नवौँ केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा टिपटप न्यु डायमन्ड युथ स्पोर्टस् क्लबसँग पराजित भएसँगै नेपाल पुलिस क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको लिग चरणको खेलमा डायमन्डले पुलिस क्लबमाथि ३–२ को सेटमा जित निकालेको छ।
फाइनलअघि भएको भेटमा डायमण्डले पुलिस क्लबलाई २५–१४, २५–१९, २५–२०, २७–२९ र १५–१० को जित निकालेको हो। सुरुवाती दुई सेट आफ्नो पक्षमा पारेको डायमन्डले त्यसपछिका दुई सेट लगातार गुमायो। पाचौँ तथा अन्तिम सेटमा जित निकाल्दै डायमन्डले प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ।
प्रतियोगिताको फाइनलमा पनि यी दुई टोली नै भिड्नेछन्। जितसँगै डायमन्ड शीर्ष र पुलिस क्लब दोस्रो स्थानमा रहेर फाइनल खेल्नेछन्। पुलिस क्लब र डायमन्डले एक सातामा नै लगातार दोस्रो फाइनल खेल्न लागेका हुन्।

विभागीय डर्वीमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब तेस्रो र चौथो स्थानका लागि खेल्नेछन्। फाइनल र तेस्रो स्थानका लागि खेल शनिबार हुनेछ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ तथा उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार र चौथो स्थानमा रहने टोलीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्। विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन्।
Shares

प्रतिक्रिया