आज (आइतबार) दिउँसो जुम्लाभन्दा काठमाडौँ उपत्यका चिसो भएको छ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तापक्रम तथ्यांक हेर्दा आज काठमाडौँमा जुम्लामा भन्दा कम अधिकतम तापक्रम देखिएको हो।
मौसम महाशाखाले जारी गरेको तापक्रम विवरणअनुसार आज जुम्लामा अधिकतम तापक्रम १७.१ डिग्री हुँदा काठमाडौँमा यसभन्दा कम १५.७ डिग्री सेल्सियस छ।
यसको अर्थ आज दिउँसो तुलनात्मक रूपमा जुम्लाभन्दा काठमाडौँ बढी चिसो भएको हो।
तर न्यूनतम तापक्रम आज जुम्लामा काठमाडौँमा भन्दा धेरै कम माइनस ७ दशमलव ९ अर्थात् -७.९ डिग्री सेल्सियस छ। काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसोको अवस्था देखाउँछ भने अधिकतम तापक्रमले दिनभरको चिसोको अवस्था जनाउँछ। अत: गएराति र बिहान काठमाडौँमा भन्दा जुम्लामा कता हो कता चिसो भए पनि दिउँसो भने जुम्लाभन्दा काठमाडौँ बढी चिसो भएको हो।
मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा बस्यो भने घट्छ।
यसको ठिक उल्टो दिनमा चाहिँ आकाशमा बादल रह्यो भने घाम नलाग्ने भएकाले अधिकतम तापक्रम घट्छ अर्थात् चिसो बढ्छ भने दिनभर आकाश सफा रह्यो भने घाम देखिने भएकाले अधिकतम तापक्रम बढ्छ अर्थात् चिसो कम हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
हेर्नुहोस् आजको तापक्रम सूची

Shares

प्रतिक्रिया