राजनीति


मातृका यादवलाई जितको प्रमाणपत्र दिन माग गर्दै नेकपाको प्रदर्शन

मातृका यादवलाई जितको प्रमाणपत्र दिन माग गर्दै नेकपाको प्रदर्शन

सुभाष कर्ण
फागुन २४, २०८२ आइतबार २२:५१, जनकपुरधाम

निर्वाचन आयोगविरुद्ध धनुषा-१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले प्रदर्शनमा उत्रिएका छन्। 

आफ्नो उम्मेदवार विजयी भइसके पनि निर्वाचन आयोगले घोषणा नगरेको भन्दै नेकपाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्। उनीहरू तत्काल प्रमाणपत्र वितरण माग गर्दै धनुषा-१ को धनुषाधामस्थित मतगणनास्थलमा प्रदर्शन गरिरहेका छन्। 

नेकपाका उम्मेदवार मातृका यादवले निर्वाचन आयोग दोहरो चरित्र देखाउन खोजेको आरोप लगाए। आफैले गरेका निर्णयबाट तीन-तीन पटक निर्वाचन आयोग पछि हटेको उनको भनाइ छ। पटक पटक निर्णय फेरिनु न्याय संगत नभएको उनले बताए। 

कसैको दबाबमा आएर आफ्नो जागिर बचाउन निर्वाचन आयोग अधिकृतको कार्यालयका प्रमुखले विजयी भएको प्रमाणपत्र दिन रोकेको उनले आरोप लगाए। ‘पहिला त रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरियो। निर्वाचनपछि उनको मतगणना गरी छुट्टै लगत राख्ने भनी निर्णय गरे, अनि आज आएर फेरि आफ्नै निर्णय फेर्दै मुद्दा विचाराधिन रहेको भनी निर्वाचन परिणाम घोषणा गरेको छैन,’ यादवले भने। 

आयोगका शाखा अधिकृत अरुण अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले मतगणनाको परिणाम घोषणा नगर्न पत्र पाठएको जानकारी गराएका थिए। 

आयोगले पत्रमा सर्वोच्चबाट आदेश नभएसम्म धनुषा-१ मा प्रत्यक्षतर्फको मत परिणाम घोषणा नगर्न भनेको छ। आयोगले कर्जा सूचना केन्द्रको ऋणको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएसँगै फागुन १८ गते किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। त्यसपछि  उनी सर्वोच्च अदालत पुगेका थिए। त्यसमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। 

आयोगले आफ्नो निर्णय नसच्याएर आफूलाई विजयीको प्रमाणपत्र नदिएसम्म प्रदर्शन जारी राख्ने यादवले चेतावनी दिएका छन्। नेकपाका सयौँ कार्यकर्ता निर्वाचन आयोग अधिकृत कार्यालय घेराउ गरी प्रदर्शन गरिरहेका छन्। 

आयोगका अन्तिम परिणाम अनुसार साहबाहेक यादवको १० हजार ४२८, नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहको ९ हजार ४८५ र नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डलको ९ हजार २२० मत आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad