बागमती


सभामुखमा सहयोग नपाएको कांग्रेसले मुख्यमन्त्रीलाई किन दियो विश्वासको मत?

सभामुखमा सहयोग नपाएको कांग्रेसले मुख्यमन्त्रीलाई किन दियो विश्वासको मत?

सुनिता विष्ट
माघ ३, २०७९ मंगलबार २२:१, हेटाैँडा

नेपाली कांग्रेससँगको पाँच दलीय गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने। प्रचण्डको व्यवहारले रुष्ट बनेको कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने धेरैको अनुमान थियो।

तर, त्यो अनुमानलाई गलत सावित गर्दै कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो। कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बाध्यता थियो वा रणनीति, स्पष्ट भइसकेको छैन।

ठीक यस्तै घटनाक्रम बागमती प्रदेशमा पनि दोहोरिएको छ।

संघीय सभाको सिको गर्दै प्रदेशमा पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिएको छ, जबकी प्रदेशमा कांग्रेसको सभामुखका उम्मेदवारलाई माओवादीले सहयोग गरेन।

पुस २५ गते ७० सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री जम्मकट्टेलले मंगलबार १०५ सांसदको विश्वासको मत पाए। मंगलबार भएको मतदानमा ११० सदस्यीय बागमती प्रदेशसभाका १०५ सदस्यले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिए। 

विश्वासको मतका लागि उनलाई ५६ मत भए पुग्थ्यो। सत्ता गठबन्धनमा रहेका र अन्य दल गरी ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत नपुग्ला भन्ने सन्देह थिएन। तर प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसका ३७ सांसदले पनि अन्त्यमा मुख्यमन्त्रीलाई विश्वासको मत दिए। 

आफ्ना सभामुखको उम्मेदवारलाई सहयोग गर्न सत्ता गठबन्धनलाई अपिल गरेको कांग्रेसले गठबन्धनबाट सहयोग पाएन। जसका कारण रुष्ट बनेर कुनैपनि हालतमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अठोट गरेको कांग्रेसको बोली तब फेरियो, जब केन्द्रले जम्मकट्टेललाई विश्वासको मत दिन निर्देशन जारी गर्यो। 

केन्द्रमा जसरी प्रधानमन्त्रीले विश्वासको मत पाए, बागमतीको मुख्यमन्त्रीमा पनि त्यस्तै दृश्य बन्यो। एक्लिएको कांग्रेस अन्ततः सरकारको समर्थनमा नै जुट्यो। केन्द्रको निर्देशन मान्दै कांग्रेसका सबै सांसदले विश्वासको मत दिए। 

सरकारलाई समर्थन नगर्ने अठोट गरेको कांग्रेसले विश्वासको मत दियो, केन्द्रको निर्देशन हो कि? भन्ने नेपालखबरको प्रश्नमा कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले निर्देशन भन्दा पनि अहिलेको आवश्यकता भएको बताए। 

‘सरकारलाई समर्थन गरेर संविधानको रक्षाको लागि कांग्रेसले यो कदम चाल्न परेको हो। केन्द्रकै सर्कुलरमा प्रदेश चल्ने त हो। तर सबै कुराहरु केन्द्रकै निर्देशनमा भएको हुन्छ भन्ने चाहिँ हुँदैन’ उनले भने।

त्यसो त, प्रदेश सभा सभामुख र उपसभामुखलाई मतदान नगरेको एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ। सरकार गठनकै बेला समर्थन गरेको एकीकृत समाजवादीले आफ्नो कर्तव्य पूरा गरेको तर समर्थन गर्दैमा सरकारमा जान चाहेको भने नभएको सो पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनालले बताए। 

‘हामीले २ वटा मन्त्रालय मागेका छौं भन्ने अपवाह पनि फैलिएका छन्। यो गलत हो। तर सरकारलाई समर्थन गर्दैमा सरकारमै जान खोजेको भन्ने हुँदैन’ खनालले भने, ‘मुख्यमन्त्रीज्यूले विश्वासको मतको लागि पत्राचार गर्नु भएको थियो। सोही अनुसार मत दिएका हौं।’

११० सांसद रहेको बागमतीमा मुख्यमन्त्री जम्मकट्टेलको विपक्षमा ३ जनाले मात्रै मत दिए। सभामुख भुवनकुमार पाठक विश्वासको मतमा सहभागी भएनन्। राप्रपाका एक संसद अनुपस्थित भएका थिए। प्रदेशसभाको ७ वटा राजनीतिक दलमध्ये ३ सदस्यीय नेपाल मजदुर किसान पार्टी मात्रै मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिएको हो। 

मुख्यमन्त्री जमकट्टेललाई नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ११, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टिका २ जनाले विश्वासको मत दिएका थिए। 

प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले समेत विश्वासको मत दिँदा मुख्यमन्त्री जमकट्टेल हालसम्म सबैभन्दा धेरै सांसदको समर्थन रहेको मुख्यमन्त्री बनेका छन्। 

१०५ सांसदको बलियो मत पाएका मुख्यमन्त्री जम्मकट्टेलले यो मतलाई आफूले विश्वाससँगै चुनौती पनि सम्झेर सबैको हितमा काम गर्ने  बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .