खेल


फ्लडलाइटमा खेलेर मनाउँदै छ आहा रारा गोल्डकपले २५औँ वर्ष

फ्लडलाइटमा खेलेर मनाउँदै छ आहा रारा गोल्डकपले २५औँ वर्ष

लक्ष्मी जि.सी
माघ १, २०८२ बिहिबार १८:७, काठमाडौँ

खेलकुदको हबले चिनिने पोखरामा आयोजना हुने आहा रारा पोखरा गोल्डकपको बेग्लै पहिचान छ। यो कपले यस वर्ष २५औँ वर्षगाँठ अर्थात् रजत जयन्ती मनाउँदै छ।

नेपालमा आयोजना हुने मोफसलको फुटबल प्रतियोगितामा बेग्लै पहिचान बनाएको यो प्रतियोगिता २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरु भएको थियो। त्यसयता निरन्तर आयोजनाको २५औँ वर्ष पुगेकाले आयोजक सहारा क्लब अहिले यसकै तयारीमा जुटेको छ। 

यसपालि आहा रारा पोखरा गोल्डकपको विशेष अनुभव दर्शकलाई दिलाउने प्रयासमा आयोजक छ। रजत जयन्तीको अवसरमा पोखरावासीलाई सहारा क्लबले रात्रिकालीन फुटबलको मज्जा दिने तयारी गरेको हो। सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले रात्रिकालीन फुटबलका लागि फ्लडलाइट जडान गर्ने तयारी भइरहेको बताए। 

‘अहिले कलेज पढ्ने विद्यार्थी, युवा, व्यवसायीहरुलाई लक्षित गर्दै फ्लडलाइट राखेर खेलाउन सकियो भने फुटबलको माहोल फेरि बनाउन सकिन्छ भनेर लागिपरेका छौँ’, उनले नेपालखबरसँग भने, ‘अहिले फुटबलको चार्म घटिरहेको छ, यस्तोमा यसले केही प्रमोट गर्छ कि भन्ने उद्देश्यले काम गर्न लागेका हौँ। यो गाह्रो काम छ तर पनि प्रयास गर्दै छौँ।’ 

फ्लडलाइटलाई २० लाख बढी खर्च हुने 
गर्विलो इतिहास बोकेको सहारा क्लबले २५औँ संस्करणमा खर्चको पाटोलाई बढाएर भए पनि काम गर्नुपर्छ भनेर लागिपरेको छ। 

पोखरा रगंशालाको हाताभित्र रहेको फुटबल मैदानको चार कुनामा अस्थायी फ्लड लाइटका लागि स्ट्यान्ड, लाइट, जेनेरेटर गरेर करिब २० लाख बढी खर्च हुने प्रारम्भिक अनुमान सहाराले गरेको छ। तर जेनेरेटर कति समय चल्छ भन्ने हिसाबले भने त्योभन्दा बढी खर्च हुने अनुमान छ। 

पूर्वअध्यक्ष थकालीले भने, ‘अहिले चारवटा कर्नरमा ३५ फिट उचाइमा एक पोलमा १२ देखि १६ वटा लाईट राख्ने तयारीमा छौँ। त्यतिले भ्याएन भने लाइट थप्नुपर्ने हुन्छ।’

माघको दोस्रो हप्ताबाट काम सुरु गर्ने उनले बताए। पोलहरु र जेनेरेटर आफैँले राख्ने उनको भनाइ छ। त्यसपछि लाइट र तारहरुका काम हुनेछन्। ७/८ दिनमा सेटिङ गरेर काम सकिन्छ। 

माघ २७ देखि फागुन ९ गतेसम्म आहा रारा गोल्डकप
२५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप आगामी माघ २७ देखि फागुन ९ गतेसम्म हुँदै छ। प्रतियोगिताको पहिलो संस्करणदेखि नै आहा रारा चाउचाउको उत्पादक हिम श्री फुड्सले मुख्य प्रायोजन गर्दै आइरहेको छ।

