बागमती


‘कानुन बनाउने थलो त अपांगमैत्री छैन, सार्वजनिक स्थल कहिले बनाउने?’

‘कानुन बनाउने थलो त अपांगमैत्री छैन, सार्वजनिक स्थल कहिले बनाउने?’

सुनिता विष्ट
पुस १८, २०७९ सोमबार १९:५५, हेटाैँडा

धेरैलाई लाग्न सक्छ, ‘अपांगता भएपछि प्रगतीका सिंढीहरू बन्द हुन्छन्।’ यस्तो गलत मानसिकताका कारण सामाजिक तथा राजनीतिक जीवनमा सफल हुन सकिन्छ र? भन्ने लाग्न सक्छ। तर राजनीतिक दलले स्थान दिए अन्य मानिस सरह नै ह्वील चेयरबाट पनि नेतृत्व हाँक्न सकिन्छ भन्ने उदाहरण हुन् सांसद लक्ष्मी घिमिरे। 

रापेछाप जिल्लाबाट राप्रपाको समानुपातिकमा परेर बागमती प्रदेश सभा सदस्य बनेकी घिमिरे अपांगता भएकी सांसद हुन्। १३ वर्षअघि लडेर मेरुदण्ड नचल्ने समस्याका कारण उनी ह्वील चियरको साहारामा छिन्। कम्मर भन्दा तल नचल्ने लक्ष्मी ह्वील चियरको सहारामा आफ्नो दैनिकी चलाउँदै आएकी छन्।

आफूलाई पत्याएर समानुपातिकमा सिफारिस गर्ने राप्रपाप्रति उनी कृतज्ञ छिन्। 

तर कानुन निर्माणको थलो संसद भवनसमेत अपांगमैत्री नहुँदा उनलाई दुःख लागेको छ। प्रदेश सभा बैठकका लागि आउजाउ गर्न संसद भवन अपांगमैत्री बनाइन्छ कि बनाइँदैन भन्ने चिन्ता उत्तिकै छ। पटक/पटकको अनुरोधमा पनि सरोकारवाला निकायले आफ्नो कुराको वेवास्ता गरेको उनको बुझाई छ। 

प्रदेश सरकारको काम जनहितको पक्षमा ऐन कानुन निर्माण गर्ने हो। तर, त्यही ऐन कानुन बनाउनका लागि प्रतिनिधित्व गरेर संसदमा आएकालाई नै ‘पहिलो गासमै ढुंगा’ भने जस्तै भएको छ। 

यही पुस १४ गते नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण कार्यक्रममा आफूलाई असहज भएको उनले गुनासो गरिन्। तर, पहिलो बैठकमा पनि समस्या उस्तै देखेपछि सरोकारवाला निकायले चासो नदिएकोप्रति उनले आक्रोश व्यक्त गरिन्।

उनले भनिन्, ‘पहिलो दिन शपथ लिन आउँदा पनि समस्याहरु सुनाएको थिएँ। आज आउँदा जेनतेन बैठक कक्षसम्म जान सकियो। पटक/पटक अनुरोध गरिरहँदा समेत अलिकति पनि पालना नभएको देख्दा दुःख लागेर आयो।’

घिमिरेले प्रश्न गरिन्, ‘अपांगमैत्री संसद भवन कहिले बनाउने? संसदीय दलको कार्यालयसम्म पुग्न नसक्ने समस्या कतिन्जेल खेप्नुपर्ने?’ 

ह्वील चियर प्रयोगकर्ता निर्वाचित भएकोले प्रदेश सभा कार्यस्थल मापदण्डसहित निर्माण गरी सम्मानजनक, मर्यादित र स्वतन्त्रतापूर्वक संसद सचिवालयसम्म आवतजावत गरी कार्य सम्पादन गर्ने वातावरण सिर्जना गर्न केहि दिन अघि अपांगता महासंघ बागमती प्रदेशले ध्यानाकर्षण समेत गराएको थियो।

तर घिमिरेलाई आफ्नै पार्टीको संसदीय दलको कार्यालयसम्म पुग्नसमेत समस्या भोग्नुपर्यो। ह्वील चियर गुडाउन नमिल्ने भएपछि उनी बैठक कक्षसम्म मात्रै पुग्न सकेकी थिइन्। 

सरकारी संरचना त्यसमा पनि प्रदेशभरको कानुन निर्माण गर्ने थलो मात्र होइन सार्वजनिक स्थलहरु अपांगमैत्री बनाइनुपर्ने अबको आफ्नो मुख्य एजेण्डा रहने उनले बताइन्। आफू अपांगता भएकै कारण भोग्नुपरेका पीडालाई प्रदेश सभामा प्रस्तुत गरेर अपांगता भएकाहरुको अधिकारको निम्ति आवाज उठाउने उनको योजना छ। त्यसैका लागि आफ्नो प्रतिनिधित्व रहेको उनी बताउँछिन्। 

यता, बागमती प्रदेश सभा सचिवालयले भने अपांगमैत्री भवन निर्माणको काम भइरहेको बताएको छ। घिमिरेको समस्या समाधानका लागि सचिवालय गम्भीर रहेको बागमती प्रदेश संसद सचिवालयका सचिव कृष्णहरी खड्का बताउँछन्। 

खड्का भन्छन्, ‘एक जना माननीय अपांगता भएको आउँदै हुनुहन्छ भनेर धेरै कुराहरुको व्यवस्थापन गरेका छौं। शौचालयदेखि बैठक कक्षसम्म अपांगमैत्री नै छन्। संसदीय दलको कार्यालय निर्माणाधिन रहेकोले केही समय लागेको हो। त्यो समस्या पनि छिट्टै हल हुन्छ।’ 

तत्कालिन शिक्षा निर्देशनालयको साँघुरो भवनबाट सञ्चालन भैरहेको बागमती प्रदेश सभा भवन अपांगमैत्री भने छैन। सभा कक्षसम्म ह्वील चियरमै पुग्न सम्भव भएपनि त्यसबाहेक सभामुख, उपसभामुखको कार्यकक्ष, संसदीय दलको बैठक कोठा आदी भने अपांगमैत्री छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .