नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्याउने र सहकार्य गर्ने उदेश्यसहित पेसएक्स स्पोर्टस स्थापना हुन लागेको छ।
पेसएक्स स्पोर्टसले आज बुधबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै खेलकुद क्षेत्रसँग काँधमा काँध मिलाएर खेलकुदको दिगो विकासमा योगदान पुर्याउने उद्देश्य रहेको जानकारी दिएको हो।
खेलकुदमा देखिएको ग्रासरुटमा प्रशिक्षणको अभाव, संरचित कार्यक्रम र पाठ्यक्रम नहुनु, खेल क्षेत्रप्रति न्यून चेतना, दिर्घकालीन दिगोपनको कमी र खेलकुदमा देखिएको इकोसिस्टमको अभाव जस्ता चुनौतीलाई सम्बोधन गर्न पेसएक्स स्पोर्टस आउन लागेको संस्थापक अध्यक्ष संगीता कर्णले जानकारी दिइन्।
पेसएक्स स्पोर्टसले आफूलाई प्रशिक्षण केन्द्रमा मात्र सिमित नराखी खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र तथा खेलकुदसँग सम्बन्धित निकायलाई जोड्ने साझा मञ्चका रुपमा विकास गर्ने लक्ष्य राखेको छ।
पेसएक्सले जरैबाट प्रतिभा पहिचान र विकास, खेलाडीको समग्र विकास, विद्यालय तथा कलेज खेलकुद कार्यक्रम, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम, प्रतियोगिता तथा सामुदायिक संलग्नता, खेलकुद प्रणाली निर्माणमा सहकार्य र नेपाली खेलकुदको भविष्यप्रति प्रतिबद्धता रहेर काम गर्ने जनाएको छ।
Shares

प्रतिक्रिया