राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आर्थिक सुधार, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको 'डेलिभरी मोडल'लगायत विषयमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग छलफल भइरहेको बताएका छन्।
यस क्रममा उनले चुनावी अभियानका लागि माघ ५ गते सभापति रवि लामिछानेसहित जनकपुर जाने जानकारी पनि दिएका छन्।
‘उन्नयनको आसन्न अध्याय’ शीर्षकमा बालेनसँग छलफल गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखेर वाग्लेले बिहीबार बिहान लेखेका छन्, ‘आर्थिक सुधारको शृंखला, वृद्धि, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको 'डेलिभरी मोडल' लगायत विषयमा रास्वपा नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहसँग चरणबद्ध छलफल जारी छ।’
उनले अगाडि लेखेका छन्, ‘माघ ५ गते सभापति रवि लामिछानेसहित हामी जनकपुर आउँदै छौँ। देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेसबाट, निकास फागुन २१ को निर्वाचनबाट।’
काठमाडौँ महानगरपालिकाका मेयर बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बन्ने सर्तमा रास्वपामा समाहित हुँदै वरिष्ठ नेता बनेका हुन्। रास्वपामा उनी केन्द्रीय सदस्य मात्र भए पनि वरीयतामा उनलाई सभापति लामिछानेपछि राखेर वरिष्ठ नेता बनाइएको हो।
रास्वपा उपसभापति वाग्लेको फेसबुक स्टाटस केही दिनअघि आफ्ना सभापति लामिछानेले सार्वजनिक भाषणका क्रममा ‘डाक्टर साप आगामी आर्थिक वर्षका लागि बजेट लेख्न थाल्नूस्’ भनेर दिएको अभिव्यक्तिसँग सम्बन्धित देखिन्छ।
Shares

प्रतिक्रिया