अहिले आरा रारा प्रतियोगिताको पर्यायवाचीका रुपमा कम्पनी स्थापित भइसकेको छ।

०५८ बाट सुरु भएको यो प्रतियोगिता अहिलेसम्म कुनै पनि संस्करण रोकिएको छैन। यो घरेलु फुटबलका लागि गौरवपूर्ण पक्ष हो। माओवादी द्वन्द्वका बेला पनि आहा गोल्डकपले निरन्तरता पाएकै थियो।

प्रतियोगिताको व्यक्तिगत उपाधिदेखि मेडलहरु सहारा क्लब युकेबाट तयार भएर नेपाल आइपुग्ने बेला आएको छ। 

पूर्वअध्यक्ष थकालीले भने, ‘यो रजत वर्षको अवसर हो, तयारी राम्रो छ। प्रतियोगिताका लागि राम्रो विदेशी टोली ल्याउने योजनामा सहारा लागिपरेको छ।’ 

उनका अनुसार अहिले काठमाडौंमा भइरहेको राष्ट्रिय लिगमा राम्रो प्रदर्शन गर्ने टोलीलाई पनि पोखरा लगेर खेलाउने योजना छ। 

फ्लडलाइटदेखि राम्रो टोलीलाई सहभागी गराउन आर्थिक पक्ष विशेष हुने गर्छ। आर्थिक संकलनका लागि सहाराको टोली अहिले लागिपरेको उनले बताए। 

सहारा क्लब र सहारा एकेडेमी
सामाजिक सेवा गर्ने उद्देश्यले २०५५ सालमा वसन्त थकालीको नेतृत्वमा सक्रिय युवाहरुले सहारा क्लबको स्थापना गरेका थिए। 

विशेषतः पोखरा बसपार्कलाई व्यवस्थित गर्न सार्वजनिक शौचालय निर्माण गर्दै अघि बढेको सहाराले २०५७ सालदेखि फुटबल आयोजना गर्न थालेको थियो। 

पहिलो वर्ष सहाराले जिल्लास्तरको सहारा कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। ०५८ मा ‘ए’ डिभिजन क्लबहरुलाई समेटेर क्याराभान फुटबल प्रतियोगिता आयोजना गर्‍यो। २०५९ सालमा पोखराको हिमश्री फुड्सको उत्पादन आहा रारा गोल्डकपको मुख्य प्रायोजनबाट प्रतियोगिताले निरन्तरता पाइरहेको छ। 

विदेशमा बस्ने कास्की (पोखरेली) र आसपासका जिल्लाका नेपालीले सहारा युके, सहारा हङकङ, सहारा अस्ट्रेलिया गठन गर्दै सहारालाई अन्तर्राष्ट्रियरुपमा विस्तार गरेका छन्।

सहारा क्लबले २०५८ सालबाट आफ्नै एकेडेमी स्थापना गरेको थियो। सुरुको दुई वर्ष प्रशिक्षणको व्यवस्थापन मात्र गरेको क्लबले २०६० बाट आवासीय रुपमा यसले बालकहरुलाई राख्न थालेको हो।

२०६१ सालबाट भने यसले कठिन परिस्थितिका २० जना बालकहरु राख्न थालियो। राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङ, प्रशिक्षक विष्णु गुरुङ सहाराको पहिलो ब्याचका खेलाडी हुन्।

सहाराले २०६२ सालमा पोखराको दोविल्लामा एकेडेमीसहित फुटबल मैदानका लागि जग्गा खरिद भवन निर्माण गर्नुका साथै मैदान तयार पारेको थियो। अहिले चौथो ब्याचको एकेडेमीमा १६ जिल्लाका ३० जना बालक आश्रित रहेको क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए। 

विगत २०७० सालदेखि दोविल्लामा सञ्चालित एकेडेमीले आवासीय रुपमा निःशुल्क शिक्षा, स्वास्थ्यलगायत फुटबल प्रशिक्षण समेत दिँदै आएको छ। अनाथहरुको आश्रयस्थल सहारा एकेडेमीमा बाबुआमामध्ये एक जना नभएका बालकलाई आवासीय सुविधा दिइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad