आज (शुक्रबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसबाट पनि तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस देखिएको हो।
गत मंगलबारदेखि बिहीबारसम्म लगातार ३ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज त्यसभन्दा पनि तल पुगेको हो।
आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ दशमलव ७ अर्थात् -७.७ डिग्री सेल्सयस छ।
अनि मौसम महाशाखाले अहिलेसम्म उपलब्ध गराएको विवरणअनुसार आज सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ धनगढीमा ८ दशमलव ६ अर्थात् ६.८ डिग्री सेल्सियस छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
हेर्नुहोस् तापक्रम सूची (नोट : न्यूनतम आजका हुन् भने अधिकतम हिजोका)

आजको मौसम
मौसम महाशाखाका अनुसार हाल कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली (थौरै घाम) रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा (आकाश सफा) छ। अनि सुदूरपश्चिम प्रदेशका तराई भूभागमा हुस्सु छ भने देशका बाँकी तराईका धेरै स्थानमा कुहिरो लागिरहेको छ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्याह्नसम्म हुस्सु/कुहिरो रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
अनि राति पनि तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ भने दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ।
Shares

प्रतिक्रिया