आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुकुमपश्चिमबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को उम्मेदवारमा एकल सिफारिस भएका नेता गोपाल शर्माले आफ्नो श्रीमतीको नाम समानुपातिक बन्द सूचीबाट हटाउने घोषणा गरेका छन्।
श्रीमान् प्रत्यक्षतर्फ र श्रीमती समानुपातिक सूचीमा भनेर टिप्पणी भएपछि शर्माले पत्नीको उम्मेदवारी फिर्ता लिने बताएका हुन्।
नेता शर्माकी श्रीमती अञ्जु दहित नेकपाको समानुपातिक बन्दसूचीमा समेटिएकी थिइन्।
नेकपाले निर्वाचन कार्यालयमा बुझाएको बन्दसूचीमा अञ्जुको नाम थारु क्लस्टरमा दुई नम्बरमा छ।
तर आलोचना भएपछि शर्माले शनिबार बिहानै फेसबुकमार्फत सुझावका लागि धन्यवाद भन्दै श्रीमतीको नाम समानुपातिक बन्दसूचीबाट हटाइने जानकारी गराएका हुन्।
‘समानुपातिक बन्दसूचीमा कमरेड अञ्जुको नाम समावेश भएको थाहा भएपछि हामीले कुनै एक जनाको मात्र (त्यो पनि आवश्यक ठानिएमा) उमेदवारी हुने गरी निर्णय लिन संयोजक क. प्रचण्डलाई भनिसकिएको र उहाँसँग भएको छलफलको आधारमा अन्तिम बन्दसूचीमा क. अञ्जुको नाम समावेश नहुने निश्चित भइसकेको छ’, उनले लेखेका छन्।
उनले अगाडि यो पनि लेखेका छन्, ‘समानुपातिक उमेदवारहरूको अन्तिम सूची प्रकाशित होउन्जेल धैर्य गर्दै आलोचना गर्नु उपयुक्त होला कि? हाम्रो दाम्पत्य जीवनको सुरुवात (विगत २० वर्षदेखि पार्टी निर्णयको आधारमा हामी अलगअलग जिल्लामा तर समान जिम्मेवारीमा सक्रिय छौँ। राजनीतिमा एकले अर्काबाट सहारा लिएको वा खोजेको अवस्था आजसम्म छैन। जे छौँ निजी निर्णय र अपेक्षाबाट भन्दा कमिटीले आवश्यक ठानेको आधारमा जिम्मेवारी लिइरहेका छौँ। पार्टीले नाम फिर्ता नलिएमा गत निर्वाचनमा जस्तै (गत निर्वाचनमा पार्टीले फिर्ता नलिएको अवस्थामा पनि क. अञ्जुले फिर्ता लिएको प्रमाण छ) व्यक्तिले फिर्ता लिन पाउने समयमा नाम फिर्ता हुनेछ। सुझाव र आलोचनाको लागी धन्यवाद।’
अञ्जु गत २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा मओवादी केन्द्रबाट बर्दियाको बारबर्दिया नगरपालिकाको नगर उपप्रमुखमा ११ हजार ११ मत ल्याएर निर्वाचित भएकी थिइन्।
त्यसपछि उनी २०७९ सालमा भएको प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्षतर्फ चुनाव लडेकी थिइन्। उनी बर्दिया निर्वाचन क्षेत्र नम्बर-१ प्रदेशसभा २ बाट प्रत्यक्ष उम्मेदवारी बनेकी थिइन्। प्रदेशसभा निर्वाचनमा उनी ११ हजार ४९० मत प्राप्त गरेर तेस्रो भएकी थिइन्।
यस्तै गोपाल शर्मा २०७४ सालको प्रदेशसभा निर्वाचनमा रुकुमपश्चिमबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। सोही कार्यालयकालमा शर्मा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत बनेका थिए।

Shares

प्रतिक्रिया