बागमती


मुख्यमन्त्रीमा दाबी गरेका थापा भन्छन् : केन्द्रको निर्णय स्वीकार गर्नुको विकल्प छैन

मुख्यमन्त्रीमा दाबी गरेका थापा भन्छन् : केन्द्रको निर्णय स्वीकार गर्नुको विकल्प छैन

सुनिता विष्ट
पुस २४, २०७९ आइतबार २२:३, हेटाैँडा

बागमती प्रदेश सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेशको मुख्यमन्त्री फुत्कनुलाई सामान्य रुपमा लिएको टिप्पणी गरेका छन्।

राप्रपाको तर्फबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी गरिरहेका थापाले केन्द्रको निर्णयलाई स्वीकार गर्नु बाहेकको विकल्प नरहेको बताए।

केही समय अघिसम्म राप्रपाले मुख्यमन्त्री पाउनेमा ढुक्क हुनुहुन्थ्यो, केन्द्रको निर्णय त उल्टो आयो नि? भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘सरकारमा जाने रहर सबैको हुन्छ। दाबी गर्नु पनि कुनै नौलो कुरा होइन। हाम्रा केन्द्रीय अध्यक्षज्यूले पनि पार्टीको बारेमा सोचेर नै निर्णय लिनुभएको होला। मलाई लाग्छ उहाँको निर्णयले सबैलाई फाइदा नै गर्ला। केन्द्रले जे निर्णय गरेको छ, म त्यसलाई खुसीका साथ स्वीकार गर्छु।’  

उनले सात प्रदेशमध्ये एक प्रदेशको मुख्यमन्त्री पाउने सर्तअनुसार बागमतीमा दाबी गरिरहेको कारण मुख्यमन्त्री आफूले पाउनेमा दुईमत नरहेको बताउँदै आएका थिए। त्यसो त, सरकार गठनका लागि आवश्यक अंकगणितको आधारमा पनि राप्रपा निर्णायक भूमिकामा रहेकै कारण मुख्यमन्त्रीमा दाबी गरिरहेको थियो। 

यद्यपी, बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शालिकाराम जमकट्टेल बन्ने भएका छन्। सत्ता साझेदार दलको भागबन्डा अनुसार आलोपालो हुने बागमती प्रदेशमा माओवादी केन्द्रले नेतृत्व लिने भएको हो।

माओवादीका नेता तथा धादिङबाट प्रदेशसभामा निर्वाचित भएका जम्कट्टेलले सोमबार एमाले र राप्रपाको सहयोगमा मुख्यमन्त्रीको दाबी पेश गर्ने भएका छन्।

१ सय १० सिट रहेको बागमती प्रदेशमा एमालेका २७, माओवादी केन्द्रको २१ तथा राप्रपाको १३ सिट रहेको छ बागमतीमा सरकार बनाउन ५६ सिट आवश्यक रहन्छ। तीन दल मिल्दा यहाँ ६१ सिट पुग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .