बागमती


मन्त्रालयदेखि सभाहलसम्म बनाउन नसकेका मुख्यमन्त्रीको प्राथमिकता ‘नयाँ निवास’

मन्त्रालयदेखि सभाहलसम्म बनाउन नसकेका मुख्यमन्त्रीको प्राथमिकता ‘नयाँ निवास’

सुनिता विष्ट
माघ २५, २०७९ बुधबार २०:७, हेटाैँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका लागि पुरानो निवास भत्काएर नयाँ बनाइने भएको छ।

तत्कालिन वन कार्यालयको क्वाटरमा बस्दै आएका मुख्यमन्त्री आवास पुरानो भएको गुनासो बढेपछि भत्काएर नयाँ बनाउनका लागि प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 

प्रदेश सरकारका ११ मन्त्री मध्ये मुख्यमन्त्री सहित १० मन्त्री सरकारी क्वाटरमा बस्दै आएका छन्। प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठ भने हेटौँडामै रहेको आफ्नै निजी निवासमा बस्ने निर्णय गरेका छन्। 

अन्य मन्त्रीहरुको क्वाटर हेटौँडा ९ मा रहेको हेटौँडा सिमेन्ट उद्योगको जग्गामा सिमेन्ट उद्योगकै क्वाटरहरुमा बस्दै आएका छन्। 
जम्कट्टेल हाल वन कार्यालयको हेटौंडा–२ स्थित भवनमा बसिरहेका छन्। 

त्यसो त, बागमती प्रदेश सरकारको यो दोस्रो कार्यकाल हो। पहिलो कार्यकालमा बागमतीले तीन मुख्यमन्त्री पाएको थियो। उक्त भवनमा यसअघि पूर्व मुख्यमन्त्रीहरू डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे पनि बसेका थिए।

चौथो मुख्यमन्त्री जम्मकट्टेललाई भने यो निवास जीर्ण भएको भन्दै नयाँ बनाइन लागेको मन्त्रिपरिषद् कार्यालयको दाबी छ। त्यस विषयमा निर्णय भैसकेपनि कति बजेट विनियोजन गर्ने भन्ने विषयमा भने अहिले नै टुंगो लागि नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका मुख्य सचिव मुकुन्द प्रसाद निरौलाले बताए।

मन्त्रालय छोडेर निवासमा खर्च
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैँ जीर्ण भवनमा सञ्चालनमा छ। त्यो पनि पुरानो मकवानपुर जिल्ला विकास समितिको भवनमा। अघिल्लो ५ वर्षको कार्यकाल संघीय सरकार मातहत तथा भाडाको घरमा काम चलाएको प्रदेश सरकारको दोस्रो कार्यकालको सुरुवात पनि आफ्नो भवन बिना नै सुरु हुने भएको छ।

५ वर्षको अवधिमा राजनीतिक अस्थिरताका कारण आफ्नो कुर्सी जोगाउने खेलमा रुमल्लिएका प्रदेश सरकारहरुको ध्यान प्रदेश संरचना बनाउनेतर्फ पुग्न सकेन। जसका कारण राज्य कोषको लाखौं रुपैयाँ घरभाडमै सकिने गरेको छ। 

सेवालाई प्रभावकारी बनाउन मन्त्रालय, मन्त्रालय मातहतका कार्यालय तथा प्रत्येक जिल्लामा एकीकृत सेवा केन्द्र निर्माण गर्न प्रदेशसभाको बैठकमा सांसदहरूले बारम्बार माग गरे पनि त्यसतर्फ सरकारको ध्यान पुग्न सकेन। कसरी सरकारमा जाने र कुर्सी सुरक्षित बनाउने भन्ने मात्रै ध्यानमा तल्लिन रह्यो। 

बागमती प्रदेश सरकारले मन्त्रीको आवास भवन, प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतका अन्य मन्त्रालयहरु समेत भाडाकै घरबाट सञ्चालन गर्दै आइरहेको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नै तत्कालीन जिविस भवनमा छ। भौतिक पूर्वाधार योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तत्कालीन यातायात व्यवस्था कार्यालयले निर्माण गरेको भवन र सामाजिक विकास मन्त्रालय तत्कालीन क्षेत्रीय स्वास्थ्य निर्देशनालयले बनाएको भवनमा छ।

प्रदेशसभा सचिवालयले तत्कालीन मध्यमाञ्चल शिक्षा निर्देशनालयको भवनबाट कार्यसम्पादन गरिरहेको छ।

अलपत्र बागमती प्रदेशको सभाहल
सभाहलको शिलान्यास गर्ने तत्कालीन मुख्यमन्त्री पौडेलपछि प्रदेशमा तीनजना मुख्यमन्त्री भइसके, तर प्रदेशको गौरवको योजना भनिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहल निर्माण सम्पन्न हुने छाँट देखिँदैन।

चौथो मुख्यमन्त्री आएपछि कामले निरन्तरता पाउनपर्ने सट्टा मुख्यमन्त्रीको पहिलो प्राथमिकतामा आफ्नै निवास तर्फ केन्द्रित भएको छ। 

झन्डै साढे तीन वर्ष सरकारको नेतृत्व गरेका पौडेल, दुई महिना मुख्यमन्त्री भएकी अष्टलक्ष्मी शाक्य र करिब १५ महिना सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राजेन्द्र पाण्डे कसैले पनि सभाहल निर्माणमा चासो दिएको पाइएन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .