सामान्यतया काठमाडौँ उपत्यकाभन्दा उच्च हिमाली जिल्ला जुम्ला नै बढी चिसो हुन्छ। त्यसो त आज (आइतबार) बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री हुँदा जुम्लामा माइनस ४ डिग्री सेल्सियस छ। अर्थात् काठमाडौँभन्दा जुम्ला कता हो कता चिसो छ।
तर मौसम पूर्वानुमान महाशाखाको तथ्यांक हेर्ने हो भने शनिबार दिउँसो जुम्लाभन्दा काठमाडौँ चिसो थियो। अर्थात् शनिबार जुम्लाको अधिकतम तापक्रम २०.२ डिग्री सेल्सियस छ भने काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम यसभन्दा तल १८.८ डिग्री सेल्सियस छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले बिहानको चिसो कति थियो भनेर देखाउँछ भने अधिकतम तापक्रमले दिउँसो कति चिसो वा तातो थियो भनेर जनाउँछ।
नेपालखबरले आइतबार बिहान राखेको जिज्ञासामा मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने, ‘यस आधारमा तपाईंले गरेको काठमाडौँ र जुम्लाको अधिकतम तापक्रमको तुलना रोचक नै हो, शनिबार दिउँसो जुम्लाभन्दा थोरै मात्रामा भए पनि काठमाडौँ नै चिसो थियो भन्न सकियो।’
उनले थपे, ‘यो चाहिँ दिउँसो कहाँ कति घाम देखिएको थियो भन्ने कुराले फरक पार्छ, प्रदूषणको मात्रा पनि यसको अर्को कारण हो।’
कहिलेकाहीँ यस्तो हुने उनको भनाइ छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ भने सबैभन्दा माथि पुगेको तापक्रम अधिकतम तापक्रम हुन्छ।
हेर्नुहोस् आजको न्यूनतम र हिजोको अधिकतम तापक्रम विवरण:

नोट आज (आइतबार) को अधिकतम तापक्रम भने साँझ ५:४५ बजे मापन हुनेछ।
Shares

प्रतिक्रिया