नेपाली कांग्रेसको आधिकारितालाई लिएर सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्ने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले निष्कर्ष निकालेको छ।
शनिबार निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको देउवा पक्षका नेताहरूको बैठकले सर्वोच्चको फैसला स्वीकार्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विश्वकर्माले भने, ‘फैसला स्वीकार्ने भइयो।’
बैठकले सर्वोच्चको फैसला र कांग्रेसलाई एकजुट बनाएर लैजाने विषयमा छलफल भएको उनले बताए। अब खड्काले पनि निवर्तमान कार्यवाहक सभापतिकै रुपमा काम गर्ने उनको भनाइ थियो। ‘अब उहाँ निवर्तमान कार्यवाहक सभापति हुनुभयो, त्यसलाई स्वीकारेका छौँ,’ उनले भने।
शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिलाई मान्यता दिने फैसला गरेको थियो। यसअघि खड्काले कार्यवाहक सभापतिका रुपमा प्रेस कामकाज गर्दै आएका थिए। उनले कार्यवाहक सभापति भनेरै प्रेस विज्ञप्ति पनि जारी गरेका थिए।
बैठकमा सर्वोच्चको फैसलामा केही त्रुटी र असहमति भए पनि त्यसलाई मान्नेमा सहमति बनेको उनले बताए। ‘त्यसमा हाम्रा पर्याप्त असहमति छन्। तर, स्वतन्त्र न्यायापालिकाले गरेको फैसलालाई नेपाली कांग्रेसले मान्दै आएको छ, यस पटक पनि मान्छ,’ विश्वकर्माले भने।
सर्वोच्चको फैसलासँगै कानुनी र वैधानिकताको विषय टुंगिए पनि राजनीतिक विषय बाँकी रहेको उनको भनाइ थियो। अब त्यसलाई कसरी सुल्झाएर कसरी अघि बढ्ने भन्ने सभापति थापामा भर पर्ने विश्वकर्माले बताए।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मान्यता दिँदा पनि निवर्तमान सभापति देउवाले पार्टी एकतालाई जोगाइ राख्न प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन लगाएको उनले उल्लेख गरे। सर्वोच्च अदालतमा मुद्दा विचाराधनी रहेको वेला गत फागुन २१ मा भएको निर्वाचनमा देउवा पक्षका नेता पनि थापाले दिएको टिकटमा चुनाव लडेका थिए। त्यतिवेला देउवाले पार्टी एकता जोगाउन चुनाव लड्न लगाएको उनको भनाइ थियो।
अब पार्टीलाई एकतालाई जोगाउने जिम्मेवारी देउवाको हातबाट थापाको हातमा आएको विश्वकर्माले बताए। ‘अब पार्टीलाई कसरी लैजाने भन्ने हिजो शेरबहादुर देउवाको खुट्टामा बल थियो भने अब त्यो बल सर्वोच्च अदालतले अहिलेका विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको खुट्टामा फालिदिएको छ,’ उनले भने।
कांग्रेसलाई एकजुट बनाएर लग्ने जिम्मेवारी सभापति थापाको भएको उनको भनाइ थियो। सबैलाई एकढिक्का भएर अघि बढ्ने वातावरण थापाले बनाउनुपर्ने उनले बताए।
‘अब उहाँले कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रुपले सबैको एक स्वरले नेपाली कांग्रेसका पक्षमा आवद्ध हुने वातावरण बनाउनुहुन्छ? त्यो गगन थापाको हातमा छ,’ विश्वकर्माले भने।
Shares

प्रतिक्रिया