खेतमा झुलिरहेका धानका बालाको सुगन्ध बोकेर बहने हावा। मन्द चलेको हावाको गतिमा हुल बाँधेर सफा आकाशतिर वेग मार्ने कर्याङकुरुङ चरा। पारिलो घामसँगै सुरु भएको शरद ऋतुको आगमनले मनमा ल्याउने खुसी।
दसैँ आउनुअघि नै दसैँको माहोल सुरु भइसकेको हुन्थ्यो। परदेशिएकाहरु घर फर्कन्थे। घरका भित्तामा कमेरो र रातो माटोले रंगीन थाल्थे। डाँडामा पिङ हाल्ने तयारी सुरु हुन्थ्यो। बाल्यकालको दसैँ बाल्यकाल नै भएकाले पनि विशेष लाग्थ्यो।
बाल्यकालको हरेक सम्झना सबैलाई प्रिय लाग्छन्। चाडपर्वको सम्झना झन् प्रिय लाग्ने नै भयो। हाम्रो बाल्यकालको दसैँमा अहिलेको जस्तो ग्याजेटहरु थिएनन्। फोन समेत नभएको त्यो समय सबै कुरा अर्गानिक हुन्थ्यो।
दसैँ पनि अर्गानिक हुन्थ्यो। हामीले खाने कुरामा मिसावट थिएन। अक्षता मुछ्ने दही र अबिरमा मिसावट थिएन। त्यो समयको जन–जीवनमा पनि कुनै मिसावट थिएन। मानिसहरुमा छलकपट थिएन। जे थियो, असाध्यै प्रेमिल थियो।
अहिले हामीले लङ्गुरबुर्जा भनेर खेल्ने खेललाई त्यतिबेला खोडखोड भनिन्थ्यो। दसैँ सुरु भएपछि खोडखोडे खेल सुरु हुन्थ्यो। गाउँको चौतारी, चोकमा जम्मा भएर ठूला मान्छेले खेलेको खेलमा हामी पनि मिसिन जान्थ्यौं। ठूला र सानाको बेग्ला बेग्लै खेल्ने समूह हुन्थ्यो। अहिले महत्व लाग्दैन, बाल्यकालमा साना साना कुराले नै दसैँ महत्वपूर्ण लाग्थ्यो।
दसैँ रमाइलो लाग्ने पहिलो कारण त नयाँ लुगा हुन्थ्यो। भर्खर तानबाट काटेर ल्याएको कपडाको बास्ना नाटकमा ठोकिन्थ्यो। एकपटक धुँदा पनि त्यो बास्ना कपडाबाट हराउँदैनथ्यो। दिदी, दाइ र मलाई एकै सेट कपडा हुन्थ्यो। नौरथा सुरु भएपछि ल्याएर सिलाउन दिए पनि त्यो कपडा पाउने भने टीकाको दिन बिहान मात्रै हो।
थाहा थियो, कपडा सिलाउने सुचिकार बाले टीकाअघि कपडा सिलाएर भ्याउनु हुन्न। तर हामी भने दिनको एक पटक उहाँकोमा कपडा हेर्न जान्थ्यो। लुगा सिलाउने बुबाको छोरा तोय र हामी साथी हौँ। हामी हरेक दिन साथीको बुबालाई ‘हाम्रो कपडा भयो की नाइँ’ भनेर सोध्थ्यौँ।
लामो समयसम्म स्कुल बिदा हुने हुनाले पनि दसैँ आएकोमा खुसी लाग्थ्यो। पहिलापहिला दसैँमा बिदा भएको स्कुल एकैपटक तिहारपछि खुल्थ्यो। दसैँमा सुरु भएको झण्डिमुकुछ, खोडखोडे तिहारसम्मै खेल्न पाइन्थ्यो। पिङमा साथीहरु रमाउँथे। म पिङमा रमाउन सकिनँ।
मलाई अहिले पनि पिङ खेल्न डर लाग्छ। बाल्यकालमा पनि साथीहरुले पिङ खेलेको हेरेर रमाइलो लाग्थ्यो, लिंगे पिङ चढिनँ। घर नजिकै सेनाको ब्यारेक थियो। त्यहाँ काठको घोडे पिङ हालिएको हुन्थ्यो। थचक्क बसेर खेल्न पाइने भएकाले थोरै खेल्थेँ। दसैँमा एकपटक भुइँ छोड्नै पर्छ भन्ने मान्यता थियो। त्यही मान्यताका कारण पनि मैले धेरै दसैँमा घोडे पिङ खेलेको छु।
मेरो बाल्यकाल त्रिवेणी, नवलपरासीमा बितेको हो। घरमा पूजा भैरहन्थ्यो। हलुवा, सेलरोटी, फिनी पाकिरहेकै हुन्थ्यो। त्यसैले दसैँमा पनि पाक्ने यी परिकारसँग उत्तिसाह्रो न्यास्रो हुँदैनथ्यो। दसैँमा पाक्ने मासुका परिकारले भने खुसीको माहौल बन्थ्यो। अहिले हाम्रो पुस्तामा मात्रै होइन, खानामा यो खालको आकर्षण बच्चाहरुमा पनि छैन।
किशोरावस्थामा पुगेपछि भने दसैँभन्दा तिहार रमाइलो लाग्न थाल्यो। किशोरावस्थामा प्रवेश गरेपछि अलिअलि गीत गाउन थालियो। तिहारमा गीत गाउने, देउसी भैलो खेल्ने, माहोल हुन्थ्यो। तिहारका लागि तयारी थालिन्थ्यो। दसैँदेखि तिहारसम्मै कलेज बिदा हुन्थ्यो। यो बिदा ‘गोल्डेन भ्याकेसन’ जस्तो लाग्थ्यो।
काठमाडौं बसेको २७ वर्ष भयो। काठमाडौंसँग अलग्गै भावनात्मक सम्बन्ध छ। तर हरेक वर्ष दसैँ आउँदा गाउँ गइन्छ। झण्डै ३ दशक लामो यो यात्रामा कयौं दसैँ मान्न पाइनँ। कहिले जुठो, कहिले सुतकका कारण टीका–जमरा लगाउन पाइएन। तर हरेक साल भैरहवा नै जाने गरेको छु।
भावनात्मक रुपमा पुराना साथीहरु सबै दसैँमा भेट हुन्छन्। उनीहरुसँग अन्य बिदामा भेट हुँदैन। अहिलेको दसैँको महत्व भेटघाट र त्यो भेटका क्रममा हुने बालापनका सम्झनाका कुराले महत्वपूर्ण लाग्छ। जब दसैँमा बाल्यकालीन साथी भेटिन्छन्, उनीहरुका परिवर्तन भएको अनुहारको रङ, कपालको रङ देखेपछि लाग्छ, म पनि अब पुरानो भएछुु। साथीभाइका मुजा पर्न थालेका गाला र फुल्न थालेका केसले आफैँले बाँचेको जिन्दगीको लामो बाटो सम्झना गराउँछ।
हामीलाई हाम्रो बाल्यकालको दसैँ रमाइलो लागेको जस्तै अहिलेका बालबालिकालाई पनि अहिलेको माहोल मन पर्छ। तर हाम्रो पालामा जस्तो नयाँ लुगाको, खानेकुराको आकर्षण हराएर गयो। हाम्रो पुस्ताका लागि यो आकर्षण हराउनु स्वाभाविकै हो। तर दसैँको महत्व चाहिँ घटेको छैन।
Shares
प्रतिक्रिया