खेल


इंग्ल्यान्डलाई ३० रनले हराउँदै नेपाल रहेको समूहको शीर्षस्थानमा यथावत् वेस्ट इन्डिज

इंग्ल्यान्डलाई ३० रनले हराउँदै नेपाल रहेको समूहको शीर्षस्थानमा यथावत् वेस्ट इन्डिज

जितले नेपालको सुपर ८ सम्भावना थप कमजोर बनेको छ (सरोज नेपाल)


लक्ष्मी जि.सी
माघ २८, २०८२ बुधबार २३:१७, वानखेडे स्टेडियम (मुम्बई)

शेरफाने रुदरवोर्डको उत्कृष्ट ब्याटिङ र गुणाकेश मोतीको बलिङमा इंग्ल्यान्डलाई हराउँदै वेस्ट इन्डिजले आईसीसी टी-२० विश्वकपमा लगातार दोस्रो जित दर्ता गरेको छ। 

वेस्ट इन्डिजको जितले नेपालको सुपर ८ सम्भावना थप कमजोर बनेको छ। 

बुधबार भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लेको छ। वेस्ट इन्डिजले २ खेलबाट ४ अंक बनाएको हो।

वेस्ट इन्डिजले पहिलो खेलमा इटालीलाइ ३५ रनले हराएको थियो। वेस्ट इन्डिज सन् २०१२ र २०१६ को विश्वकप च्याम्पियन टोली हो। 

समूह चरणको पहिलो खेलमा नेपाललाई ४ रनले हराएको इंग्ल्यान्ड भने दोस्रो खेलमा आएर पहिलो हार व्यहोरेको हो। इंग्ल्यान्डले भने सन् २०१० र २०२२ को च्याम्पियन टोली हो। 

वेस्ट इन्डिजले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ६ बल अगावै १ सय ६६ रन बनाउँदा अलआउट भयो। 

इंग्ल्यान्डका साम करन ४३ रनमा अविजित रहे। जाकोब बेथेलले २३ बलमा ४ चौका र १ छक्का सहयोगमा ३३ रन बनाए। 

ओपनरद्वय फिल साल्टले ३०, जस बटलरले २१ रन बनाउँदै पेभेलियन फर्के। ह्यारी ब्रुक १७ रन बनाउँदा गुणाकेश मोतीको बलमा कट एण्ड बोल्ड हुन पुगे। टम बान्टम र विल ज्याक्सले समान २ रन थपे। जेम ओभरटन ५ रनमा पेभेलियन फर्के। 

जोफ्रा आर्चर ६ रन बनाउँदा रनआउट हुन पुगे। वेस्ट इन्डिजका लागि गुणाकेश मोतीले ३ विकेट लिए। रोष्टन चेसले २ विकेट लिए। रोमारियो सेफर्ड र अकिल होसेनले  समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि मुम्बईको वानखेडे स्टेडियममा इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा विेकेटको क्षतिमा १ सय ९६  रनको योगफल तयार पारेको थियो। 

दोस्रो ओभरमा नै २ विकेट गुमाएर दबाबमा आएको वेस्ट इन्डिजका लागि शेरफाने रुदरवोर्ड सर्वाधिक ७६ रनमा अविजित रहे। उनले ४१ बलमा २ चौका ६  छक्का प्रहार गरे। 

रोष्टन चेस ३४ रन बनाउँदा आदिल रासिदको बलमा एलबीडब्लु धरापमा परे। १७ बलमा १ चौका ४ छक्का प्रहार गरेका जेसन होल्डर ३३ रनमा क्याच आउट हुन पुगे। सिमरन हेटमायर २३  रनमा क्याच आउट भए। रोभमान पावेल १४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। 

इंग्ल्यान्डका लागि जामी ओभरटन र आदिल रसिदले समान २ विकेट लिए। जोफ्रा आर्चर र साम करनले समान एक विकेट आफ्नो नाममा गरे। 

समूह सीकै खेलमा भोलि बिहीबार नेपाल र इटाली खेल्नेछन्।

सबै तस्बिर : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad