नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा आईसीसी महिला विश्वकप ग्लोबल छनोट खेल्दै विश्वकपको ढोका ढकढक्याउँदै छ।
महिला क्रिकेटको इतिहासमा नेपाली टोलीले पहिलोपटक विश्वकपको ग्लोबल छनोट खेल्न लागेको हो। गत जेठमा थाइल्यान्डमा भएको एसिया क्षेत्र छनोटबाटै एक समय झण्डै बाहिरिसकेको नेपाली टोलीका लागि कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुविना क्षेत्रीको साझेदारी महत्वपूर्ण रह्यो।
महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा फिटनेस र फिल्डिङ नेपाली टोलीको मुख्य समस्या बन्दै आइरहेको छ। तर यो पटक घरेलु मैदानमा नै हुने छनोटमा महिला टोलीले त्यसमा काम गरिरहेको छ।
दुई दशकभन्दा लामो इतिहास बोकेको नेपालको महिला टोलीसामु घरेलु मैदान अनि समर्थकको साथमा विश्वकपको ढोका खोल्न उत्साहित छ। ग्लोबल छनोट खेल्ने टोलीमा सीता रानामगर र काजल शर्माले पुनरागमन गरेका छन्।
एसिया क्षेत्र छनोटबाट नेपाली टोली पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाउँदै इतिहास रचेको थियो।
नेपाली टोलीमा रुविना क्षेत्री र सीता राना मगरजस्ता अनुभवीदेखि युवा टोलीकी कप्तान पूजा महतो र सम्झना खड्कालगायत छन्।
घरेलु मैदानमा ग्लोबल छनोट खेल्न लागेको महिला टोली अहिले अभ्यासमा व्यस्त छ। छनोटअघि नेपाली टोलीले आयरल्यान्ड र अमेरिकासँग दुई अभ्यास खेल खेल्नेछ।
ग्लोबल छनोटअघि नेपाली टोलीले बुधबार आयरल्यान्डसँग पहिलो अभ्यास खेल खेलेको छ। यसमा नेपाल पराजित भयो। दोस्रो अभ्यास खेल माघ २ गते अमेरिकासँग खेल्नेछ। यसअघि पनि नेपाली टोलीले अनौपचारिक अभ्यास खेल खेलेको थियो।

टोली राम्रो फर्ममा छ : कप्तान
नेपाली टोलीकी कप्तान इन्दु वर्मा लगातारको अभ्यास खेलले टोली राम्रो फर्ममा रहेकोले तयारी राम्रो भइरहेको बताउँछिन्।
‘टोलीका सबै खेलाडीले मिहिनेत गरिरहेका छन्, घरेलु मैदानको फाइदा लिने योजनामा छौँ’, उनले भनिन्, ‘शतप्रतिशत दिएर खेल्नेछौँ।’
महिला क्रिकेट टोलीले पहिलोपटक विदेशी प्रशिक्षकबाट प्रशिक्षण लिइरहेको छ। समग्र महिला क्रिकेट हेर्ने गरी नेपालको महिला टोली सम्हालेका प्रशिक्षक हर्षल पाठक पनि महिला टोली विश्वकपमा पुग्नेमा आशावादी छन्।
उनले भने, ‘तयारी राम्रो भइरहेको छ, खेलाडीहरुले मिहिनेत गरिरहेका छन्। घरेलु मैदानमा नै खेल्न पाएका छौँ, त्यसको पनि फाइदा पुग्नेछ। त्यसैले विश्वकपमा छनोट हुने सम्भावना देखेको छु।’
थाइल्यान्डसँग पहिलो खेल
ग्लोबल छनोटमा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड रहेको समूह ‘बी’मा छ। महिला टोलीले आगामी माघ ४ गते थाइल्यान्डविरुद्ध खेल्दै ग्लोबल छनोटको यात्रा सुरु गर्नेछ। दोस्रो खेल माघ ८ गते नेदरल्यान्डसँग १० गते टेस्ट राष्ट्र जिम्बावेविरुद्ध खेल्नेछ।
समूह चरणको अन्तिम खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ। समूह चरणमा नेपालले थाइल्यान्ड र नेदरल्यान्डसँगको खेल मूलपानी क्रिकेट मैदानमा खेल्नेछ। जिम्बाबे र स्कटल्यान्डसँगको खेल टीयू मैदानमा खेल्ने तालिका छ।
समूह ‘ए’मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका छन्। दुई समूहका शीर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।
ग्लोबल छनोटबाट चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ सम्म इंग्ल्यान्ड र वेल्समा हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्। ग्लोबल छनोटबाट गएका ४ टोलीमध्ये दुई टोलीले समूह ‘ए’ र दुई टोलीले समूह ‘बी’मा स्थान बनाउनेछन्।

१२ मध्ये ८ टोलीको टुंगो
महिला विश्वकपमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। विश्वकपका लागि ८ टोलीको टुङ्गो लागिसकेको छ।
महिला विश्वकपमा आयोजक इङल्यान्डसहित २०२४ महिला टी–२० विश्वकपमा सामेल ५ टोली अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले स्थान बनाइसकेका छन्।
यस्तै आईसीसी महिला टी–२० टिम वरीयताका आधारमा पाकिस्तान र श्रीलंका छनोट भइसकेका छन्।
विश्वकपको समूह ‘ए’मा अस्ट्रेलिया, भारत, पाकिस्तान, दक्षिण अफ्रिका छन्। समूूह ‘बी’मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलंका, वेस्ट इन्डिज छन्।
समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। टी–२० विश्वकपको फाइनल ५ जुलाईमा हुनेछ।
ग्लोबल छनोट खेल्ने नेपाली टोली
इन्दु वर्मा, पूजा महतो, सीता राना मगर, काजल श्रेष्ठ, रचना चौधरी, सुमन विष्ट, बिन्दु रावल, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रुबिना क्षेत्री, सम्झना खड्का, कविता कुँवर, रोमा थापा, मनीषा उपाध्याय
Shares

प्रतिक्रिया