खेल


साबिक विजेता पुलिसलाई पराजित गर्दै टिपटप न्यु डायमन्डले उचाल्यो राष्ट्रिय महिला भलिबलको उपाधि

साबिक विजेता पुलिसलाई पराजित गर्दै टिपटप न्यु डायमन्डले उचाल्यो राष्ट्रिय महिला भलिबलको उपाधि

नेपालखबर
पुस २६, २०८२ शनिबार १६:२४, काठमाडौँ

साबिक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यु  डायमन्ड युथ स्पोर्ट्स क्लबले नवौँ केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा शनिबार भएको फाइनलमा  डायमन्डले पुलिसलाई ३–१ सेटले पराजित गर्‍यो। डायमण्डले पहिलो र दोस्रो सेट क्रमशः २५–२२ र २२–१८ ले जित्यो भने तेस्रो सेट १५–२५ ले गुमायो। तर चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २७–२५ को जित निकाल्दै उपाधि पक्का गर्‍यो।

यससँगै डायमण्डले एक साताभित्र लगातार दुई उपाधि जितेको छ। यसअघि गत शनिबार सम्पन्न एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पनि  डायमन्डले पुलिसलाई हराउँदै उपाधि जितेको थियो। पुलिस क्लब भने लगातार दोस्रो पटक फाइनलमा डायमण्डसँग पराजित भयो।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको  डायमन्डले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। उपविजेता पुलिस क्लबले २ लाख ५० हजार रुपैयाँ हात पार्‍यो।

यसैदिन भएको तेस्रो स्थानको खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। एपीएफले २५–१३, २५–२३ र २५–१८ ले जित निकाल्दै तेस्रो स्थान हासिल गर्‍यो।

तेस्रो बनेको एपीएफले १ लाख २५ हजार र चौथो भएको आर्मीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गर्‍यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad