राजनीति


प्रचण्डले नसकेको पर्खाल सेनाका कप्तानलाई रोक्दै राजु पाण्डेले डोजर लगाएर ढालेपछि ... (भिडि‌ओ)

स्थानीय भन्छन्— पैदल हिँड्न पनि डरमर्दो थियो बाटो, यो महान काम भयो
प्रचण्डले नसकेको पर्खाल सेनाका कप्तानलाई रोक्दै राजु पाण्डेले डोजर लगाएर ढालेपछि ... (भिडि‌ओ)

आयुषा ढकाल
साउन २२, २०८३ शुक्रबार ७:३४, काठमाडौँ

नेपाल ट्रस्टको पर्खालले बागमती करिडोरमा समस्या पार्‍यो भन्ने गुनासो आएपछि २०७९ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँको गोकर्णेश्वर पुगे। उनले त्यो ठाउँको अनुगमन गरे। र, यो समस्या समाधान गरिदिने वाचा पनि गरे।

तर, प्रचण्डको आश्वासन पूरा भएन। पर्खाल जस्ताको तस्तै रह्यो। बाटो साँघुरै ररिह्यो। स्थानीयले धेरै वर्षदेखि खेप्दै आइरहेको सास्ती अब भने समाधान हुने भएको छ।

काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेको अगुवाइमा सो पर्खाल भत्काइएको छ।

मंगलबार पाण्डेले सेनाका क्याप्टेनलाई औँला ठड्याउँदै थर्काएको एउटा भिडिओ भाइरल भयो। यसमा सेनाले असन्तुष्टि जनाएको र प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले सांसद पाण्डेलाई सचेत गराएको खबर पनि आए।

साँझ फेरि पाण्डेले आफूले सेनालाई सम्मान गर्ने बताउँदै स्थानीयको समस्या समाधानको लागि काम गरेको स्पष्टीकरण दिनुपर्‍यो।

सत्ताको उपल्लो कोठाचोटा र सामाजिक सन्जालमा ठूलै हलचल ल्याए पनि यो घटनाबाट स्थानीय भने खुसी छन्। प्रचण्डले ढाल्न नसकेको पर्खाल राजुनाथले ढालेर स्थानीयले भोग्दै आएको सास्ती घटाउने काम गरेको उनीहरूको भनाइ छ।

‘यो समस्या समाधानका लागि पटक–पटक धेरै नेताहरूको भिजिट भयो। कुरा मात्र भए, काम भएको थिएन। तर यस पटक भने काम भयो। ढिलो चाँडो यो बाटो बन्ला भन्ने छ,’ गोकर्णेश्वरका स्थानीय राजन भट्टराईले नेपालखबरसँग भने।

उनी नेपाल ट्रस्टको छेउको बाटो फराकिलो हुन लागेको कुराले निकै खुसी देखिन्छन्। 

‘यो बाटोबाट मोटरसाइकल चलाएर हिँड्दा धेरै पटक लडेको छु,’ उनले भने, ‘सांसद राजु पाण्डेले गर्नु पर्ने प्रक्रिया राम्रोसँग नपुर्‍याएको भए तापनि गरेको काम भने निकै ठूलो हो।’

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित नेपाल ट्रस्टको पर्खालसँगै रहेको साँघुरो बाटो वर्षौँदेखि स्थानीयका लागि सास्तीको कारण बनेको थियो। बाटो भए पनि साँघुरो र जोखिमपूर्ण भएकाले सवारी साधन चलाउन कठिन हुने गर्थ्यो। दुई सवारी एकैपटक आउँदा एकले रोकिएर अर्कोलाई बाटो दिनुपर्ने अवस्था थियो। त्यस्तै मोटरसाइकल चालक र पैदलयात्री समेत दुर्घटनाको जोखिम मोलेर यात्रा गर्न बाध्य थिए।

अब नेपाल ट्रस्टको पर्खाल भत्काएपछि यसलाई फराकिलो सडक बनाउने प्रक्रिया अगाडि बढेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले बताए। वर्षौँदेखि उठ्दै आएको स्थानीयको मागले अन्ततः मूर्त रूप लिन थालेपछि नयाँ आशा पलाएको उनले बताए।

अध्यक्ष महतका अनुसार वडा कार्यालयले २०७४ सालदेखि नै नेपाल ट्रस्टको केन्द्रीय कार्यालय कमलादी तथा गोकर्णस्थित इकाई कार्यालयलाई सडक विस्तारका लागि पटक–पटक पत्राचार गरेको थियो। तर, विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन।

अहिले नेपाली सेनासँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढिरहेको उनले बताए। स्वीकृति प्राप्त भइसकेपछि भत्काइएको इँटा–ढुङ्गा हटाउने, आवश्यक रुख कटान गर्ने तथा सडक विस्तारका सम्पूर्ण काम अगाडि बढाइने उनले जानकारी दिए।

‘यो सडक विस्तार भएपछि गोकर्णेश्वर–४ र कागेश्वरी मनोहरा–४ का बासिन्दालाई ठूलो राहत हुनेछ। यही मार्ग हुँदै मेलम्ची, चिसापानी तथा चाबहिल गौशाला तर्फ आवतजावत गर्न सहज हुनेछ,’ अध्यक्ष जयरामले भने।

यो मार्ग निर्माण भए यात्रुहरूलाई लगभग १.२ किमि बाटो छोटो पर्ने उनले बताए।

‘गोकर्णेश्वर नगरपालिकाका १ देखि ४ नम्बर वडासम्म जानका लागि वैकल्पिक मार्ग नै थिएन, यदि भगवती मार्ग वा हनुमानचोकमा ब्लकेज भइदियो भने हामी निस्किने ठाउँ नै थिएन,’ महतले भने, ‘यो मार्ग विस्तार भएसँगै स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्दैन।’

स्थानीय रुद्र भट्टराई गोकर्णेश्वरको जाममा डेढ घण्टासम्म परेका छन्। उनी कहिलेकाहीँ नेपाल ट्रस्टको छेउको यो धराप बाटो मोटरसाइकल चलाएर हिँड्ने गर्थे। 

‘धेरै पटक बाइक चिप्लिएर लडियो। यो बाटो हामीलाई साह्र नै आवश्यक परेको थियो,’ भट्टराईले भने।

६ वर्षअघि विदुर अर्यालकी गर्भवती छोरी यो बाटोमा यात्रा गर्दा लडेकी थिइन्। 

‘भाग्यवश पेटमा भएको बच्चालाई भने केही पनि भएन। तर, यस्ता घटना भइरहन्थे। अब यो बाटो बनेपछि यस्ता घटनाहरू दोहोरिँदैनन्। यो ठूलो कुरा हो,’ उनी भन्छन्।

बसुन बोम्जन पनि यो मार्ग निर्माण भएपछि निकै खुसी देखिएकी छिन्। 

‘माकलबारीदेखि सिधै नामगेलसम्म जाने बाटो बन्न लाग्यो। सारै खुसी लागेको छ,’ बोम्जनले नेपालखबरसँग भनिन्। 

उनी यस बाटो हिँड्दा निकै डराउँथिन्। तर, अब बाटो फराकिलो भएपछि खुल्ला हुने र मानिसहरूको आवतजावत धेरै हुने हुँदा आफूलाई सहज हुने उनको भनाइ छ।

भिडि‌ओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad