केही वर्षयतादेखि पृथ्वीनारायण शाहले आफ्नो समयमा सुरु गरेको राज्यविस्तार अभियानका क्रममा गोरखाली सेना हिँडेको बाटोलाई ‘एकीकरण पदमार्ग’ नाम दिइएको छ। त्यस्ता पहिचान गरिएका मार्गमा पुस २७ गते पुरानो गोरखाली तिलङ्गा सैन्य पोसाकमा सेनाका जवानहरू हिँड्ने गरेका छन्।
पूर्वी नेपालको धनकुटामा पनि हरेक वर्षको पुस २७ गते त्यस्ता पदमार्ग पहिल्याएर सेनाका जवान मात्रै होइन, सर्वसाधारणले पनि पदयात्रामा उत्साह देखाउँदै आएका छन्। उनीहरूको यात्रा धरानको फुस्रेबाट सुरु भई पुरानो पैदलमार्ग हुँदै साँगुरीगढी उक्लेर त्यहाँबाट लेउतीखोलीको किनारमा रहेको फेदी झरेर त्यस वर्षको यात्रा टुङ्गिने गरेको छ। यहाँसम्मको यात्राले सही मार्ग नै पहिल्याएको छ। नेपाली सेनाको धनकुटामा रहेको पल्टनले यसको आयोजना गर्दै आएको छ।
फेदीबाट एकीकरण पदमार्गको यात्रा अगाडि बढाउने हो भने त्यो कहाँसम्म पुग्ला? आजसम्म पदयात्रा आयोजक तथा यात्रीहरूले घोषणा गरिसकेको देखिँदैन। तर, पदयात्राका क्रममा धनकुटा नगरपालिकाले यात्रीका लागि बाँडेको निलो रङको टिसर्टमा दृष्टि दिने हो भने त्यहाँ छापिएको एकीकरण पदमार्ग ऐतिहासिक तथ्यसँग मेल खाँदैन। नगरपालिकाले कोसँग परामर्श गरी टिसर्टमा पदमार्ग यस्तो देखायो, थाहा भएन। यदि एकीकरण पदमार्ग भनेर यही बाटो हुँदै पदयात्रा गरिए त्यो इतिहास विपरीत हुनेछ। यस्तो हुन नदिन ऐतिहासिक तथ्यहरू निफन्दै वि.सं. १८३१ मा विजयपुरबाट गोरखाली सेना पहाडी भेगतर्फ हिँडेको सही बाटोको बारेमा यहाँ चर्चा गरिएको छ। यसभन्दा अघि राजा पृथ्वीनारायण शाहको आदेशमा पूर्वतिरको गोरखाली अभियानका बारेमा चर्चा गरौँ।
पूर्वतिरको गोरखाली अभियान
माझकिरातको चौदण्डीका पुरोहित हरिनन्द पोखरेल र सरदार स्वरुपसिंह कार्की त्यहाँको माटोको डल्लो लिएर नुवाकोट मुकाम गरेर बसेका राजा पृथ्वीनारायण शाहलाई चढाउन पुगे। त्यसपछि असाध्यै उत्साहित भएका राजाले माझकिरातको आन्तरिक परिस्थिति बुझ्न आफ्ना भारदार बाङ्ग्या बस्न्यातलाई खटाएका थिए। सम्पूर्ण कुरा बुझेपछि पूर्वतिरको अभियान सुरु गर्न सरदार रामकृष्ण कुँवरलाई सैन्य नेतृत्त्व प्रदान गरियो। पृथ्वीनारायण शाहले वि.सं. १८२९ आश्विन वदी ५ रोज ४ मा रामकृष्ण कुँवरलाई लेखेको पत्रमा ‘कालु पाँडे कीर्तिपुरमा पर्दा ३ सहर नेपाल अब मैले मार्न सकिन भनि मेरा मन हारेको थियो. तिम्रो बुद्धि र तरबारका जोरले मार्याको येस्को मिहिनेतदेषी तिमिलाई केही दिउ भन्या यो आधा राज्य दिया पनि पुग्न्या छैन. सिंवुको हेरोफेरो र धुलिषेल तिम्रा दरसंतानतकले षानु भनि बक्स्यौ. तिमालमा तिम्रा भाइ पर्दा बहुतै फिक्री लाग्यो. अब किंरात हान्नालाई तिम्रो भर छ... ’ (नयराज पन्त र अरु (सम्पा.), ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’–२०२५:१०९५) भन्ने उल्लेख गरेका छन्।
बाङ्ग्या बस्नेत सबै परिस्थिति बुझेर फर्केपछि पृथ्वीनारायण शाहले अमरसिंह थापालाई नायब गराएर रामकृष्ण कुँवरको सैन्य नेतृत्वमा गोरखाली सेना पूर्वतिर बढ्दा उनीहरूलाई हरिनन्द र त्रिलोचन पोखरेलले दुधकोसी र सुनकोसीको दोभानमा रातको समयमा डुङ्गामा तारी वि.सं. १८२९ भदौ १३ गते माझकिरातमा घुसाए (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’– २०६१:४१७–१८)।
उनीहरू माझकिराती खम्बु सेनासँग घमासान युद्ध लड्दै अगाडि बढ्दै जाँदा गोरखालीहरूले माझकिरातीमाथि निकै ठूलो अत्याचारसमेत गरेको लिखित स्रोत पाइएका छन्। बेलायतमा रहेको हज्सन सङ्कलनमा प्राप्त सामग्रीमा गोरखा पक्षमा मिल्न नआउने वा आत्मसमर्पण नगर्ने खम्बु–किरातीका पुरुष जति सम्पूर्ण र तिनका कम उमेरका ठिटा बालक सन्तानलाई समेत गोरखाली सेनाले मारिदिएका थिए। यतिसम्म कि पुरुष सन्तान जन्माउने आशङ्कामा महिलाको गर्भ समेत तुहाइदिएको र शिशुहरूलाई ओखलमा हालेर किचिएको भन्ने चर्चा समेत स्रोतमा परेको छ (डा. रमेश ढुङ्गेल, ‘हिमाल’ वर्ष १५ अङ्क २२–फागुन २०६२:६१)।
यसरी पहाडी बाटोबाट पूर्वतर्फ बढेको आफ्नो सेनालाई पृथ्वीनारायण शाहले उत्साह भर्दै लगे। प्रशस्तै रसदपानी, गोलाबारुद, लत्ता कपडा पठाउँदै रहे। युद्धस्थलमा लडिरहेका रामकृष्ण कुँवर र अमरसिंह थापालाई पृथ्वीनारायण शाहले वि.सं. १८३० माघ वदी रोज १ मा लेखेको पत्रमा ‘मझुवा कुलम महादिंगला पौवामा आयाका वैरीलाई काट्यौ. यति षस्या. येति घाइता भया भंने लेषीपठायेछौ वढीया. घडा २१ वारुद र ५ हजार गोली अस्ती अस्ती पठाइदिञाथ्यौं. यस पाला पनी घडा २० वारुद र ६८२५ गोली तोला ४५ इपात गोटा ७५७ पत्थर सये ९ कागज पठायेको छ. बाडीदिनु.’ (डा. इन्दिरा जोशी, ‘आधुनिक नेपालको निर्माणमा बडाकाजी अमरसिंह थापाको योगदान’ –२०६३:१०८) भन्ने प्रसङ्ग परेको छ।
यसअघि पनि अमरसिंह थापा तथा सिवे खत्री, रणसुर विष्ट, दलपति खवासलगायतलाई पृथ्वीनारायण शाहले माझकिरातको युद्धमा घातक हमला गर्न गोलाबारुद पठाएका थिए। उनले वि.सं. १८२९ फागुन सुदी ७ मा लेखेको पत्रमा ‘पूर्व हान्नालाइ मिहिनेत गर्नाका तिमीहरूबाट कसर रहन्याछैन. रामकृष्ण कुवरले लाया अह्रायाको मान्यैछौ. १० घडा बारुद ३ हजार गोली पठायाको छ पुगला’ (जोशी, २०६३:१०८) भन्ने परेबाट गोरखाली सेनालाई पृथ्वीनारायण शाहबाट भरपुर उत्साह भर्ने काम भइरहेको थियो भन्ने स्पष्ट छ।
तराई खण्डबाट चौदण्डीतिर चाहिँ अभिमानसिंह बस्नेत अगाडि बढिरहेका थिए। उनका साथ पारथ भण्डारी, कीर्तिसिंह खवास, बलि बानियाँ आदि थिए।
लिम्बूहरूको सन्धि र सङ्घर्ष
माझकिरातको पहाडी खण्डमा सकेर गोरखाली सेना विजयपुर अधिनस्ध चैनपुरतिर खण्डतिर पुगे; जहाँ लिम्बू, लोहरूङ, याक्खा आदि स्थानीयस्तरमा किपटिया सुब्बा, मुखिया आदि थिए। यसै क्षेत्रको सभाया खोलामा भएको मल्लयुद्धमा लिम्बू सेनापति काङसो रायले वीरतापूर्व लडेको र उनलाई गोरखाली सेनाले षडयन्त्रपूर्वक मारेको हज्सन पाण्डुलिपिमा उल्लेख छ (अर्जुनबाबु माबुहाङ र भरत तुङघङ, ‘हज्सन पाण्डुलिपिमा गोर्खा–खम्बुवान–लिम्बुवान युद्ध’ –२०७०:१७–१९)।
इमानसिंह चेम्जोङले ‘किरातकालीन विजयपुरको सङ्क्षिप्त इतिहास’ (२०५९:९२)मा उल्लेख गरेअनुसार काङ्सो रायलाई गोरखालीहरूले छलकपट गरेर मारेको सभा खोलाको यो युद्ध वि.सं. १८३१ वैशाख २५ गते भएको हो।
यसअघि लिम्बू सुब्बा जङ्ग राय, फुङ्ग राय र जमुन रायको नाममा वि.सं. १८३१ वैशाख वदी ३० (पात्रोअनुसार वैशाख १ गते) एक मोहर जारी गरेका थिए। मोहरमा ‘तिमीहरूलाई हिजो जति पिच्छा बक्सियको त्यो मुलुक आज हाम्रो प्रतापले हाम्रो भयो त तिमीहरू पनि हाम्रै छौ. तिमीहरूका जाँहाँनको पिछा हामीले लियौं. जस जस जम्मा गराई दवाई खाई पाई आयाको थियौ. सो सकल मुलुक सम्भार गर’ भन्ने उल्लेख छ। त्यसबेला लिम्बू सुब्बाहरूलाई हात लिन सके विजयपुर कब्जा गर्न सजिलो हुने हुनाले पृथ्वीनारायण शाहले यस उपायस्वरुप यस्तो मोहर जारी गरेका थिए (पन्त र अरु, २०२५:११७९)।
यो सम्झौताको २४ दिनपछि पनि गोरखाली र लिम्बूबीच युद्ध भएको देखिँदा लिम्बूहरूमा कुनै पक्ष सन्धि गर्ने र कुनै पक्ष युद्ध गर्ने अवस्थामा थिए भन्ने देखिन्छ। यसअघि नै चैनपुर, सङ्खुवासभा क्षेत्रमा रहेका लोहरूङ, थुलुङ तथा याक्खाहरूलाई हात लिन पृथ्वीनारायण शाहले वि.सं. १८३० साउन वदीमा मकवानपुर मुकामबाट एक मोहर जारी गरिसकेका थिए (शिवकुमार श्रेष्ठ, लिम्बुवानको ऐतिहासिक अध्ययन २०५२:१२९–३०)
पृथ्वीनारायण शाहको जीवनकालमा पूर्वतिरको अभियानमा पहाडी क्षेत्रमा उत्तरमा सभा खोला, तमोर नदी र दक्षिणमा कनकाई नदीसम्म गोरखाली राज्य विस्तार भएको थियो। विजयपुर हात लगाएपछि पृथ्वीनारायण शाहले आफ्नो गुरु योगी भगवन्तनाथलाई लेखेको पत्र (योगी नरहरिनाथ, ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १’–२०५५:६–७) पाइएकोले त्यो बेला तमोर नदीदेखि पश्चिमको भाग गोरखाली आधिपत्यमा पुगेको भन्ने देखिन्छ।
उत्तरतिर पहाडी भागमा रामकृष्ण कुँवर र अमरसिंह थापाले यस्तो काम गरिरहेको बेला दक्षिणतर्फ अभिमानसिंह बस्नेतको सैन्य नेतृत्वमा अगाडि बढेको गोरखाली फौज वि.सं. १८३१ साउन ५ गते विजयपुर पुग्यो (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क २७, असोज २०२९:१६७)। साउनमा कोसीको उर्लँदो भेलमा बस्नेतले हात्ती लगाएर आफ्नो फौज कोसी पार गराए (आचार्य, २०६१:४२२)।
चेम्जोङ (२०५९:९५–९६) अनुसार विजयपुर पुगेका गोरखाली भारदारहरूले लिम्बू सुब्बाहरूसँग उनीहरूले भोगचलन गर्दै आएको सेनकालीन अधिकारलाई गोरखालीहरूले पनि कायम गरिदिने वाचा गरे। यसको लागि अभिमानसिंह बस्नेतलगायतका गोरखाली सैन्य अधिकारीले नुनपानीकै कसम खाए। यसमा लिम्बू सुब्बाहरू सुन राय, कुम राय र जङ्ग रायले अगुवाइ गरेका थिए। यी तीनै जनाको नाममा पृथ्वीनारायण शाहले वि.सं. १८३१ साउन सुदी १ रोज २ मा एक लालमोहर गरिदिए। यो लालमोहर इतिहासकार शंकरमान राजवंशीले पुरातत्त्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को सङ्ख्या ३ (वैशाख २०२५:३४–३५)मा प्रकाशित गरेका छन्। राजवंशीले यो लालमोहर साउन २७ गते सोमबार जारी गरिएको उल्लेख गरेका छन्।
यो लालमोहर इलाम, जमुनका कहरसिंह लिम्बूले सारेर राखेको अवस्थामा त्यसबाट पनि उतार गरी ल्याइएको बेहोरा राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ। यसको डीएनएन नम्बर ७/६० रहेको छ।
यी ऐतिहासिक तथ्यहरूबाट उत्तरतर्फ र दक्षिणतर्फ गोरखाली सेना कहाँ-कहाँ पुगेर सक्रिय थिए भन्ने थाहा हुन्छ।
विजयपुरबाट कता लागे गोरखाली सेना?
अब चर्चा गरौँ धनकुटा नगरपालिकाले एकीकरण पदमार्गका पदयात्रीका लागि वितरण गरेको टिसर्टमा छापिएको नक्साका बारेमा।

टिसर्टको सिरानमा ‘नेपाल एकीकरणको दौरानमा प्रयोग भएको मार्ग’ भन्ने उल्लेख छ। यसमा उल्लेख गरिएको मार्गअनुसार त्यो समयको गोरखाली सेनाहरूको उत्तरतर्फको यात्रा फुस्रेबाट सुरु हुन्छ। त्यहाँबाट यात्रा चिउरीबास हुँदै साँगुरीगढी उक्लन्छ। त्यसपछि फेदी झर्छ र तमोर नदी तरी बेल्हारातिर अगाडि बढ्छ। अनि उत्तरपानी हुँदै त्यो बेला गोरखाली सेना यात्रा पाख्रिबासतिर सोझिएको भन्ने देखाउन खोजिएको छ, टिसर्टमा छापिएको नक्सामा। त्यहाँबाट अरुण नदीतिर झरेर गोरखाली सेना चैनपुरतिर बढे होलान् भन्ने देखाउन खोजिएको होला।
विभिन्न स्रोत केलाउँदै/निफन्दै जाँदा पहाडी भेगतिर रामकृष्ण कुँवरको नेतृत्वमा अगाडि बढेको गोरखाली सेनाको लस्कर माझकिराँत हुँदै दिङ्ला, महाकुलङ भएर सभाखोलामा पुगेको माथि नै स्पष्ट पारिएकोले उनीहरू विजयपुरको अभियानपछि साँगुरीगढी उक्लँदै सिधा फेदी झरेर तमोर नदीतिर तेर्सिएर त्यो पार गरी बेल्हारा हुँदै उत्तरपानीको बाटो पाख्रिबासबाट चैनपुर सभाखोलातिर लम्केका थिएनन् भन्ने स्पष्ट हुन्छ।

टिसर्टमा उल्लेख गरिएको एकीकरण मार्ग हेर्दा अभिमानसिंह बस्नेतको नेतृत्वको फौज हिँडेको भान पार्न खोजिएको देखिन्छ। बरु यो फौज विजयपुरको काज सकेर टिसर्टमा उल्लेख गरिएको मार्गबाट नभई हालः मूलघाट हुँदै त्यसको पूर्वी किनार समातेर कुर्लेगढी पुगी त्यहाँबाट पाँचथरको इसिलिम्बा र च्याङ्थापुतिर बढेको ऐतिहासिक प्रमाण हालसम्म अभिमानसिंह बस्नेतका सन्ततिले सुरक्षित राखेको पृथ्वीनारायण शाहको लालमोहरले स्पष्टसँग बोल्छ।
अभिमानसिंह बस्नेतका सन्तति श्रीरामसिंह बस्नेतको माध्यमबाट पूर्वराजदूत निरञ्जनमानसिंह बस्नेतसम्म पुगेर उनीबाट इतिहासकार भगिराज इङ्नाम र यो लेखकको प्रयासबाट उक्त लालमोहरको छायाँप्रति हात पारी यो लेखसँगै प्रकाशित गरिएको छ।

हुन त यो लालमोहरमा रहेको बेहोरा श्रेष्ठ (२०५२:१३२–३३) योगी (२०५५:१७७–७८) र आचार्य (२०६१:४३१) ले यसअघि नै प्रकाशमा ल्याइसकेका छन्।
वि.सं. १८३१ आश्विन वदी ३० बुधबार लेखिएको यो लालमोहरमा उल्लेखित ‘...चौदंडमहा गढि तुल्याउनका विस्तार औ कुह्रिल्याबाट फौज हिड्याको. तिनै मुषले गर्न्या काज जाँजो . लिम्बु श्रृंग्याका सुब्बाले मान्न आयाको सबै विस्तार बिन्ती गरी पठाया छौ विधि विस्ता सुन्यौ इस् लिम्बा च्यांथापुसम्म जति हाम्रो फौज पुग्यो त अव त्यो जगा छोड्नु छैन. वलिया गरि गढि तांहि बनाउना छन्. बनाव. वांकि इस् लिम्वा चांथापुसम्म हाम्रो अम्व भयापछि कनकापूर्व टिस्टा पश्चिम पनि अम्वल गरिहाल्न्या हो...इस्लिम्वा चांथापु सांध गरिकन पनि सुषिमले हामिसंग घायै गर्न पस्यो भन्या कटक् गर्न्या महा पसेन् त कनका हेरी बुझि तर्नु...’ भन्ने बेहोरालाई एकपटक नियाल्नु अत्यावश्यक छ।
आचार्य (२०६१:४२२) ले उल्लेख गरेअनुसार अभिमानसिंह बस्नेतले विजयपुरपछि महाभारत पर्वत शृङ्खलामा रहेको साँगुरीगढी कब्जा जमाएर पहाड उक्लने बाटो खोले। बस्नेतलगायत पारथ भण्डारी, कीर्तिसिंह खवास र बलि बानियाँलाई लेखेको पत्रअनुसार त्यो बेलासम्म उनीहरू कुर्ले गढीबाट फौजका साथ इसलिम्बा र च्याङ्थापु पुगिसकेको देखिन्छ। त्यहाँ पुगेर यस क्षेत्रमा गोरखाली आधिपत्य कायम भइसकेपछि कन्काइ नदीदेखि पूर्व र टिस्टा नदीदेखि पश्चिममा रहेको भाग पनि कब्जा गर्न पृथ्वीनारायण शाहले निर्देशन दिएको देखिन्छ। त्यो बेला इसलिम्बा र च्याङ्थापुमा गोरखालीले आफ्नो साँध सिमाना कायम गर्दा सिक्किम निहुँ खोज्न आयो भने मात्रै युद्ध गर्नु र निहुँ खोज्न आएन भने कन्काइ नदी पार गरी गोरखाली सिमाना विस्तार गर्नु भन्ने निर्देशन पृथ्वीनारायण शाहले अभिमानसिंह बस्नेतहरूलाई दिइरहेका थिए।
यताबाट हेर्दा विजयपुरको काज फत्ते गरिसकेपछि पृथ्वीनारायण शाहको अभियानअन्तरगत गोरखाली सेना पहाडी भेगतिर उक्लँदा कुन बाटो भएर हिँडे होलान् भन्ने प्रश्नको उत्तर पाउन सहज हुन्छ। त्यसबेला गोरखाली फौज कुर्लेगढीबाट हालः पाँचथरमा पर्ने इसलिम्बा र च्याङ्थापु पुगे भन्नेबित्तिकै उनीहरूले तमोर नदी नतरी पूर्वी किनार हुँदै धनकुटा जिल्लामै पर्ने तमोरपूर्वको कुर्लेगढी पुगेको र त्यहाँबाट इसलिम्बा र च्याङ्थापुतिर बढेको भन्ने स्पष्ट देखिन्छ।
त्यसैले हिजो विजयपुरको काज सकेर पहाडी भेगतिर बढ्ने क्रममा गोरखाली सेना हिँडेको बाटो सुनसरी जिल्लामा पर्ने विजयपुर, फुस्रे, चिउरीबास हुँदै धनकुटा जिल्लामा पर्ने साँगुरीगढी, फेदी, मूलघाट र कुरुले तेनुपातिर पुग्छ, न कि धनकुटा नगरपालिकाले वितरण गरेको टिसर्टमा उल्लेखित बेल्हारा हुँदै उत्तरपानी र पाख्रिबासतिर। पुस २७ गते एकीकरण पदमार्ग पहिल्याउँदै यात्रा गर्ने हो भने साँगुरीगढीबाट फेदी झरेर त्यहाँबाट मूलघाटतिर तेर्सिई कुर्लेगढीतर्फ बढे त्यो बिल्कुलै इतिहाससम्मत ठहर्नेछ।
कुर्लेगढीः बिर्सिएको ऐतिहासिक स्थल
माल पाएर चाल पाइएन भने समस्या पर्छ। धनकुटा जिल्लाको अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक स्थल हो, कुर्लेगढी। अहिले यो गढीको टिप्पामा विद्यालय बनेको छ भने पुरानो गढीको नामनिसान छैन। कुर्लेगढीका बारेमा पृथ्वीनारायण शाहले पनि आफ्नो लालमोहरमा उल्लेख गरेको प्रसङ्ग माथि परिसकेको छ।
यो गढी उल्लेख भएको र गढीलाई कुर्ने जिम्मेवारी पाएकाहरूको हातमा अहिले पनि लालमोहर र रुक्काहरू छँदैछन्। आशिकराम रायलाई वि.सं. १८५१ चैत्र सुदी १५ रोज ७ मा पठाएको लालमोहरमा उनी कुर्लेगढी रेखदेख गर्ने जिम्मेवार व्यक्ति भएको उल्लेख छ। यसबापत जागिरस्वरूप उनले त्यसवरपर चार किल्लाको छाप भएको जमिन पाएको लालमोहरमा उल्लेख छ। पत्रमा लेखिएको छ, ‘...कुह्रिल्यागढि सुधा बसायाका करिया समेत् हामिले माया विर्ता पाई आञ्यौ भनि वाभनहरू अम्बल गर्न आया मैले कसो गर्न्या हो भनि विन्ति गरि पठाइछस् तेस कुरामा वाभन्हरूले धोकासित मोहर गरि लैग्याछन् तलाई अघि मोहर गरि छाप बक्स्याको चारै किलाभित्रको जगा थामिबक्याको छ षातिरजामासित चल नगररु छापा भोग्य गर। कुह्रिल्यागढि पनि अघि जस्तो कुर्ह्रलाउथिस अव पनि तस्तै कुर्ह्रला’ (भगिराज इङ्नाम, ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’–२०७७:६४–६५)।
