भोजपुरबाट प्रतिनिधि सभा निर्वाचनमा ध्रुवराज राईले आफ्नै पूर्व नेतालाई हराएका छन्।
नेकपा (एमाले) का नेता एवं कोसीका पूर्वमुख्यमन्त्री शेरधन राई ध्रुवराजसँग पराजित भएका हुन्। उम्मेदवारी दर्ता गर्नुभन्दा अघिसम्म एमालेको कोशी प्रदेश कमिटीको सदस्य रहेका ध्रुवराजले पार्टी छाडेर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई अँगालेका हुन्।
२०५७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय ध्रुवराजले अनेरास्ववियूको केन्द्रीय सचिवालय सदस्य र एमालेको कोशी प्रदेश कमिटी सदस्यसम्मको जिम्मेवारी सम्हालेका थिए। भोजपुरमा शेरधनले पार्टीको नेतृत्व गर्दा ध्रुवराज जिल्ला कमिटी सदस्य थिए।
एमालेमा लामो समय व्यतित गरेका उनी यसपटक श्रम संस्कृति पार्टीबाट चुनाव लड्न पुगे र आफ्नै नेतालाई हराए। एमालेका उम्मेदवार शेरधनले १४ हजार ७५० मत प्राप्त गर्दा ध्रुवराज १६ हजार ६६३ मतका साथ निर्वाचित भएका हुन्।
आफू पद र शक्तिका लागि भन्दा पनि पद्धति सुधारका लागि लागिपरेको उनी सुनाउँछन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षका रूपमा सफल कार्यकाल पूरा गरेका ध्रुवराजले स्थानीय तहमा भ्रष्टाचार विरोधी र विकासप्रेमी नेताको पहिचान बनाएका छन्।
उनले आफ्नो विजयलाई जनताको विश्वास र परिवर्तनको चाहनाका रूपमा व्याख्या गरे। पूर्वमुख्यमन्त्री शेरधन जस्ता प्रभावशाली नेतालाई पराजित गरेका ध्रुवराजले यो जित कुनै व्यक्ति वा पार्टी विशेषको हारभन्दा पनि जनताले काम गर्ने मान्छेलाई चुनेको तर्क गर्छन्।
गत स्थानीय निर्वाचनमा सत्ता गठबन्धनका कारण टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा पराजय भोगेका थिए। ‘जनताले विगतको कार्यसम्पादन र स्पष्ट वक्ताको छविलाई अनुमोदन गरेका छन्,’ उनी भन्छन्।
अब संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि उनी स्पष्ट छन्। प्रतिपक्षका रुपमा जनताको आवाज बोल्ने उनको भनाइ छ। विशेष गरी भ्रष्टाचार नियन्त्रण र बजेटको न्यायोचित वितरण आफ्नो मुख्य एजेन्डा रहने उनी बताउँछन्।
‘पहुँचवालाका क्षेत्रमा मात्र बजेट थुप्रिने परिपाटीको अन्त्य गरी विकास नभएका ठाउँमा स्रोत पुर्याउन सदनमा आवाज उठाउँछु,’ ध्रुवराज भन्छन्, ‘हर्क साम्पाङले अघि सारेको हर्कवाद र श्रम संस्कृतिको अवधारणाबाट जनता प्रभावित भएका छन्, त्यसलाई स्थापित गर्नु छ।’
पुराना दलहरूको दम्भ र कार्यकर्ता पेल्ने प्रवृत्तिका कारण नयाँ शक्तिहरूको उदय भएको उनको विश्लेषण छ। छोटो समयको तयारीमा पनि पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुले भविष्यमा पुराना दललाई ठूलो चुनौती थपिएको उनको भनाइ छ।
भोजपुरबासीका लागि सुशासन र प्रभावकारी विकास नै आफ्नो प्राथमिकता रहने बताउँदै उनी विकास निर्माणका कार्यमा जनताको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहेको बताउँछन्।
Shares

प्रतिक्रिया