचनमा एमाले अध्यक्ष टिकटबाटै वञ्चित भएका उनी अहिले नेकपाको चारा चुनाव चिन्ह बोकेर एमालेविरुद्ध चुनावी मैदानमा थिए। एमालेविरु नेकपाको उम्मेदवार बनेर रावल उभिँदा कांग्रेसले २६ वर्षपछि अछाम–१ मा जित निकालेको छ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डपछि नेतृत्व सम्हालन सक्ने नेताका रुपमा रावललाई हेरिएका थियो। वौद्धिक र राष्ट्रवादी नेताको छवि बनाएका रावलका लागि २०८२ को चुनाव विर्सिना लायक बनेको छ। रास्वपाको सुनामीबाट अछुतो देखिएको अछाममा रावलका लागि कांग्रेसकै स्वार भारी बन्न पुगे। पराजित भएलगत्तै रावलले आफूले प्राप्त गरेको १० हजार २२३ मतलाई अंकगणित मात्र नभई जनताको अमूल्य सम्पत्तिको रूपमा व्याख्या गरेका छन्।
‘अछामी जनताले देखाएको गहिरो माया र समर्थन मेरो हृदयमा अटल रूपमा रहेको छ,’ रावलले भनेका छन्, ‘यही समर्थनको परिणामस्वरूप निर्वाचनको अन्तिम क्षणमा तपाईंहरूको अमूल्य १० हजार २२३ मत प्राप्त गरेको छु । ५२६ मतले म तपाईंहरूको आवाजलाई संसदमा औपचारिक रूपमा प्रस्तुत गर्न नसक्ने भएको छु ।’
रावलले प्राविधिक रूपमा चुनाव हारे पनि आफ्नो राजनीतिक एजेन्डा नहारेको दाबी गरे।
‘मैले यो देशको हित र अछामी जनताको भावना अनुरूप नीति निर्माण तहमा अगाडि बढ्ने जुन सङ्कल्प गरेको थिएँ, त्यो सङ्कल्पबाट म रत्तिभर पनि विचलित छैन,’ रावलले भने, ‘यो राजनीतिक यात्रामा हामीले समाएको न्याय, सत्य र राष्ट्रिय स्वाधिनताको झन्डालाई कदापि झुक्न दिने छैनौँ। यो क्षणिक पराजयबाट कोही पनि निराश हुनुपर्दैन।’
जनताले दिएको मतलाई सम्पत्तिको रूपमा साँचेर राख्ने र सडकबाटै भए पनि नेपालको हक अधिकारको लागि सशक्त रूपमा लडिरहने उनको भनाइ छ।
Shares

प्रतिक्रिया