कुर्लेगढी सम्भारको जिम्मेवारी पछि अर्कोतिर सरेको देखिन्छ। यसको जिम्मा चैनपुरका अमालीहरूलाई दिइएको थियो। आशिकराम राय र उनका दाजुभाइले पाएको लालमोहरमा यो कुरा उल्लेख छ। वि.सं. १८५३ फागुन सुदी ८ सोमबार लेखिएको लालमोहरमा आशिकरामलाई आफ्नो जिम्माको तिरो तथा करहरू चैनपुरमा दाखिल गर्न र कुर्लेगढीको सम्भार चैनपुरका अमालीहरूले गर्नेछन् भन्ने उल्लेख छ। पत्रमा ‘...वोधे छाप हिजो पनि थामि वक्स्याको हो आज द्वार्या नहालनु साउन्या फागु पंचषत छिपो आफना हातले चइनपुर दाषिल गर्नु. कुर्ह्रलाको सम्भार चइनपुरका अमालिहरू गर्लान् यो थिति बाँधि वक्स्यौं’ (इङ्नाम, २०७७ :७१–७२) भन्ने उल्लेख छ।
कुर्लेगढीको रेखदेख र सम्भारका लागि जिम्मेवार व्यक्ति आशिकराम रायलाई उनको जिम्मा र जागिर थामिएको अर्को पत्र पनि पठाइएको छ। सो पत्रमा उत्तरमा कुर्लेडाँडाबाट दक्षिणको साप्टिन डाँडोलगायतका जग्गा–जमिनमा पहिले जुन किसिमको उनको जिम्मेवारी थियो, त्यसलाई थामिदिएको उल्लेख छ। वि.सं. १८५५ पुस सुदी ५ बुधबार लेखिएको लालमोहरको बेहोरा यस्तो छ: ‘...पल्लोकिरातमध्ये उत्तर अकर कुह्रिल्या डाडो दक्षिण साप्टिन डाडो पूर्व साम्पांवां डाडो पश्चिम तमोर यति चारकिल्ला भीत्रको जिमि अघि पनि तलाईं छाप गरि वक्स्यैको थिव. आज पनि छाप थामि वक्स्यौं’ (इङ्नाम, २०७७:७६–७७)।
यी सबै लालमोहर रुक्काहरू बोधेका याक्खा देवानहरूसँग रहेको छ। विजयपुरमा कुनै बेला चोखा राय नामका एक देवान (मुख्यमन्त्री) थिए। ‘पुरातत्त्व पत्र सङ्ग्रह’ (शंकरमान राजवंशी (सम्पा.), २०१८:७)मा देवान चोखा रायले वि.सं. १७७९ कात्तिक सुदी १४ मा विजयपुर मुकाममा रहेर मुद्दा छिनेको एक पत्र प्रकाशित छ। इङ्नाम (२०७७:५०–५१)ले प्रकाशमा ल्याएको वि.सं. १८४७ मा रणबहादुर शाहले पाँचकर्ण रायको नाममा जारी गरेको लालमोहरमा ‘चोषा रायेको संतान्को अफुताली माफ गरि वक्स्यौं’ भन्ने परेबाट ती चोखा रायको कुनै सन्तान नभएको र उनको अपुताली जमिन पाँचकर्ण रायले पाएको देखिन्छ। यसबाट पाँचकर्ण राय विजयपुरका देवान चोखा रायका निकटतम पारिवारिक नातेदार थिए भन्ने बुझिन्छ। पाँचकर्ण राय र कुर्लेगढीको जिम्मा पाएका आशिकराम रायले पाएको सबै रुक्का र लालमोहरहरू धनकुटा बोधेका भक्तबहादुर देवानसँग सुरक्षित छन्।
बरु धनकुटा जिल्लामा पर्ने गरी एकीकरण पैदलयात्रा पहिल्याउने हो भने कुरुले तेनुपाको गढीगाउँसम्म पुग्दा यात्रा इतिहाससम्मत हुन्छ, जहाँ विजयपुरको काज सकेर अभिमानसिंह बस्नेत लगायत गोरखाली सैन्य अधिकारीले केही समय बिताएर प्रशासनिक काम गरेका थिए।
हामीसँग यति धेरै प्रमाण हुँदाहुँदै इतिहासलाई टेढोमेढो बनाउन खोजिनु दुर्भाग्यपूर्ण हुनेछ।
Shares

प्रतिक्रिया