यसपालिको नारी दिवस सर्लाहीकी नितिमा भण्डारी कार्कीको लागि खास रह्यो। उनले प्रतिनिधिसभा सदस्यको चुनाव जितिन्। त्यसैले नितिमाले उत्साहित हुँदै भिडिओ पोस्ट गरिन्।
‘म एक्लै जितेकी छैन, आज हरेक आमा, दिदीबहिनी र छोरीहरूको स्वाभिमान जितेको छ! यो जित परिवर्तनको एउटा बलियो शंखघोष हो, जसले अब पुराना सोचका पर्खालहरू भत्काउनेछ,’ उनले लेखिन्।
रास्वपाबाट सर्लाही क्षेत्र नम्बर–१ बाट उठेकी नितिमाले ४४ हजार १८१ मत ल्याउँदै जित निकालिन्। नेपाली कांग्रेसका शम्शुलाल श्रेष्ठलाई ३६ हजार ३१० मतको विशाल अन्तरले पराजित गरिन्।
हुन पनि नितिमाका लागि यो जित साँच्चिकै गर्व गर्न लायक थियो। पहिलो पटक चुनावी मैदानमा होमिएकी नितिमा यसपटकको निर्वाचनमा सो क्षेत्रमा एक्ली महिला उम्मेदवार थिइन्। उनले बाँकी २७ जना पुरुष प्रतिस्पर्धीलाई पछि पारिन्।
उनको जितसँगै सर्लाही–१ ले करिब तीन दशकपछि प्रतिनिधि सभा चुनावमा महिला प्रतिनिधि समेत पायो। यसअघि यसै ठाउँबाट २ पटक प्रत्यक्षसहित २ चोटि समानुपातिकमा नेपाली कांग्रेसबाट मीना पाण्डे निर्वाचित भएकी थिइन्। जसकारण यो जितमा आफू निकै भावुक भएको सुनाउँछिन् नितिमा।
‘पहिलो पटक चुनाव लडेर नै सर्लाही–१ का जनताबाट यति ठूलो विश्वास पाउनु मेरो लागि अत्यन्त भावुक र गर्वको क्षण हो। यो मेरो व्यक्तिगत जित मात्र होइन, परिवर्तन चाहने यहाँका सम्पूर्ण मतदाताको जित हो। अब जनताले दिएको यो विश्वासलाई काममार्फत प्रमाणित गर्नु मेरो पहिलो दायित्व हुनेछ,’ उनले नेपालखबरसँगको कुराकानीमा भनिन्।
४३ वर्षीया नितिमा युवा व्यवसायी हुन्। उनीसँग रेस्टुरेन्ट व्यवस्थापन, खाद्य प्रविधि र निर्यात/आयातका क्षेत्रमा दुई दशक काम गरेको अनुभव छ। नेपालसहित बेलायतको कलेजबाट स्नातक पूरा गरेकी उनले आफ्नै व्यवसाय ‘बाजेको सेकुवा’ सम्हाल्दै आइरहेकी छिन्।
यस व्यवसायले आफूलाई व्यवस्थापन, अनुशासन र परिणाममुखी काम गर्ने अनुभव दिएको ठान्छिन् उनी। त्यही अनुभवलाई राजनीतिमा प्रयोग गर्दै विकास र सुशासनको उदाहरण प्रस्तुत गर्ने लक्ष्य उनको छ।
भन्छिन्, ‘व्यवसायलाई सक्षम टिममार्फत सञ्चालन गरिनेछ। र, मेरो प्राथमिकता जनताको सेवा र नीति निर्माणमा रहनेछ।’
आफूमा पहिल्यैदेखि समाजसेवाको भावना र जनताको समस्या नजिकबाट बुझ्ने चाहना रहेको उनको भनाइ छ। सर्लाहीमै हुर्केकाले नितिमाले त्यहाँका समस्या र सम्भावना नजिकबाट देखेकी थिइन्। समस्या र सम्भावनालाई मध्यनजर गर्दै देशलाई इमानदार र काम गर्ने नेतृत्व आवश्यक देखेर राजनीतिमा आएको उनको भनाइ छ।
‘विशेष गरी तराई क्षेत्रमा कृषि क्षेत्रलाई आधुनिक प्रविधि र उद्योगसँग जोड्न सकियो भने ठूलो सम्भावना छ। अहिले देशलाई इमानदार र काम गर्ने नेतृत्व आवश्यक देखेर नै मैले सक्रिय राजनीतिमा आउने निर्णय गरेकी हुँ,’ उनले दाबी गरिन्।
चुनावी अभियानका क्रममा नितिमा गाउँ–गाउँ पुगिन्। जनताहरूले मुख्य रूपमा विकास, रोजगारी, गुणस्तरीय शिक्षा, राम्रो स्वास्थ्य सेवा र पारदर्शी नेतृत्वको अपेक्षा राखेको उनको भनाइ छ। साथै केही वर्षयता धेरै युवाहरू विदेश जान बाध्य भइरहेका छन्। त्यसलाई रोक्ने वातावरण बनाउनुपर्ने माग पनि जनताबाट आएको उनले सुनाइन्। ती अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्ने नितिमाको प्रतिबद्धता छ।
महिलाको आर्थिक सशक्तीकरणलाई विशेष प्राथमिकतामा राख्ने नितिमाले बताइन्। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन लाग्ने उनको योजना छ।
‘ग्रामीण क्षेत्रका महिलालाई कृषि र उद्यमशीलतासँग जोड्दै सुक्खा तरकारी उत्पादन तथा प्रशोधनसम्बन्धी तालिम र गाउँस्तरमै प्रशोधन केन्द्र स्थापना गर्ने योजना छ,’ नितिमा भन्छिन्, ‘साथै नदी बेल्ट क्षेत्रमा महिला कृषि समूहलाई सशक्त बनाउँदै उत्पादनदेखि बजारसम्म उनीहरूको सहभागिता बढाउने प्रयास हुनेछ, जसले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनेछ।’
निर्वाचनको मत परिणाम आएसँगै मन्त्री बन्ने रस्साकस्सी चलिसकेको छ। नितिमाले आफ्नो पहिलो प्राथमिकता सर्लाही–१ का जनताको आवाजलाई संसदमा सशक्त रूपमा उठाउनु रहेको स्पष्ट पारिन्। तर, अवसर पाएको खण्डमा जिम्मेवारी लिन तयार रहेको उनको भनाइ छ।
भन्छिन्, ‘पदभन्दा काम महत्वपूर्ण हुन्छ भन्ने मेरो विश्वास छ। अवसर आएमा जिम्मेवारी लिन तयार छु। तर मेरो ध्यान मुख्य रूपमा जनताको समस्या समाधान र क्षेत्रको विकासमा केन्द्रित रहनेछ।’
Shares

प्रतिक्रिया