राजनीति


राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेटवार्ता

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेटवार्ता

नेपालखबर
बैशाख ६, २०८३ आइतबार ७:२४, काठमाडौँ

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गरेका हुन्।

भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनुपर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीयमैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताए।

दुई देशबीचको कूटनीतिक सम्बन्ध ६ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे।

अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपाली भारतको राजधानी दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरे।

आईपीयूको महासभामा टर्की सरकार र संसद्ले गरेको स्वागत र हार्दिकताका लागि अध्यक्ष दाहालले धन्यवाद व्यक्त गरे।

सो क्रममा टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुखले राष्ट्रियसभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधिमण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूतावास खोल्न सकारात्मक रहेको बताए।

टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उनले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरे।

आगामी नोभेम्बरमा कोप–३१ टर्कीमा हुन लागेको उल्लेख गर्दै सभामुख नुमानले त्यसको नेतृत्वका लागि टर्कीलाई आवश्यक सहयोग गर्न अनुरोध पनि गरे । भेटमा आईपीयूमा सहभागी नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरू पनि उपस्थित थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad