गएको बुधबार दिउँसो काभ्रेको दोलालघाटबाट सुनकोसी नदीमा फाल हानेर बेपत्ता भएका पराजुली दम्पती अझै फेला नपरेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टकाअनुसार उनीहरूको खोजीमा आज पनि बिहानैदेखि सुरक्षाकर्मीहरू खटिएका छन्।
‘घटना भएको दिनदेखि नै हामी उहाँहरूको खोजी गरिरहेका छौँ, तर फेला पार्न सकिएको छैन,’ डीएसपी विष्टले नेपालखबरसँग भने, ‘आज काभ्रेका सीडीओ गोपालकुमार अधिकारी, एसपी रविन कार्की, सशस्त्र प्रहरीका एसपी माधवराज रेग्मी पनि खोजीका लागि घटनास्थलमा जानु भएको छ। आज सिन्धुलीको सीमासम्म खोजी गर्ने तयारी छ।’
पराजुली दम्पतीको खोजीमा सशस्त्र प्रहरीको गोताखोरसहित र्याफ्टिङ टोली पनि परिचालन गरिएको उनले बताए।
बुधबार साँझ काभ्रेको मण्डनदेउपुर नगरपालिका-७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी श्रीमती ६७ वर्षीया तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका हुन्।
आफन्तकाअनुसार तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित थिइन्। पछिल्लो समय केदारनाथमा पनि प्रोस्टेडको समस्या देखिएपछि पराजुली दम्पतीले विछिप्त भएर काेसीमा फाल हानेको अनुमान आफन्तले गरेका छन्।
उनीहरू भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिरछेउबाट नदीमा हामफालेको प्रत्यक्षदर्शीहरूले बताएका मण्डन देउपुर- ७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले बताए।
पराजुली दम्पतीले नदीमा हामफालेपछि प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक मनराज बानियाँको प्रहरी टोलीले बुधबार राति अबेरसम्म खोजतसाल गरेको थियो।
बुधबार राति अबेरसम्म उनीहरु फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल गण १५ नम्बर हेड क्वाटर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीसहितको सशस्त्र विपत् उद्धार टोलीले बिहीबार पनि खोजतलास गरेका थिए।
बिहीबार सशस्त्र प्रहरी, नेपाल प्रहरीको विपत् उद्धार टोलीले दोलालघाटदेखि तेमाल गाउँपालिकाको कोशीदेखासम्मको करिब आठ किलोमिटर क्षेत्रमा र्याफ्टिङ बोट र ड्रोनको सहायताले खोजतलास गरे पनि उनीहरूको अवस्था पत्ता नलागेको डीएसपी विष्टले बताए।
केदारनाथले श्रीमती तिलकुमारीलाई पिठिउँमा बोकी दोलालघाट पुगेको सीसीटीभी फुटेजमा देखिएको छ। श्रीमतीलाई बोकेर दोलालघाट पुगेका केदारनाथले श्रीमतीसहित सुनकोसी नदीमा हाम फालेको वडाध्यक्ष पौडेलले बताए।
घटनाको थप विवरण वडाध्यक्ष पौडेलबाट
पराजुली परिवारलाई म राम्ररी चिन्छु। उहाँ दम्पतीलाई पनि मैले धेरै पटक भेटेको छु।हिजो तिमाल बेंसीसम्म गएर शसस्त्रले उहाँहरूको खोजी गर्यो। र्याफ्टिङसहितको टिमले खोजी गर्यो। तर फेला पार्न सकिएको छैन।
उहाँहरूको परिवार गाउँको प्रतिष्ठित परिवार नै हो। पराजुली बुवाआमा छोरा दिपक र बुहारी लक्ष्मीसहित बस्नुहुन्थ्यो । राम्रो परिवार हो। एकाघरमा बस्ने हो। पराजुली दम्पतीका एक छोरा र तीन छोरी छन्। छोरा पट्टीका नाती अस्ट्रेलिया गएका छन्। नातिनी पनि विदेश जाने तयारीसहित काठमाडौँमा बसेर पढ्दै छिन्।
छोरा दिपक पराजुली त्यो दिन घरमा रहेनछन्। बुहारी लक्ष्मी सापकोटा पराजुली पनि स्कुल जानु भएको रहेछ । उहाँ वडा नम्बर ९ को उमा विद्या मन्दिरको टिचर हो। पराजुली बाआमा छोराबुहारीसँग एकैठाउँमा बस्दै आउनु भएको थियो। पारिवारिक कलह भएको पनि हामीलाई केही जानकारी छैन। सबै भित्री कुरा त हामीले बुझ्ने कुरा पनि भएन। केही थाहा छ्रैन। तर, बाहिरबाट हेर्दा परिवारमा कुनै खटपट थिएन।
पराजुली बुढाबुढीमा राम्रो प्रेम थियो। जहाँ जाँदा पनि उहाँहरु छुट्नु हुन्नथ्यो। खेतीपाती तिर्थब्रत गर्दा सँगै जाने। तर, पराजुली आमालाई दुई वर्षदेखि बोनम्यारो क्यान्सर भएको थियो। गच्छेअनुसार उपचार पनि हुँदै थियो। तर, उहाँको शरीर सुक्दै गएको थियो। एउटा खुट्टा त पूरै सुकेको थियो।
पत्नी बिरामी हुँदाहुँदै केदारनाथ पनि बिरामी पर्नु भएको रहेछ। कान्छी छोरीले एक साताजति अघि मात्रै उपचारको लागि उहाँलाई अस्पताल लगेकी रहिछिन् उहाँमा पनि प्रोस्टेडको समस्या देखिएछ। डाक्टरले ‘तपाईंमा प्रोस्टेडको समस्या छ, यसलाई अप्रेशन गर्नुपर्छ’ भनेछन्। तत्कालन अप्रेसन नगर्ने, औषधि खाएर बस्ने भनेर अस्पतालबाट फर्किनु भएको रहेछ।
घरमा बुढी बिरामी, आफूलाई पनि प्रोस्टेडको अप्रेसन गर्नुपर्छ भनेपछि उहाँ मानसिक रुपमा विछिप्त भएको अनुमान हामीले गरेका छौँ। उहाँ आफैँ बुढी कुरुवा हुनुहुन्थ्यो। बुहारी पढाउन स्कुल जाने, छोरो बस्तुभाउ, खेती किसानीमा व्यस्त हुने। नातिनातिना बाहिर।
पतिपत्नीले सल्लाह गरेरै कोसीमा फाल हानेको अनुमान छ।
घरबाट घटनास्थल पैदल हिँडेर जाँदा करिब ४० मिनेटमा पुगिन्छ। त्यो दिन पराजुलीबाले भाडाको ट्याक्सीलाई फोन गरेर घरमै बोलाएर खोलासम्म गएको देखिएको छ। अघिपछि पनि अस्पताल जानुपर्दा बोलाउने गरेको ट्याक्सीलाई सोदिन पनि बोलाएर उहाँ खोलासम्म गएको देखिएको छ। ड्राइभरलाई फोन गर्दा उहाँले ‘पत्नीको पिसाब बन्द भयो, अस्पताल जानुपर्ने भयो’ भनेर बोलाउनु भएको रहेछ।
केदारप्रसादकी ९३ वर्षका आमा पनि हुनुहुन्छ। उहाँ कान्छा छोरासँग बस्नुहुन्छ। केदारनाथका ३ दाजुभाइ हुन्। त्यो दिन घरबाट पत्नीलाई पिठ्युमा बोकेर बाहिर निस्कँदा ९३ वर्षकी आमा पनि केदारनाथकी काकाको छोरीसँग घरमा आइपुग्नु भएको रहेछ। आमा बुहारीलाई भेट्न भनेर ढोकाका आइपुग्नु पनि पराजुलीले पत्नीलाई पिठ्युमा बोकेर बाहिर निस्कनु भएछ।
काकाकी छोरी (बहिनी)ले चाहिँ ‘भाउजुलाई कहाँ लैजान लागेको दाजु, पख्नुस्, हामी आएका छौँ। एकछिनमा जानुहोला’ भन्दा पनि उहाँ नरोकिइ अघि बढ्नु भएछ। ‘बुढीलाई धुलिखेल अस्पताल देखाएर आउँछु। गाडी बोलाइसकेको छ’ भन्नु भएछ। बहिनीले ‘दाजु दिपकलाई बोलाउँछु म। उहाँ पनि सँगै जानुहुन्छ। तपाईँ मात्रै नजानुस्’ भन्दा पनि उहाँ रोकिनु भएनछ। त्यतिन्जेलसम्म गाडी पनि घर अगाडि आइसकेको रहेछ। उहाँ तुरुन्तै गाडीमा चढेर हुइँकिनु भएछ।
घरबाट मुख्य सडकमा गाडी निस्किएपछि उहाँले गाडी दोलालघाटतिर लैजान ड्राइभरलाई भन्नु भएछ। ड्राइभरले चाहीँ ‘तपाईँले अघि धुलिखेल जाने भन्नु भएको होइन’ भन्ने प्रश्न गरेछन्। ‘त्यहाँ दोलालघाटमा राम्रो धामी रहेछ, एकपटक उसैलाई देखाउनु पर्यो। उतै लैजाऔँ गाडी’ भन्नु भएछ।
इन्द्रावतीको पुल तरेर पारी दोलालघाट पुगेपछि ड्राइभरलाई एक हजार रुपैयाँ भाडा दिनु भएछ। ‘अब म यहाँ बुढीलाई धामी भएको ठाउँमा लान्छु। यताको काम सकिएपछि तिमीलाई फोन गरौँला, तिमी फेरि लिन आउनू’ भन्नु भएछ।
गाडीबाट ओर्लिएपछि पत्नीलाई पिठ्युँमा बोकेर कतै नरोकिइ सिधै उहाँ नदीमा गएर हेलिनु भएछ। दोलालघाटबाट उहाँले बुढीलाई बोकेर नदीतिर लम्किँदै गरेको सीसीटीभी फुटेजहरु आएका छन्।
गाडीबाट झरेपछि इन्द्राबती र भोटेकोसी नदीको संगमस्थल पुग्न करिब ७ मिनेटमा पुगिन्छ। पत्नीलाई बोकेर पराजुली हिँड्न सकुन्जेलसम्म नदीमा हिँडेको र त्यसपछि भँगालो आएपछि हेलिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
सुरुमा उनीहरु नदीमा फाल हानेको नजिकैको मन्दिरका पुजारीले देखेर हल्लाखल्ला गरेपछि मान्छेहरुले खोजी गरे। तर, अहिलेसम्म भेटिनु भएको छैन। त्यो दिन हल्लाखल्ला भएपछि मान्छेहरु जम्मा हुँदासम्म उहाँहरुलाई नदीले बगाएर बेपत्ता बनाइसकेको थियो।
उहाँहरुको वृद्ध भत्ता खाने उमेर भएको थिएन। तर, दीर्घरोगीलाई नगरपालिकाले मासिक ५ हजार रुपैयाँ दिँदै आएको छ। त्यो पाँच हजार पराजुली आमालाई हामीले नियमित दिँदै आएका थियौँ।
Shares

प्रतिक्रिया