बागमती


जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयप्रति बागमतीका मन्त्री नै असन्तुष्ट

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयप्रति बागमतीका मन्त्री नै असन्तुष्ट

सुनिता विष्ट
माघ २७, २०७९ शुक्रबार १५:२९, हेटाैँडा

जनयुद्ध दिवसका अवसरमा बागमती सरकारले फागुन १ गते सार्वजनिक बिदा दिन गरेको निर्णयप्रति प्रदेशका मन्त्रीले नै असन्तुष्टि जनाएका छन्। 

माघ २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको गरेको निर्णय भन्दै फागुन १ गते जनयुद्ध दिवसका दिनमा सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक भएको थियो। तर, सो निर्णय सार्वजनिक भएपछि बल्ल आफूहरुले थाहा पाएको एक मन्त्रीले बताएका छन्।

प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री राजु विष्टले मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले आफूखुशी निर्णय गरेका भन्दै असन्तुष्टि जनाए।

‘यो विषयले मन्त्रिपरिषद्को बैठकमा प्रवेश नै पाएको थिएन। त्यसैले यो मन्त्रिपरिषद्को निर्णय होइन’ मन्त्री विष्टले भने, ‘यसरी आफूखुसी निर्णय गर्दै मन्त्रिपरिषद्को निर्णय भन्न थालिएको छ। यसमा हाम्रो कुनै सरोकार छैन।’ 

मन्त्री विष्टका अनुसार सो दिनको मन्त्रिपरिषद बैठकमा एउटा मात्रै एजेण्डा पेश भएको थियो। मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय मात्रै बैठकमा भएको मन्त्री विष्टको दाबी छ।

माघ १६ गते सहिद दिवसका दिन समेत बिदा नदिएको प्रदेश सरकारले जनयुद्ध दिवसमा बिदा दिएको भन्दै आलोचना भएको छ।  
बागमती प्रदेश सरकारमा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी तीन दल सहभागी छन्। मन्त्रिपरिषदमा मुख्यमन्त्री सहित ११ जना छन्। 

मन्त्रीहरुलाई जानकारी नगराई बिदाको निर्णय गरेको भन्दै प्रदेशका एमाले र राप्रपाका मन्त्रीहरु आक्रोशित देखिएका छन्।

माघ २४ गतेको बैठकमा जनयुद्ध दिवसका दिन बिदा दिने भनेर एजेण्डा पनि नआएको र त्यस दिन निर्णय पनि नभएको अर्का मन्त्रीको पनि दाबी छ। बिदा दिएको भनेर निर्णय बाहिर सार्वजनिक भएपछि आफूले बल्ल जानकारी पाएको भन्दै ति मन्त्रीले बिदाबारे अलमल प्रकट गरे।

यद्यपी, जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भैसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले जानकारी दिए। 

केन्द्र सरकारले सार्वजनिक बिदा धेरै भएको भन्दै बिदा कटौती गरिरहेका बेला मुख्यमन्त्रीले आफूखुशी सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै सरकारका साझेदार दलहरु असन्तुष्ट बनेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .