बागमती


बागमतीको पहिलो नेतृत्व लिन ३ दलको हानथाप, केन्द्रका नेता फकाउन दौडधुप

सरकार गठनको मिति नजिकिँदा केन्द्रको निर्णयको ‘भरोसा’
बागमतीको पहिलो नेतृत्व लिन ३ दलको हानथाप, केन्द्रका नेता फकाउन दौडधुप

मुख्यमन्त्रीका दाबेदारहरुः राप्रपा नेता उद्धव थापा, माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल र एमालेबाट नेता जगन्नाथ थपलिया।


सुनिता विष्ट
पुस २३, २०७९ शनिबार २१:९, हेटाैंडा

केन्द्र सरकार विश्वासको मत लिने कसरतमा जुटिरहेका बेला प्रदेशमा पनि मुख्यमन्त्रीका आकाक्षीहरु प्रधानमन्त्रीको सरकारी निवासबाट आउने औपचारिक निर्णय कुरिरहेका छन्। उता, एमाले र मााओवादीसहितका दलहरु प्रदेशको नेतृत्व कसले लिने भन्नेबारे टुंग्याउन बालुवाटारमा निरन्तर जुटेका छन्।

बागमती प्रदेशको मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखले दिएको समय सकिन २ दिनमात्र बाँकी रहँदा राजनीतिक दलहरुलाई पनि चटारो छ। ५ दिनभित्र सरकार गठन गरिसक्नपर्ने बाध्यता बनाइदिएको भन्दै आकाक्षी दलहरु आकोश पनि पोखिरहेका छन्।

बागमती प्रदेशमा रोचक के छ भने, एउटै गठबन्धनमा रहेका ३ वटा दलका नेताहरु मुख्यमन्त्रीको दौडमा छन्। एमाले, माओवादी र राप्रपाले यहाँ मुख्यमन्त्री दाबी गरेका छन्। यी तिनै दल एउटै गठबन्धनमा छन्।

गत ४ मंसिरमा भएको निर्वाचनको परिणाम अनुसार बागमतीमा सरकार गठनका लागि आवश्यक सामान्य बहुमत गठबन्धनका दलहरु माओवादी केन्द्र, एमाले र राप्रपाले सहजै पाउने देखिन्छ।

जुन प्रदेशसभामा सत्ता गठबन्धनको ६१ सिट छ जुन सरकार बनाउनका लागि पर्याप्त हो।

यद्यपि मुख्यमन्त्रीका आकाक्षीहरुबीच नै हानथाप हुन थालेपछि कसले पहिलो नेतृत्व गर्छ भन्ने चासो बढेको हो। नेकपा एमालेबाट दलका नेता जगन्नाथ थपलिया, माओवादी केन्द्रबाट दलका नेता शालिकराम जम्कट्टेल र राप्रपाबाट दलका नेता उद्धव थापा बलियो दाबेदार हुन्।

केन्द्रमा लबिङ
थपलिया, जम्कट्टेल र थापाले केन्द्रमा आफ्नो नेतृत्वसँग पहिलो कार्यकालका लागि दाबी गरिरहेका छन्। नेतृत्वसँग भेटघाट र छलफल बाक्लो बनाएका यी दाबेदारहरु केन्द्रकै निर्णयबाट केन्द्रकै निर्णय नआउँदा अन्यौलमा परेका छन्। आकाक्षी‌हरु केन्द्रीय नेताहरुसँग लबिङ गरिरहेका छन्।

सत्ता गठबन्धनमा आवद्ध दलहरु बीच केन्द्रदेखि प्रदेशसम्मको भागबण्डाको विषयले बागमती प्रदेश सरकारको नेतृत्वका विषयमा विवाद देखिन थालेको छ।

सत्ता गठबन्धनका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबीच सरकारको नेतृत्व र पावर सेयरिङको विषयमा निर्णय भइनसकेका कारण कसको नेतृत्वमा जाने भन्ने अन्यौल कायम भएको नेताहरु बताउँछन्।

बागमती प्रदेश सरकारको नेतृत्व, मन्त्रालय, सभामुख, उपसभामुख र अन्य संवैधानिक नियुक्तिका विषयमा केन्द्रबाट निर्देशन नआउँदा गठबन्धन दलहरु नेतृत्व लिने विषयमा अलमलमा परेको हो। भागवण्डाको सम्पूर्ण निर्णय केन्द्रीय तहका नेताहरुबाट हुने भएकाले प्रदेशस्तरमा कुनै पनि छलफल हुन नसकेको गठबन्धन दलका एक नेता बताउँछन्।

प्रदेशसभाको अंकगणित
११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ। बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन्।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

प्रदेश प्रमुख कार्यालय हेटौंडाले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मिति गत मंसिर २८ गतेलाई आधार मानेर सरकार गठनको लागि आह्वान गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .